खोटाङ– खोटाङको दिक्तेलबजारमा कोरोना भाइरस (कोभिड–१९)को जिवाणु नाश गर्ने रसायन (औषधि) स्प्रे गरिएको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको प्रयास स्वरुप दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले दिक्तेलबजारको विभिन्न स्थानमा करिब १ हजार ५ सय लिटर सोडियम हाईपोक्लोराइड नामक डिसइन्फेक्ट्यान्ट स्प्रे गरेको हो ।
गत चैत २८ गते रातीदेखि दिक्तेलबजारको जिरोपइन्टबाट रत्नपार्क, संगमपार्क, पुरानो बेसक्याम्प, त्रिबेणीचोक, भवनगैरा, पुरानो बैंकचोक, भानुचोक, हाटडाँडा, अस्पताल चोक, पुरानो पञ्च माबि लगायतका क्षेत्रमा सोडियम हाईपोक्लोराइड छर्किसकिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख तीर्थराज आचार्यले बताए ।
चैत ३० गते राती दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथला क्षेत्रमा पनि सोडियम हाईपोक्लोराइड स्प्रे गरिएको नगरपालिकाले जनाएको छ । मंगलबार राती दिक्तेलको पुरानो पञ्च माबिदेखि आचार्य गाउँ हुँदै मेवा खोलासम्म जिवाणुनाशक औषधि स्प्रे गरिने नगरका स्वास्थ्य शाखा प्रमुख आचार्यले बताए । हरेक वस्तुको सतहमा रहेका जिवाणु, भाइरस तथा व्याक्टेरिया मार्नका लागि बजारका घना वस्ती, बढि चहलपहल भएको क्षेत्र र संक्रमणको उच्च जोखिमकारुपमा शंका गरिएका ठाउँमा नगरपालिकाले सोडियम हाईपोक्लोराइड छर्किन सुरु गरेको हो । जिवाणु, भाइरस तथा व्याक्टेरिया नाश गर्नका लागि नगरपालिकाले २२५ लिटर सोडियम हाईपोक्लोराइड ल्याएको जनाएको छ ।
एक लिटर सोडियम हाईपोक्लोराइडमा आठ लिटर पानी घोलेर राती ८ बजेपछि कम्प्रेसर मेसिन प्रयोग गरेर बजार क्षेत्रमा छर्ने गरिएको छ । सर्वसाधारणको स्वास्थ्यलाई समेत ध्यानमा राखेर बिश्व स्वास्थ्य संगठन र नेपाल सरकार स्वास्थ्य मन्त्रालयले जारी गरेको निर्देशिका बमोजिम ०.५ प्रतिशतको घोल बनाएर औषधि छर्कने व्यवस्था मिलाइएको नगरका स्वास्थ्य शाखा प्रमुख आचार्यले बताए ।
नगरपालिकाले क्रमशः दिक्तेलकै माटिकोरे, पुरानो बैंकचोक, सरस्वती माबिको आसपासका बाक्लो बस्ती भएका ठाउँमा पनि सोडियम हाईपोक्लोराइड स्प्रे गर्ने जनाएको छ ।
प्रकाशित: २ वैशाख २०७७ ०८:४३ मंगलबार