६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

सीमा पार गरेर १ हजार ६२८ जना प्रवेश गरेको सरकारी तथ्यांक

लहान- गाउँसहर लकडाउन गरी सीमा सिल गरिए पनि प्रदेश २ मा पारिबाट प्रवेश रोकिएको छैन । लकडाउनपछि लुकिछिपि भैरहेको प्रवेशले जोखिम बढाएको ठहरसहित प्रदेश सरकारले उनीहरुको खोजी तथा पहिचानलाई गति दिन जुटेको छ ।

पारिबाट प्रवेश गरेकाको पहिचान गरी क्वारेन्टाइनमा राख्ने कार्य प्रभावकारी बनाउन वडादेखि प्रदेश सरकारसम्मको संयन्त्र परिचालन गरिएको समाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले बताए । लकडाउन सुरुभएपछि भारतबाट यस प्रदेशमा प्रवेश गरेकाको संख्या एक हजार ६ सय २६ प्राप्त भएको छ । यस प्रदेशका स्थानीय तहहरुले पठाएको विवरणमा सप्तरीमा एक सय ५० जना, सिरहामा एक सय ७९ जना, धनुषामा एक सय ३ जना, महोत्तरीमा एक सय ५९ जना, सर्लाहीमा तीन सय ३९ जना, रौतहटमाा दुई सय ६२ जना, बारामा ९३ जना र पर्सामा तीन सय ४३ जना चोरबाटोबाट प्रवेश गरेका छन् ।

रोजगार तथा अध्यनका लागि भारतबाट फर्किएका मध्ये केहिको विवरण प्राप्त भएपनि धेरै अझै छुटेको हुनसक्ने सरकारी अधिकारी बताउँछन् । गत वर्षको तथ्यांकअनुसार यस प्रदेशबाट एक लाख २५ हजार मानिस विदेश गएका छन् । कोरोना भाइरस संक्रमणको त्रासका कारण धेरै मान्छे घर फर्किको सुरक्षा अधिकारी बताउँछन् । तर कहाँबाट कति जना फर्किए । कुन जिल्लामा कहिले कति जना फर्किका ? यसको विवरण कसैसंग छैन । जसका कारण परदेशबाट फर्केकाहरुको पहिचान र स्वास्थ्य परीक्षण हुन सकेको छैन ।

यस प्रदेशमा खुल्ला सीमाको फाइदा उठाउदै उक्त विवरण भन्दा बढी मानिस प्रवेश गरेको हुनसक्छ सचिव घिमिरेले भने,‘जनप्रतिनिधि, सुरक्षाकर्मी सबैले उच्च सतर्कता अपनाएर उनीहरुको पहिचान गर्न क्रियाशील बन्नुपर्छ ।’ सर्तक यसकारण पनि हुन आवश्यक छ, कोरोना पुष्टि भएकाहरुमा लक्षण देखिएको छैन । लक्षण नदेखिने(एसिम्पोमेटिक) संक्रमण अझ बढी जोखिम बढाउने चिकित्सकहरु बताउँछन् ।

प्रदेश २ मा अहलेसम्म पुष्टि भएका १२ जना कोरोना संक्रमितहरु कसैमा लक्षण देखिएको थिएन । यात्रा विवरणका आधारमा परीक्षण गर्दा उनीहरुमा कोरोना भाइरस पोजेटिभ पुष्टि भएको थियो । खुल्ला सीमाका कारण अहिले पनि चोरबाटोले चुनौती दिइरहेको सचिव घिमिरे बताउँछन् । उनले भने,‘सीमामा थप कडाई अपनाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छौं । यस प्रदेशमा हालसम्म कोरोना पुष्टि भएका १२ जनैको यात्रा विवरण भारत देखिएको छ ।’ परीक्षणको दायरा बढाएसँगै संक्रमितको संख्या पनि थपिँदै गएको छ उनले भने,‘छिट्टै यस प्रदेशमा रियल टाइम पिसिआर मेसिनबाट परीक्षणको दायरा बढाउँदै छौं ।

