९ जेष्ठ २०८१ बुधबार
image/svg+xml
समाज

‘अल्लाह, भाइरस र भोकमरीबाट बचाऊ !’

१६ धर्म प्रचारक संक्रमित भेटिएको भुल्केस्थित नुरी मस्जिद । तस्विरः महेश्वर

उदयपुर- वैशाख पहिलो सातायता ‘कोरोना केन्द्र’ बन्न पुगेको उदयपुर भुल्केका ५२ वर्षीय मतेबुल रहमान मियालाई यस वर्षको रमजानले कुनै उल्लास दिन सकेन । मस्जिदमा देखिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण छिमेकीसहित २८ जनामा फैलिएपछि त्रस्त हुन पुगेका गाउँलेका लागि जतिसुकै ठूलो चाड होस महत्व पनि के र ?

नाबालक २ वर्षीय नातिसमेत ७ जनाको परिवार गुजारा चलाउन दैनिक मजदुरी गर्ने रहमानलाई ३४ दिनदेखिको लकडाउनले रमजानको खुसी र भाइरसको डरभन्दा बढी गुँडका बचेराको पेट भर्ने पिरलोले सताउँदैछ । सडक फुटपाथमा छाता मर्मत गरेर छाक टार्ने उनलाई घरबाहिर निस्कन नपाउँदा कोरोना भन्दा ठूलो त्रास भोकमरी हुन थालेको छ । त्यसैले अहिलेको रमजानमा उनी नवाज पढ्दा भाइरस र भोक टार्ने शक्ति अल्लाहसँग माग्दैछन् ।

‘हाम्रो ठूलो चाड रमजान आएको छ तर, न हाँस्न सकेको छु न रुन’ रोग र भोकबाट त्रसित रहमान भन्छन् ‘नवाज पढ्दा भाइरस र भोक टार्ने शक्ति अल्लाहसँग मागिरहेको छु ।’ एकैचोटी १३ जनामा पहिलो संक्रमण देखिएपछि वैशाख ५ गते साँझदेखि नै प्रशासनले ‘सिल’ गरेको भुल्केमा ४ दिनअघि त्रियुगा नगरपालिकाले प्रति परिवार २० किलो चामल, १ किलो दाल, नुन र तेलको खाद्यान्न प्याकेज वितरण गरेको थियो । ७ जनाको परिवारलाई एकसाता रामैरी नपुग्ने त्यति खाद्यान्न रमजानमा एकछाक मात्र खानुपर्ने हुँदा थप दुईदिन पुग्ने तर, त्यसपछि के खाने चिन्ता भाइरसकोभन्दा ठूलो लागेको छ उनलाई ।

कोरोना कहरले भुल्केबासी मुस्लिम समुदायलाई यो रमजान दोहोरो त्रास हुन पुगेको छ । धर्मप्रति अत्यन्त भक्तिभाव राख्ने यो समुदायलाई एकातिर भाइरसको चिन्ता छ भने अर्कातिर भोकपरीको छ । स्थानीय अमिन मिया भाइरसभन्दा ठूलो चिन्ता भोकपरीकै रहेको बताउँछन् । त्यसैले उनको पनि जवाज पढ्दा अल्लाहसँग यही कामना छ ‘रोग त गाउँमा सल्कि नै सक्यो, अब भोकभरी चाँही कमसेकम नसल्कियोस् !’

मतेबुल र अमिन प्रतिनिधि पात्र मात्र हुन् । उनीहरुको मनोदशाले अहिले सिंगो भुल्केबासी मुस्लिमलाई गाँजेको छ । र, सबै अल्लाहसँग यही प्रार्थना गरिरहेका छन् ‘भाईरस र भोकबाट हामी सबैलाई बचाऊ अल्लाह !’ संक्रमणको डरले सामुहिक प्रार्थना नगर्न मुस्लिम आयोगको आग्रह अनुसार घरघरमा नवाज पढ्दै रमजान मनाईरहेको यो समुदाय कोरोनाबाट विश्व नै बँचाउन अल्लाहसँग प्रार्थना गर्दैछ ।

