५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

विदेशबाट आएकालाई क्वारेन्टाइन राख्नै मुस्किल

 

रूपन्देही - पाल्पाको रामपुरमा भारतबाट आएकाहरूलाई क्वारेन्टाइन बस्न सुझाव दिँदा चैत १९ गते २२ वर्षीय कृष्ण कुमाल मरणासन्न हुनेगरी कुटिए। सरकारले विदेशबाट आएकालाई अनिवार्य दुई साता क्वारेन्टाइनमा बस्न भनेको छ। माथिल्लो कुमाल टोलका कृष्णले तल्लो कुमाल टोलमा भारतबाट आएकालाई क्वारेन्टाइनमा बस्न सुझाव दिएका थिए। 

कृष्णमाथि १०÷१२ जनाको समूहले आक्रमण गर्दा टाउको फुटेको छ। कृष्णको अहिले बुटवलस्थित चौराहा अस्पतालमा उपचार भइरहेको छ। ‘कोरोनाबाट सबै जोगिनुपर्छ भनेर भन्दा भाइको झन्डै ज्यान गएन,’ दाजु हिमालले भने। सरकारले समेत विदेशबाट आएकाहरूबाट नै नेपाल कोरोना भाइरसको उच्च जोखिममा रहेको बताउँदै आएको छ। तर विदेशबाट आएकाहरू प्रायः क्वारेन्टाइनमा बसेका छैनन। ‘होम क्वारेन्टाइन’मा बसेको बताए पनि त्यो सुरक्षित देखिँदैनन। रामपुर नगरपालिकाका प्रमुख रमण बहादुर थापाले विदेशबाट आएकाहरूलाई क्वारेन्टाइनमा ल्याउन सहज नभएको बताए।

रामपुर–१ सय ४५ जनामध्ये विदेशबाट आएको भए पनि मुस्किलले ११ जनालाई क्वारेन्टाइनमा राखिएको छ। दुई साता पुगेकाले यी पनि घरमै छन्। रामपुरका युवाले कोरोना नियन्त्रणमा सरकारलाई नै सहयोग गर्दा झन्डै ज्यान गुमाएनन्। स्थानीय तहका जनप्रतिनिधिहरूको आग्रह पनि धेरैजसो ठाउँमा खेर गयो। अहिले प्रदेश ५ का एक सय नौवटा स्थानीय तहका क्वारेन्टाइन लगभग खाली हुने अवस्थामा छन्। तर दुई साताको अवधिमा भने विदेशबाट आएका मुस्किलले १५ प्रतिशत मात्रै बसेको तथ्यांकले देखाएको छ। प्रदेशका १२ जिल्लाका एक सय नौवटा स्थानीय तहको प्रारम्भिक तथ्यांकलाई हेर्ने हो भने भारतसहित अन्य देशबाट आएकाहरू निकै जोडबलका साथ १५ प्रतिशत मात्रै क्वारेन्टाइनमा बसेको देखिएको हो। 

प्रदेश ५ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका अनुसार प्रदेशभर भारत र अन्य देशबाट आउनेहरूको संख्या १८ हजार दुई सय ७० छ। यो पनि प्रराभ्मिक तथ्यांक हो। यसमध्ये १६ हजार नौ सय १८ जना भारतबाट आएका हुन्। प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार बुधबार (चैत २६) सम्म २ हजार ५ सय १९ जना मात्रै क्वारेन्टाइनमा बसेका छन्। विदेशबाट फर्किनेहरूको संख्या अत्यधिक भए पनि ६ हजार तीन सय १७ जनाको क्षमताका क्वारेन्टाइन मात्रै तयार छ। विदेशबाट सबैभन्दा धेरै आएका स्थानीय तहमा पनि क्वारेन्टाइनमा बस्नेको संख्या न्यून नै रह्यो।प्युठानको स्वर्गद्वारी नगरपालिकाकामा सात सय २४ जना भारत र ६ जना अन्य देशबाट गरी सात सय ३० जना विदेशबाट आएहरूको संख्या हो।

यो नगरपालिकाले भने ३३ जनालाई मात्रै क्वारेन्टाइनमा राखियो। नगरपालिकाका नगरप्रमुख नेत्रबहादुर रोकाका अनुसार बसेकालाई पनि बिदाइ गरिसकियो। आफ्नो नगरपालिकामा विदेशबाट आउनेको संख्या अत्यधिक भए पनि सबैलाई राख्न भने नसकिएको स्विकारे। उनले भने, ‘हामीले धेरै आग्रह गर्‍यौं, अधिकांश घरमै बसे, तत्काल आएकालाई क्वारेन्टाइनमा राखिएको हो।’ विदेशबाट आएका जतिलाई राख्न सक्ने क्षमता नगरपालिकासँग नभएको र त्यो सम्भव पनि नहुने उनको भनाइ छ। उनले क्वारेन्टाइनमा बस्नु र घरमा बस्नुमा स्वास्थ्य जाँचको हिसाबले उस्तै भएको बताए। ‘कुनै उपकरण छैन, क्वारेन्टाइनमा मात्रै राखेर के गर्ने, कसैलाई ज्वरो आए, नाप्ने यन्त्र छैन, स्वास्थ्यकर्मीले लगाउने पिपिई छैन,’ उनले भने। दाङको बंगलाचुली गाउँपालिका प्रारम्भिक तथ्यांकमा सबैभन्दा बढी विदेशबाट आउनेहरू भएको पालिका हो।

यहाँ एक हजार चार सय जना त भारतबाट मात्रै आएकाहरू छन्। तर यीमध्ये १० जनालाई मात्रै क्वारेन्टाइनमा राखियो। ४० शड्ढया क्षमताको क्वारेन्टाइन बनाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रबहादुर वलीले बताए। सरकारले लकडाउन सुरु गरेपछि क्वारेन्टाइन बनाउन थालेका थिए। तराईका जिल्लाका कतिपय स्थानीय तहले विदेशबाट आउनेहरूको लगत नै संकलन गरेका छैनन्। 

प्रकाशित: २८ चैत्र २०७६ १२:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App