१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

लकडाउनमा निरन्तर रक्तदान

भैरहवा- कोरोना भाइरस (कोभिड–१९) को संक्रमण अधिकांश देशमा छ । संक्रमण फैलिन नदिन देशभर लकडाउन भएपनि अस्पतालहरुले सेवा दिइरहेका छन् । दुई हप्ताका लागि सरकारले नियमित स्वास्थ्य जाँच र शल्यक्रिया नगर्न निर्देशन दिए पनि अस्पतालमा रगतको आवश्यकता छ ।

लकडाउनको बेला रगतको अभाव नहोस् भन्ने उद्देश्यसहित संघ सस्थाहरुले पनि रक्तदान गरिरहेका छन् । लकडाउन अवधिमा रगतको अभावले ज्यान नजाओस भन्दै रुपन्देहीको भैरहवा क्षेत्रमा पनि रक्तदान कार्यक्रम निरन्तर भइरहेको छ । लकडाउन अवधि चैत ११ गतेपछि मात्र यस क्षेत्रमा ३ सय बढि प्वाइन्ट रगत रक्तदान कार्यक्रमबाट संकलन भएको छ ।

लकडाउन अवधिमै रक्तदानको सुरुवात रुपन्देहीको ग्रामिण क्षेत्र रोहिणी गाउँपालिका ७ का मुस्लिम समुदायहरुले गरेर उदाहरणीय बनेका छन् । रक्तदान भनेपछि डराउने उक्त समुदाय लकडाउन र कोरोना भाइरसको यस्तो परिस्थितीमा पनि आफै आयोजक भएर मदरसा अरविया अहले सुन्नतले रक्तदान कार्यक्रमको थालनी गरेको छ । धकधई रेडक्रस उपशाखाको समन्वयमा मदरसामा आयोजना भएको रक्तदान लकडाउन अवधिको पहिलो रक्तदान हो, कार्यक्रममा मौलानाले आफै नै रक्तदान गरी कार्यक्रमको सुरुवात गरेको रेडक्रस सोसाइटीले जानकारी दिएको छ । अधिकांश मुस्लिम समुदायको बसोबास रहेको सो क्षेत्रका ३१ जनाले रक्तदान गरेका थिए ।

कोरोनाको सम्भावित महामारीलाई मध्यनजर गरेर लायन्स क्लबले पनि रक्तदान अभियान चलाएर विगत ३ वटा शुक्रबार नियमित रक्तदान कार्यक्रम आयोजना गरेको छ । लायन्स क्लब इन्टरनेशनल, डिष्ट्रिक ३२५ बी टु एरिया–फोर अन्तर्गत रहेका भैरहवा क्षेत्रका ७ क्रियाशिल लायन्स क्लबहरुले रगतको अभाव हुन नदिन अभियानमा साथ दिएको लायन्स क्लब अफ भैरहवा लुम्बिनीका अध्यक्ष तथा कार्यक्रम संयोजक रविकुमार रौनियारले बताए ।

रक्तदान अभियानमा पहिलो शुक्रबार ४५, दोस्रो २३ र तेस्रो २८ गरी ९४ प्वाइन्ट रगत लायन्स क्लबले भैरहवा क्षेत्रमा गरेको छ । त्यस्तै नेपाल विद्यार्थी संघले ६, पडसरी उपशाखाले ७३, लुम्बिनी युवा मंच तथा लुम्बिनी उपशाखाले ४७, सिद्धार्थ लेडी जेसिसले २६ र मारवाडी युवा मंचले ४३ प्वाइन्ट रगत रक्तदान कार्यक्रमबाट संकलन गरेको नेपाल रेडक्रस रक्त संचार इकाई भैरहवाका कार्यक्रम संयोजक हरिप्रसाद सापकोटाले बताए । सबै कार्यक्रममा रेडक्रसले नै प्रविधिक सहयोग गरेको छ । दैनिक ५० प्वाइन्ट रगत सरदरमा खपत हुने भैरहवामा अहिले यस अवधिमा पनि सरदर १५ प्वाईन्ट रगत खपत भइरहेको छ । दुर्घटनामा कमि आएकोले पनि खपतमा कमि आएको छ, सापकोटाले नागरिक न्युजलाई भने ।

डायलसिस, प्रसुती र दुर्घटनाको केशमा बढि रगतको माग छ, अहिले पनि माग नभएको भने होइन अभाव नहोस भन्दै सतर्कताका लागि रगत संकलनको काम भइरहेको छ । हामीसँग भएको सिमित स्रोत साधनले व्यवस्थापन गरिरहेका छौ । सापकोटाले पिआरपी छुट्याउने उपकरणको खाचो भैरहवा क्षेत्रमा देखिएको सुनाए । स्थानीय मन्त्रालय संघ पनि माग गरेका छौ । हालसम्म उपलब्ध भएको छैन । यो उपकरण चितवन र बुटवलमा छ, भैरहवामा नहुदा यस क्षेत्रको विरामीका लागि बुटवल धाउनु पर्ने अवस्था छ । यो उपकरणले रगतको प्रकारलाई छुट्याई प्लाज्मा निकाल्ने काम गर्छ।

नेपाल रेडक्रस सोसाइटीले लकडाउनका कारण रक्त संकलनमा चुनौती भए पनि आपूर्तिमा हरसम्भव प्रयास गरिरहेको छ । कोरोना भाइरसको त्रास र लकडाउनमा सस्थागत रक्तदान र रक्त समूहका दाताहरुलाई सम्पर्क गरेर रगत संकलन गर्ने काम पनि गरिरहेका छ । नेपाल रेड्क्रस सोसाइटी रुपन्देही जिल्ला शाखा र शिद्धार्थ उप शाखाले कोभिड–१९ भाइरस जोखिम न्यूनीकरणका लागि सुरक्षा निकाय तथा जन सरोकार राख्ने निकायहरुमा ३४ थान बाल्टी र हात धुने साबुन समेत वितरण गरेको छ ।

प्रकाशित: १३ वैशाख २०७७ ०५:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App