४ मंसिर २०८१ मंगलबार
image/svg+xml
समाज

धरानको कृषि बजार एक साता बन्द गरिने

धरान – लकडाउनमा पनि उपमहानगरपालिका र वडा कार्यालयसँग समन्वय गरेर हरियो तरकारी उपभोक्तालाई उपलब्ध गराउँदै आएको धरानको कृषि उपज बजारस्थल बन्द गरिने भएको छ।

भारतबाट आयात हुने सब्जीको गाडीमा लुकेर मानिस आवतजावत हुने र त्यसले जोखिम बढाउने त्रास बढेपछि कृषि बजार पनि बुधबारदेखि बन्द गरिने भएको हो। करिब चार दिनअघि भारतबाट एक सब्जी व्यापारी धरान आएको खुलेपछि कोरोना भाइरस संक्रमणको जोखिम बढेको भन्दै कृषि बजार बन्द गर्न दबाब परेको थियो।मंगलबार धरानकी उपमेयर मञ्जु भण्डारी सुवेदीको अध्यक्षतामा बसेको सरोकारवाला एवं तरकारी व्यापारीको बैठकले कृषि बजार पनि एक साता बन्द गर्ने निर्णय भएको हो। 

बैठकले एक सातासम्म कृषि बजार पुर्णरुपमा लकडाउन गर्ने निर्णय गरेको उपमेयर भण्डारीले बताइन्। त्यसपछि परिस्थिति हेरेर र उपभोक्ताको चाहनाअनुसार कृषि बजार खोल्ने नखोल्नेबारे निर्णय गरिने उनले बताइन्। ‘हामीले आमजनताको स्वास्थ्यलाई मध्यनजर गर्दै यो अप्रिय निर्णय लिनुपर्‍यो, नगरवासीले पनि कृषि बजारबाट कतै संक्रमण हुन्छ कि भन्ने प्रश्न उठेपछि यो कदम चाल्न बाध्य भयौं,’ उनले भनिन्। 

उपमेयर भण्डारीले भारतीय नाकाबाट तरकारी बोकेर आउने गाडीलाई प्रदेश र केन्द्र सरकारले कडा चेकजाँच नगर्दा यो निर्णय लिनुपरेको बताइन्। उनले नाकामा अझ कडाइ गर्नुपर्ने माग गरिन्। ‘भारतबाट सब्जी लिएर आउजाउ गर्ने गाडीबाट मानिस आइरहेका छन्, यसलाई सीमामा नै कडाइ गर्नुपर्‍यो,’ उनले भनिन्। 

प्रकाशित: ३ वैशाख २०७७ ०६:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App