भैरहवा- भारतको नौतनवा क्वारेन्टाइनमा रहेका नेपालीहरुलाई स्वदेशतर्फ ल्याउन सुरुवात गरिएको छ । लकडाउनको समयमा नेपाल फर्किने क्रममा सीमाबाट भारतीय क्वारेन्टाइनमा बस्दै आएका नेपालीहरुलाई शुक्रबार साँझबाट नेपाल फिर्ता गर्न थालिएको हो । ३ साता बढि क्वारेन्टाइनमा बसेका उनीहरुको आरडिटी र मलेरिया परीक्षण गरी नेपाल भित्र्याउन थालिएको छ । पहिलो चरणमा नौतनवाको इन्टकलेजमा रहेका एक सय नेपालीहरुलाई शुक्रबार साँझ नेपाल ल्याइएकोे जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
र्यापिड टेस्ट रिपोर्टमा नेगेटिभ आएकाहरूलाई सम्बन्धित गाउँपालिकासँग सहकार्य गरी पठाउन लागिएको छ । पहिलो चरणमा नौतनवा ईन्टर कलेजमा रहेका २ बस विभिन्न जिल्लाका नेपालीहरुलाई ल्याइएको छ । ईलाका प्रहरी कार्यालय बेलहियाका प्रमुख प्रहरी निरीक्षक ईश्वरी अधिकारी र सशस्त्र प्र्रहरी ३८ नं. गुल्म डण्डाका प्रमुख प्रहरी नायब उपरिक्षक मानबहादुर शाहीसहितको टोलीले उनीहरुलाई क्वारेन्टाइनबाट सीमासम्म ल्याएका हुन । प्रहरी निरीक्षक अधिकारीका अनुसार अर्घाखाचीका ४०, गुल्मीका ३०, पाल्पाको ६, बाग्लुङको ४ रुपन्देहीको ५, धादिङको २, तनहुको ७, कपिलवस्तु २ तथा मोरङ, जाजरकोट, खोटाङ र स्याङजाको १/१जना गरी सय जना रहेका छन् ।
आएका सबै नेपालीहरुको स्वास्थ्य कार्यालय रुपन्देहीले सीमामै र्यापिड टेस्ट गरीरहेको छ । १५ मिनटमा आउने रिपोर्टमा यदी कोरोना नेगेटिभ देखिए सम्बन्धित पालिकाको समन्वयमा गनतव्य तिर जान दिने र पोजिटिभ आए स्वाब संकलन गरी परीक्षणका लागि प्रादेशिक प्रयोगशालामा नमुना पठाई विरामीलाई आइसोलेसनमा राखिने स्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले नागरिक न्युजलाई बताए । कोरोनासँगै उनीहरुमा औलो रोगको पनि परीक्षण गरिएको छ ।
लकडाउन भएसँगै सिमानाका बेलहियाबाट चैत १८ गते उद्वार गरि नौतनवाको ३ वटा क्वारेनटाइनमा बस्दै आएका छन् । भारतमा रोकिएको नेपालीहरुलाई स्वदेश फर्काएर सफलता भएको प्रदेश सभा सदस्य सान्तोस पाण्डेले बताए । एकै पटक सबैलाई ल्याउदा बढि भिड्भाड र स्वास्थ्य परीक्षणमा पनि समस्या देखिने हुँदा चरण चरणमा स्वदेश ल्याइरहेका छौ सवा ३ सय जना नेपालीहरु छन् ३ दिनमा सबै नेपाल आइपुग्छन् । आएका नेपालीहरुमा परीक्षण नेगेटिभ आए सबैलाई आ–आफ्नो जिल्ला पठाउन सम्बन्धित पालिकालाई जानकारी गराई रुट मिलाएर पठाइने प्रदेश सभा सदस्य पाण्डेले नागरिक न्युजलाई बताए । शुक्रबार १२ जिल्लाका नागरिकहरु आएका छन् ।
सिद्धार्थनगर नगरपालिका, जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालयले सम्बन्धित पालिकासँग समन्वय गरी यातायातको व्यवस्थापनसहित सबैलाई घर पठाउन लागिएको छ । तत्काल पठाउन नसकिएको नेपालीहरुलाई रुट मिलाएर पठाइने छ ।
भारतमा लकडाउन भएपछि कामका लागि गएका नेपालीहरु स्वेदश फर्किएका थिए । फर्कने क्रममा नेपालमा समेत लकडाउन सुरु भएपछि उनीहरु ३ दिन सीमामा अलपत्र समेत परेका थिए । आज शनिबार १ सय १२ जना नेपाली पनि आउदै छन् , नेपालको क्वारेन्टाइनमा रहेका भारतीयलाइ पनि आज पठाउने विषयमा गृहकार्य भइरहेको छ ।
प्रकाशित: १३ वैशाख २०७७ ०७:४७ शनिबार