११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

राहत हत्याउने दाउमा छुट्टिदैं परिवार

प्रतिकात्मक तस्बिर

सर्लाही – कोरोना भाईरस (कोभिड–१९) को संक्रमणबाट मुलुकलाई बचाउनका लागि सरकारले गरेको लकडाउनका कारण समस्या परेका विपन्न परिवारलाई वितरण गर्ने भनिएको राहत प्राप्त गर्नका लागि तँछाडमछाड देखिएको छ। राहत बढी लिने होडबाजीका कारण श्रीमान–श्रीमतिबीच छुट्टिएको विवरण ह्वात्तै बढेको स्थानीय तहहरुले बताएका छन्। 

यसरी परिवारका सबै सदस्यहरु छुट्टिएको भन्दै विवरण टिपाउन थालिएपछि तथ्यांक संकलनमा वास्तविकता भन्दा तीनगुणा बढी घरधुरी संख्या देखिन थालेको छ। जिल्लास्थित पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हरिवन नगरपालिका वडा नं. १० का वडाध्यक्ष शम्भु मैनालीले आफ्नो वडास्थित ताईबान बस्तीमा झण्डै ६०० घरधुरी रहेपनि राहत दिने भनेपछि १८ सय घरधुरी पुग्ने अवस्था देखिएको जानकारी दिए।

 ‘ताईबान बस्तीमा मुस्किलले ६०० घरधुरी छ, तर सरकारी राहत बाँड्ने रे भनेपछि तीनगुणा बढी घरधुरी बढ्ने देखिएको छ’, वडाध्यक्ष मैनालीले भने, ‘दुई दिनअघिसम्म एउटै घरमा बसेका परिवारका सदस्यहरु राहत बढी हत्याउने धुनमा लागेर सबैजना एक आपसमा छुट्टिएको भन्दै नाम टिपाउने गरेका छन्।’ 

एउटै घरमा रहेका श्रीमान र श्रीमति अनि छोराछोरी सबै छुट्टिएको भन्दै विवरण टिपाउने विकृत्ति बढेको छ। ‘घरको एउटा ढोकाबाट श्रीमान अनि अर्को ढोकाबाट श्रीमति र अर्को ढोकाबाट छोराछोरी निस्कँदै हाँमी त छुट्टिसक्यौं भन्दै कर्मचारीलाई जबर्जस्ती नाम टिपाउने गरेका छन्’, वडाध्यक्ष मैनालीले भने, ‘हुनेखाने परिवार समेत सरकारले दिने त हो नि भन्दै निर्लज्ज बनेर राहत लिनका लािग नाम टिपाउन दबाब दिईरहेका छन्।’

 राहत हत्याउनका लागि विवरण टिपाउने क्रममा श्रीमान–श्रीमतिबीच पनि डिभोर्स ह्वात्तै बढ्न थालेको भन्दै वडाध्यक्ष मैनालीले व्यंग्य गरे।

लकडाउनका कारण दैनिक ज्याला मजदुरी गरेर बिहान बेलुकाको छाक टार्ने एवं अति विपन्न परिवारलाई समस्या भएको भन्दै हरिवन नगरपालिकाले राहत वितरणका लागि केही दिनअघि नगर प्रकोप व्यवस्थापन कोष स्थापना गरेको थियो। नगरपालिकाका मेयर गणेश प्रसाद प्रसाईंका अनुसार शुक्रबारसम्म उक्त कोषमा नगरपालिकाले राखेको ११ लाख तथा विभिन्न संघसंस्था एवं व्यक्तित्वबाट गरी ३६ लाख रुपैंया भन्दा बढी रकम जम्मा भईसकेको छ।

नगरपालिकाले लकडाउनका कारण समस्यामा परेका आर्थिक रुपले विपन्न प्रति परिवारलाई २५ केजी चामल, १ केजी दाल, नुन १ पोका, आलु ३ किलो, खाने तेल १ लिटर, स्वायविन लगायत खाद्यान्न राहत स्वरुप वितरण गर्न लागेको हो। हाल नगरपालिका भरी राहत दिनका लागि विपन्न परिवारको तथ्यांक संकलनको काम भईरहेको एवं आईतबारबाट वितरण गरिने मेयर प्रसाईंले जानकारी दिए।

दैनिक मजदुरीबाट छाक टार्ने तथा अत्यनत विपन्न परिवारलाई राहत वितरण गर्ने तयारी गरिएपनि तथ्यांक संकलनका क्रममा हुनेखाने परिवारले समेत दबाब दिईरहेको मेयर प्रसाईं बताउँछन्। ‘राहत पाउने भनेपछि एउटै परिवारका ५ जना सदस्य सबै एक आपसमा छुट्टिएको भन्दै नाम टिपाउन दबाब दिईरहेको वडाध्यक्ष एवं कर्मचारी साथिहरुबाट गुनासो आएको छ’, मेयर प्रसाईंले भने, ‘सगोलमै रहेका परिवारका सदस्यहरु सबै छुट्टिएको बताउने अनि हुनेखाने परिवारले समेत राहतका लागि नाम टिपाउने जस्ता क्रियाकलाप देखेर हाँमी अचम्मित भएका छौं।’ 
पाउँदै नपाउनुपर्ने परिवारले समेत राहतमा लालच देखाएपछि सामान लिने सबैको फोटो खिचेर सामाजिक संजालमा सार्वजनिक गर्ने तयारी समेत गरिएको मेयर प्रसाईंले जानकारी दिए। त्यस्तै नपाउनुपर्ने परिवारले राहत लिएको थाहा पाईए नगरपालिकाको सम्पूर्ण सेवा सुविधाबाट बञ्चित गरिने समेत मेयर प्रसाईंको चेतावनी छ। ‘कर्मचारीलाई मात्र खटाउँदा निकै गलत विवरण आउने देखेर तथ्यांक संकलनमा वडाध्यक्षज्यूहरु स्वयं खटिरहनु भएको छ’, मेयर प्रसाईंले भने, ‘सकेसम्म विपन्न बाहेक अन्य परिवार तथा सगोलमै भएपनि छुट्टिएको भन्दै बढी राहत नपाउन भन्ने उद्धेश्य सहित अत्यन्त सजगताका साथ तथ्याक संकलन भईरहेको छ।’

जिल्लामा लालबन्दी र हरिवन नगरपालिकाले राहत कोष नै स्थापना गरेर रकम संलकन गरिरहेका छन् भने अन्य केही स्थानीय तहले आफ्नै कोषबाट राहत वितरण गर्ने तयारी गरिरहेका छन्।

प्रकाशित: २१ चैत्र २०७६ १३:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App