२३ भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

विराटनगर बजारमा अत्याधिक भीडभाड हुँदा पीपीई सेटमा युवा

मोरङ- कोरोना भाइरस (कोभिड-१९) को संक्रमण रोकथाम गर्न सरकारले गरेको लकडाउन बुधबार ३७ औं दिन भएको छ । लकडाउनको सुरुआती समयमा सर्वसाधारणले लकडाउन र भाइरसको डरले घर बाहिर नआउँदा बजारमा खासै भीडभाड हुँदैन थियो ।

लकडाउन लम्बिएसँगै विराटनगरको मुख्य बजार र भित्री सडकमा सर्वसाधारणको निकै भीड हुने गरेको छ । सरकारले तोकेको समयमा केही हदसम्म कम आवतजावत हुने गरेको छ । प्रहरीको टोलीले गस्ती गरे पनि बिहान र साँझमा लकडाउनभन्दा पहिलेको जस्तै बजारमा सर्वसाधारणको भीडभाड हुने गरेको छ । दिउँसो चर्को घाम हुँदा काम विशेषका मात्र बाहिर आउने गरेका छन् । मुख्य बजार क्षेत्र र भित्री टोलमा जनचेतना जगाउँदै लकडाउनलाई पूर्ण रूपमा कार्यान्वयन गराउनका लागि विराटनगरका युवालाई सुरक्षाका लागि पीपीई सेट दिइएको छ ।  

विराटनगर महानगरपालिका–१० स्थित बगलामुखी न्यूरो सोसाइटीले ‘प्रहरीको साथी म’ का युवालाई बुधबार पीपीई दिएको हो । सो अवसरमा मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले लकडाउनलाई सफल बनाउन गाउँ, वडा र टोलमा स्थानीय युवाको उल्लेख्य भूमिका रहेको बताए । प्रहरीसँगै सडकमा खटिने युवाको जोखिमलाई ध्यानमा राख्दै सुरक्षित भएर काम गर्न सुझाव दिए ।

१० नम्बर वडाको युवा टोलीका संयोजक सुमित सुवेदीले पीपीई सेटसहित जनचेतना फैलाउने काम सहकार्य गर्न पाउँदा उत्साहित भएको बताए । कुनै बेला अरुको नजिक पुगेर कुरा गर्नुपर्छ जोखिम रहने भएकाले पीपीई लगाएर काम गर्दा थप सुरक्षित हुनेमा टोली विश्वस्त भएको बताए । दैनिक ४०/५० जना सुरक्षा नअपनाइ सडकमा हिँड्नेलाई सम्झाउँदै आएको र कतिपयले अटेर गर्छन् र वादविवादसमेत गर्छन् उनीहरूलाई प्रहरीको जिम्मा दिन्छौं, सेवेदीले भने ।  

‘ब्यक्तिगत सवारी साधन प्रयोग गरेर युवा टोली वडाको सबै चोक चोकमा पुग्ने गरेका छौं,’ सुवेदीले भने, ‘हामी १० जनाले स्वयंसेवाको काम गर्दै आएका छौं । इन्धनको समस्या रहेको र लकडाउनभरि इन्धनको व्यवस्था कसैले गरिदिए हुन्थ्यो ।’ पीपीई सेट (गाउन) १० थान, चस्मा र फेसमास्क सोसाइटीले उपलब्ध गराएको छ । पीपीई चिकित्सकले लगाउने डब्लुएचओ मापदण्डभन्दा फरक भएकाले सडकमा हिँड्दासमेत लगाउन मिल्ने बताइएको छ ।

उनीहरू दैनिक बिहान ८ देखि १२ र दिउँसो ४ देखि ७ बजेसम्म खटिँदै आएका छन् । सीमा क्षेत्रमा जनपथ र सशस्त्र प्रहरीको १ सय ७ वटा चेकपोष्ट रहेको र त्यहाँ स्थानीय स्तरका २ सय बढी युवाको सक्रियता रहेको प्रहरीले जनाएको छ ।
 

प्रकाशित: १७ वैशाख २०७७ १६:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App