अहिले पिसिआर परीक्षणका लागि स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइरहेका छौं ।’ हालसम्म यस प्रदेशबाट २ हजार ३ सय ८५ वटा नमुना (स्वाब) संकलन गरिएको छ । जसमध्ये १८ सय ९८ वटा नमुनाको रिपोर्ट नेगेटिभ आएको छ । ४ सय ७५ नमुनाको रिपोर्ट आउन बाँकी छ । १९ सय १० नमुनाको टिपोर्ट आएकोमा  १२ जनाको टिपोर्ट पोजेटिभ आएको घिमिरेले बताए।

चोरबाटोबाट प्रवेशसँगै तस्करी
लकडाउनका कारण गाउँसहरमा मानिस घरभित्र छन् तर चोरबाटोबाट मानिसको आउजाउसँगै तस्करी मौलाएको छ । चोरबाटोबाट वारिपारि तस्करी मौलाएपछि गाउँदेखि सहरसम्म कोरोना संक्रमणको जोखिम बढाएको छ ।

सीमामा आउजाउ रोक्न तायनाथ सुरक्षाकर्मीको जति रोक्न खोजेपनि चोरबाटोको लाभ उठाउँदै सीमामा आउजाउ पूर्ण रुपले नरोकिएको सुरक्षा अधिकारी स्वीकार्छन । सुरक्षाकर्मीहरु हात जोडेर सीमाना घेरेर बस्ने अवस्था नरहेको उनीहरुको तर्क छ ।

प्रदेश २ को आठवटै जिल्लाको सीमा भारतसंग जोडिएको छ । यी जिल्लाका १ सय ३३ वटा वडा(गाउँ) भारतीय सीमासँग जोडिएका छन । चार सय ६४ किलोमिटर सीमा रहेको यस प्रदेशमा एक सय ९ वटा नाका छन । जसमा सशस्त्र प्रहरीको ५३ वटा बोर्डर आउटपोष्ट छन् भने नेपाल प्रहरीको पनि उल्लेख्य उपस्थिति रहेको छ । सुरक्षाकर्मीको उपस्थिति बिनाका बाँकी नाकाहरू पारिबाट वारि र वारिबाट पारि गर्नेहरुले ‘चोरबाटो’ को रुपमा प्रयोग गरिरहेका छन् ।

यही चोरबाटोको लाभ भारतबाट घर फर्किने मानिसहरुसँगै तस्करले पनि भरपूर लाभ उठाउँदै छन् । अहिले वारिका सहरबाट राहत सामग्री लेखिएको ब्यानर झुन्ड्याइएको सावरी साधनमा मदिरा भरेर सीमामा सञ्चालित गोदामसम्म पुर्‍याउने र त्यहाँबाट बोरामा भरेर अनुकुल समयमा टाउकोमा बोकेर पारि पुर्‍याउने धन्दा फस्टाएको छ । पारिबाट रजनिगन्धा(गुटखा), सुर्तीजन्य पदार्थ व्यापक मात्रामा भित्र्याउने तस्करसँगै कोरोना संक्रमणको खतरा बढाएको छ । सीमामा राति राति दुबैतिर(नेपाल भारत)का तस्कर समुहको सघन आउजाउले स्थानीयबासीलाई असुरक्षित बनाएको छ ।

चोरबाटो यहाँका स्थानीयवासीमा मात्र नभई सरकारको पनि टाउँको दुखाई बनेको छ । सीमाबाट लुकिछिपि हुने प्रवेश र तस्करीले कोरोना संक्रमण नियन्त्रणमा चुनौती थपिरहेको छ । खुल्ला सीमानाका कारण हुने आउजाउले कोरोना संक्रमणको जोखिम बढाउँदै छ ।

प्रकाशित: २० वैशाख २०७७ ०४:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App