२३ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

प्रभावितलाई कुपन दिएर पसलबाटै राहत

रसुवा - जिल्लाको कालिका गाउँपालिका–३, इँटपारेका सुसिला नेपालीको दुई जनाको परिवार छ। उनले चैत २४ गते नजिकैको पसलबाट दैनिक उपभोग्य सामग्री लिइन्। लकडाउन भएपछि दैनिक गुजरा चलाउन समस्या परेको उनको परिवारलाई वडाले कुपन दियो। कुपन लिएर नजिकैको पसलमा गएर सामग्री लिइन्। ‘मास्क लगाएर गएको थिएँ’, उनले भनिन्, सामग्री लिने ठाउँमा मान्छे पनि कम थिए।’

सुर्खेतका लिलबहादुर कार्की कामको सिलसिलामा रसुवा आएको एक महिना हुन लाग्यो। सडक निर्माणको लागि कार्कीसहित ९ जनाको टोली कालिका गाउँपालिका–२, काप्रेमा आएको थियो। यहाँ आएपछि २ दिन काम भयो। त्यसपछि लकडाउन भयो। काम रोकियो। घर जान पनि पाएनन्। ‘काम नभएपछि यहाँ बस्न समस्या हुन्छ कि भन्ने लागेको थियो,’ उनले भने, गाउँपालिकामा समस्या सुनाएपछि राहत दिनुभयो।’

गाउँपालिकाले राहत उपलब्ध गराएका कारण अहिलेसम्म सामग्रीको अभाव नभएको नभएको उनले बताए। ‘हामीले समस्या राखेपछि नै गाउँपालिकाले राहत दिएको थियो’, उनले भने, आगामी दिनमा पनि समस्या हुँदैन भन्ने लागेको छ।’

प्रभावितले भने जस्तै कालिका गाउँपालिकाले मजदुरी गरेर जीवनयापन गर्ने परिवारलाई समस्या आउन दिएको छैन। पालिकाले आफैंले सामग्री खरिद गरेर पनि दिएको छैन। प्रभावितलाई सहज होस् भन्ने हिसाबले कुपन प्रणाली लागू गरेको छ। 

सूचीमा परेका प्रभावितले पहिले आपूmले सामग्री खरिद गर्ने पसलबाटै लिने व्यवस्था गरिएको गाउँपालिकाका उपाध्यक्ष भवानीप्रसाद न्यौपानेले बताए। ‘अहिले गाउँपालिकाले दिने समयमा चाहिँ अर्को पसलबाट लिँदा समस्या हुन्छ भनेर हामीले यसो गरेका हौं,’ उनले भने, ‘राहतको कारण सम्बन्धमा चिसो नआओस् भन्ने चाहाना हो।’ 

वडा कार्यालयले प्रभावितको विवरण संकलन गर्दा उनीहरूले सामग्री लिँदै आएको पसलको विवरण सहित गाउँपालिकालाई उपलब्ध गराएको थियो। गाउँपालिकाले विवरणका आधारमा वडालाई कुपन उपलब्ध गरायो। परिवारको सदस्य संख्याको आधारमा कुपन वितरण गरिएको छ। कुपनमा सदस्य संख्या उल्लेख गरिएको छ भने पसलेलाई संख्याको आधारमा सामग्रीको परिमाण उपलब्ध गराइएको छ। कुपन लिएर गएपछि कुपनका आधारमा पसलेले सामग्री उपलब्ध गराउँछ।

गाउँपालिकाको वडा नम्बर १ मा १६, २ मा ९१, ३ मा ६०, ४ मा ३७ र ५ मा ६३ परिवारलाई दैनिक उपभोग्य वस्तु सामग्री वितरण गरिएको छ। सामग्री उपलब्ध गराउने पसलमा जनप्रतिनिधिले छड्के अनुगमन भने गरिरहेका छन्। 

गाउँपालिकाभित्र हाल बसोबास गरिरहेका भूमिहीन, सुकुम्बासी, आफ्नो खेती नभएका, परिवारको कुनै सदस्यको नियमित आयआर्जन नभएको, परिवारको कुनै सदस्य स्वदेश वा विदेशमा रोजगारीमा नरहेको वा नभएको, परिवारको कुनै सदस्यको व्यापार व्यवसाय नभएको र दैनिक ज्यालादारीमा परिवारको दैनिक गुजरा चलाइरहेको परिवारलाई सामग्री उपलब्ध गराइएको हो। 

लकडाउन अवधिभर गाउँपालिकाभित्र बसोबास रही अत्यावश्यक दैनिक उपभोग्य वस्तुबाट वञ्चित भएका लक्षित परिवारलाई न्यूनतम् दैनिक उपभोग्य वस्तुहरू उपलब्ध गराउन थालिएको र लकडाउन अवधिभर जारी रहने उनले बताए। गाउँपालिकाले दोस्रो चरणमा राहत उपलब्ध गराउने तयारी थालेको छ। 

त्यसैगरी जिल्लाको उत्तरगया गाउँपालिकाले पनि कुपन प्रणाली लागू गरेर दैनिक उपभोग्य सामग्री उपलब्ध गराउन थालेको छ। गाउँपालिकाको वडा नम्बर १ बाहेक अन्य क्षेत्रका प्रभावितका लागि कुपन प्रणाली अनुसार सामग्री उपलब्ध गराएको गाउँपालिकाकी उपाध्यक्ष चमेली गुरुङले बताइन्।

गाउँपालिकाको वडा नम्बर २ मा ३४, ३ मा २६, ४ मा ७४ र ५ मा सय जनालाई राहत वितरण गरिसकेको छ। वडा नम्बर १ का ७ सय जनालाई सामग्री दिन बाँकी छ। वडा नम्बर १ मा भूकम्पका कारण विस्थापित भएको परिवारको संख्या धेरै भएको कारण संख्या बढी भएको हो । 
करुम¥याङ र यिरुवा क्षेत्रमा पसल नभएका कारण केही समस्या सिर्जना हुने देखिएको उनको भनाइ छ। जिल्लाको गोसाइँकुण्ड गाउँपालिकाले चैत २५ गते १७ जनालाई सामग्री उपलब्ध गराएको थियो। गाउँपालिकाभित्र करिब ६ सयलाई सामग्री उपलब्ध गराउन पर्ने गाउँपालिकाले जनाएको छ।

यो गाउँपालिकाले भने पसलहरूसँग कोटेसन लिएर कम मूल्यमा गुणस्तर युक्त सामग्री उपलब्ध गराउने छनोट गरेको छ। गाउँपालिकाका अध्यक्ष कैसाङनुर्पु तामाङले प्रभावितलाई समस्या नपर्ने गरी कम मूल्यमा सामग्री उपलब्ध गराउने पसल छनोट गरिएको बताए। यो गाउँपालिकाले चामल, दाल, नुन, तेल लगायत खुर्सानी तथा मस्यौरा पनि उपलब्ध गराएको छ।

प्रकाशित: ५ वैशाख २०७७ ११:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App