२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

रसुवाका स्थानीय तहले आफ्ना नागरिक ल्याउन थाले, ८७ जनालाई क्वारेन्टाइनमा राखियो

रसुवा- रसुवाको स्थानीय तहहरूले लकडाउनको कारण काठमाडौं तथा अन्य जोखिममा रहेका जिल्ला र भारतसँग सीमा जोडिएका जिल्लामा बसिरहेका आफ्ना नागरिक ल्याउने क्रम सुरु गरेका छन् ।

जिल्लाका पाँचवटै गाउँपालिकाले विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) को कारण जिल्लाबाहिर रहेर समस्यामा परेका व्यक्तिलाई जिल्ला ल्याउन थालेका हुन् । जिल्लाको गोसाइँकुण्ड गाउँपालिकाले शनिबार ६७ जनालाई ल्याएको छ । उनीहरूलाई क्वारेन्टाइनमा राखिएको छ । कालिका गाउँपालिकाले टे«किङको सिलसिलामा संखुवासभा र ओखलढुङ्गामा रहेका आफ्नो गाउँपालिकाभित्रका १७ जनालाई आइतबार ल्याउँदै छ । भने नौकुण्ड गाउँपालिकाले कालिका गाउँपालिकासँगको समन्वयमा चार जना ल्याउँदै छ ।

आमाछोदिङ्मो गाउँपालिकाले ५२ र उत्तरगया गाउँपालिकाले ७४ जनालाई ल्याउने तयारी गरेको छ । यसैगरी नेपाली कांगे्रेस रसुवाले २ सय भन्दा बढीलाई जिल्ला ल्याउँदै छ । यसका लागि पार्टीले तीन जना डाक्टरसहितको व्यवस्था मिलाएको छ । कोरोना भाइरसको जोखिमलाई न्यूनीकरण गरेर उच्च सतर्कता अपनाएर नागरिक ल्याउने पार्टीको तयारी छ ।

१४ दिन क्वारेन्टाइनमा बस्न पर्ने भएपछि जिल्ला आउन चाहेका धेरैजसोले नआउने प्रतिक्रिया दिएका छन् । सुरुमा जिल्लामा आउनका लागि नाम टिपाउने धेरै भएपनि पछि २ सयमा सीमित भएको पार्टीले जनाएको छ ।

८७ जना क्वारेन्टाइनमा राखियो
जिल्लाको चारवटा क्वारेन्टाइनमा ८७ जना राखिएको छ । कोभिड १९ सूचना केन्द्र रसुवाका अनुसार लकडाउनको समयमा विभिन्न जिल्लामा अलपत्र परेका रसुवावासी र अन्य जिल्लाबाट कामको सिलसिलामा रसुवा प्रवेश गरेका व्यक्तिलाई क्वारेन्टाइनमा राखिएको हो ।

धुन्चेमा रहेको क्वारेन्टाइनमा ६७, कालिका हिमालय मावि कालिकास्थानमा २, कोमिन स्यामेवाङ्फेल मावि स्याफ्रुमा ९, सरस्वती आधारभूत विद्यालय थाम्बुचेतमा २ र सान्जेन जलविद्युत आयोजनाको क्वारेन्टाइनमा ६ जना राखिएको छ ।

नागरिक ल्याउने क्रम बढेपछि क्वारेन्टाइन थप गर्ने तयारी
जिल्लामा अहिले पाँचवटा गाउँपालिकामा २ सय ५ शैयाको क्वारेन्टाइन निर्माण भएको छ । जिल्लामा २ सय १० शैयाको क्वारेन्टाइन निर्माण गर्ने भनिएपनि हालसम्म २ सय ५ वटा शैया मात्र तयार भएको छ ।

काठमाडौं लगायत बाहिरी जिल्लामा बसिरहेका रसुवाली जिल्ला आउने क्रम सुरु भएपछि स्थानीय तहहरूले क्षमता बढाउन लागेका हुन् । गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङनुर्पु तामाङले क्षमता बढाएर व्यवस्थापन गर्ने कार्य गरिएको बताए । यो गाउँपालिकामा ९५ शैयाको क्वारेन्टाइन सञ्चालन गर्ने तयारी थियो ।

तर हालसम्म ८३ शैया मात्र तयार भएको छ । धुन्चेमा ५० शैयाको निर्माण गरिएकोमा अहिले १० शैया थप गरेर ६० पुर्‍याइएको छ । यो क्वारेन्टाइनमा क्षमता अनुसारको व्यक्ति राखिसकिएको छ । स्याफ्रुमा १५ शैया र टिमुरेमा ८ शैयाको तयार भएको छ । टिमुरेमा नै सशस्त्र प्रहरीले १४ शैयाको क्वारेन्टाइन निर्माण गर्दै छ ।

जिल्लाको उत्तरगया गाउँपालिकाले २० शैयाको क्वारेन्टाइन निर्माण अघि बढाएको छ । यो गाउँपालिकामा हाल ३६ शैयाको क्वारेन्टाइन सञ्चालनमा छ । आमाछोदिङ्मो गाउँपालिकामा ४५ शैयाको क्वारेन्टाइन थप हुँदैछ भने नौकुण्डले पनि २० शैया थप गर्ने तयारी गरेको छ ।

कांग्रेसले समन्वय नगरी ल्याउन लागेको प्रति जनप्रतिनिधि असन्तुष्ट
नेपाली कांग्रेस रसुवाले काठमाडौंबाट २ सय भन्दा बढी नागरिक ल्याउन लागेको र गाउँपालिकासँग समन्वय नगरेको प्रति जनप्रतिनिधिले असन्तुष्ट व्यक्त गरेका छन् । जिल्लाको कालिका र गोसाइँकुण्ड गाउँपालिकाले समन्वय नगरी ल्याएमा समस्या हुने प्रतिक्रिया दिएका छन् ।

कालिका गाउँपालिकाका उपाध्यक्ष भवानीप्रसाद न्यौपानेले पार्टीले ल्याउन लागेका नागरिक बारे पालिकालाई जानकारी नभएको बताए । ‘अहिलेसम्म हामीलाई कति जना ल्याउने र कसरी राख्ने भन्ने बारे जानकारी आएको छैन,’उनले भने, ‘समन्वय नगरी ल्याएको खण्डमा राख्न सकिँदैन ।’

नेपाली कांग्रेसले अध्यक्ष जितेको नौकुण्ड र उत्तरगया गाउँपालिकामा समेत कार्यपालिकाले निर्णय नगरी नागरिक ल्याउन नहुने भनेपछि समस्या सिर्जना भएको छ । दुवै गाउँपालिकामा अध्यक्षबाहेक अन्यले कार्यपालिकाले निर्णय हुनुपर्ने बताएका छन् ।

प्रकाशित: १४ वैशाख २०७७ १२:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App