विपत्तिको समयमा परेको रमजान घरघरमा बसेर मनाउन सरकारको आग्रह अनुसार लकडाउन पालना गर्दै पर्व मनाउन महिला अभियन्ता नजवुल खानको अनुरोध छ । नेपाल मुस्लिम संघ उदयपुरकी अध्यक्षसमेत रहेकी उनले महामारीबाट बँच्न घरमै नवाज पढ्न, विश्वभर फैलिएको कोरोना परास्त गर्न रमजानको अवसरमा अल्लाह पुकार्न सबै धर्मावलम्बी लाग्नुपर्ने बताउँछिन् । संक्रमण प्रभावित भुल्केमा खाद्यान्न अभाव हुन नदिन तीनै तहका सरकारले थप चनाखो हुनुपर्ने उनको सुझाव छ ‘भाइरसको त्राससँग जुधिरहेका भुल्केबासीलाई भोकमरीको आतंक थप्न नदिन नगरपालिका, प्रदेश र संघीय सरकारको ध्ष्यानाकर्षण गराउन चाहन्छु ।’

त्रियुगा नगरप्रमुख बलदेव चौधरीले कोरोना प्रभावित कसैलाई भोको नराख्ने प्रतिबद्धता जनाएका छन् । भुल्केमा एक चरणको राहत विरतण भईसकेको र अर्को चरणमा यसै साता बाँड्ने तयारी भईरहेको उनले बताए । भुल्केक्षेत्र कोरोना प्रभावित भएकाले विशेष ध्यान दिइदै आएको भन्दै उनले लकडाउनमा कोही भोको पेट बस्न नपरोस् भनेर जनप्रतिनिधिदेखि टोल विकास संस्थासम्मलाई परिचालन गरी गाउँकै पसलबाट चामल, दाल, नुन, तेल, ग्यासलगायत दैनिक उपभोग्य वस्तु उपलब्ध गराउन लागिएको जानकारी दिए ।

वडाध्यक्षमार्फत भुल्केकै पसलमार्फत एकद्वार प्रणालीद्वारा स्थानीयलाई सबैखाले उपभोग्य वस्तु उपलब्ध गराउने तयारी भईरहेको उनले बताए । भुल्केका ५५ घरधुरी मुस्लिम र झण्डै साढे ३ सय गैरमुस्लिम समुदायलाई आवशयक पर्ने चामललगायत खाद्यान्नदेखि हात धुने साबुनसम्म उपलब्ध गराउने व्यवस्था मिलाइएको मेयर चौधरीले बताएका छन् ।

मेयर चौधरीले भुल्केका पशुपालक र तरकारी व्यवसायी कृषकको उत्पादन खेर जान नदिन नगरपालिका आफैले खरिद–बिक्री गर्नेतर्फ पनि योजना बनाउने आश्वासन दिएका छन् । लकडाउन र गाउँ सिल गरिएकाले स्थानीयको उत्पादन बिक्री नभएर खेर जाने अवस्था आउन नदिन नगरपालिकाले किनेर बेच्ने व्यवस्था मिलाएको तथा निश्चित सामाजिक दूरी कायम गरेर स्थानीय चामल मिल सञ्चालन गर्न दिइने पनि चौधरीले बताए ।

संक्रमितहरु सबैलाई आइसोलेसनमा लगिएकाले भुल्केबासी सुरक्षित भएको भन्दै ढुक्क भएर रमजान पढ्न, रमाउन र भोकमरीको चिन्ता नलिन मेयर चौधरीले आग्रह गरेका छन् । ‘सबै संक्रमित उपचारमा छन् त्यसैले तपाईहरु सुरक्षित हुनुहुन्छ’ मेयर चौधरीको अपिल छ ‘सबैजना घरघरमै बसेर आरामले नवाज बढ्नुस्, परिवारसँग रमाएर बस्नुस्, भोको नराख्ने जिम्मा नगरपालिको हो, मेरो हो ।’ चौधरीले अन्य कोही नगरबासीलाई पनि भोको बस्न नपर्ने बताउँदै समस्या भए नजिकका जनप्रतिनिधि वा नगरपालिकामा सम्पर्क गर्न आग्रह गरेका छन् ।
    
 

 

प्रकाशित: १४ वैशाख २०७७ १५:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App