२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

कोरोना त्रास: पारिबाट वारि आउनेको लर्को

दिलबहादुर छत्याल/अर्जुन ओली
धनगढी/नेपालगन्ज - छिमेकी मुलुकसहित विश्वभरि कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिएपछि भारतका विभिन्न सहरमा मजदुरी गरिरहेका नेपाली केही दिनयता घर फर्कने क्रम बढेको छ। कैलालीको धनगढीस्थित त्रिनगर र कञ्चनपुरको महेन्द्रनगरस्थित गड्डाचौकी नाकाबाट दिनहुँ करिब १० हजार नेपाली भित्रिएकोमा शनिबार भने २० हजारभन्दा बढी भित्रिएका छन्।

यसैगरी बाँके नेपालगन्जको जमुनाह, रुपन्देही भैरहवाको बेलहियालगायत नाकाबाट पनि घर फर्कने नेपालीको संख्या दिनुहुँ बढ्दो छ। गड्डाचौकी नाकामा शनिबार बिहान भारतबाट फर्कनेको भीड अनियन्त्रितजस्तै देखियो। उनीहरूलाई क्वारेन्टाइनमा राख्ने व्यवस्था गरिएको छैन। यसअघि चीनबाट आएका नेपालीलाई अनिवार्य १४ दिन क्वारेन्टाइनमा राखिएको थियो। भारतबाट फर्किएकालाई क्वारेन्टाइनमा नराख्दा कोरोना संक्रमणको जोखिम बढेको भन्दै चिकित्सकहरूले चिन्ता व्यक्त गरेका छन्।

‘विश्व स्वास्थ्य संगठनको निर्देशिकाअनुसार कोरोना संक्रमण भएको देश वा ठाउँबाट आएका मानिसलाई १४ दिनसम्म क्वारेन्टाइनमा राख्नैपर्छ तर कोरोना संक्रमण देखिएको भारतबाट आएका नेपालीलाई कुनै निगरानी र क्वारेन्टाइनमा राखिएको छैन,’ सेती प्रादेशिक अस्पतालका फिजिसियन डा. शेरबहादुर कमरले भने, ‘कोराना संक्रमण फैलिएका ठाउँबाट आएकालाई घरमै भए पनि १४ दिनसम्म क्वारेन्टाइनमा राख्नैपर्छ।’ उनका अनुसार भारतबाट घर फर्किएका नेपालीलाई कुनै निगरानीमा नराखिनुले भयाभह अवस्था उत्पन्न हुन सक्छ।

धनगढीको त्रिनगर र महेन्द्रनगरको गड्डाचौकीमा हेल्थ डेस्क राखेर उनीहरूको ज्वरो नाप्नेबाहेक अन्य कुनै जाँच गरिएको छैन। नाकाबाट हुलका हुल भित्रिँदा ज्वरो नाप्न पनि समस्या हुने गरेको छ। कोरोना संक्रमण भएको मानिसमा १४ दिनसम्म कुनै लक्षण नदेखिने भएकाले ज्वरो जाँच गरेर मात्र संक्रमण पत्ता नलाग्ने चिकित्सक बताउँछन्। ‘कोरोना भाइरस लागेको १४ दिनसम्म संक्रमणकालीन अवस्था हो, यो अवधिमा संक्रमित मानिस स्वस्थ देखिन सक्छ,’ वरिष्ठ फजिसियन डा. शुभेशराज कायस्थले भने, ‘ज्वरो जाँच गरेर मात्र कोरोना संक्रमण भए नभएको पत्ता लगाउन गाह्रो हुन्छ।’

राजधानी काठमाडौंबाहेक अन्य ठाउँमा कोरोना संक्रमण भए÷नभएको परीक्षण गर्ने प्रयोगशाला नहुँदा पनि समस्या भएको उनले बताए। सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले शनिबार त्रिनगर र गड्डाचौकी नाकाको अनुगमन गरेको बताए। यी दुई नाकाबाट शनिबार मात्र २० हजार भित्रिएको जानकारी आफूले पाएको उनले बताए। सयौंजनालाई १४ दिन क्वारेन्टाइनमा राख्न सक्ने सम्भावना नभएको उनको भनाइ छ। ‘हामीले नाकामा ज्वरो जाँच गर्ने व्यवस्था गरेका छौं,’ उनले भने, ‘लक्षण देखिएकालाई महाकाली र सेती अस्पतालमा आइसोलेसन उपचार कक्षमा पठाउने गरिएको छ, सबैलाई क्वारेन्टाइनमा राख्ने सम्भावना छैन।’ भारतबाट फर्केकालाई सेल्फ क्वारेन्टाइनमा बस्न आग्रह गरिराखेको उनले बताए। कोरोना संक्रणको आशंकामा शनिबार दुईजनालाई महाकाली अस्पताल पठाइएको जानकारी उनले दिए। महेन्द्रनगरमा सय र धनगढीमा ५० शड्ढयाको क्वारेन्टाइन र आइसोलेसन कक्ष आइतबारदेखि सञ्चालन गर्ने तयारी गरिएको जानकारी पनि मन्त्री सुवेदीले बताए।

दुर्गम बस्तीमा जोखिम
स्वास्थ्य उपचारको पहुँच नभएका दुर्गम ग्रामीण बस्तीमा कोरोना संक्रमण हुने जोखिम बढेको छ। सुदूरपश्चिमका पहाडी जिल्लाका सयौं युवक मजदुरीका लागि भारतका विभिन्न सहर जाने गरेका छन्। भारतमा कोरोनाको संक्रमण फैलिएसँगै त्यहाँ मजदुरी गर्न गएका नेपाली घर फर्किरहेका छन्। उनीहरूको ज्वरो नाप्नेबाहेक अन्य जाँच नभएकाले ग्रामीण क्षेत्रमा कोरोनाको जोखिम बढेको डडेल्धुराकी मनीषा साउदले बताइन्। ‘भारतबाट फर्केका दाजुभाइका कारण गाउँगाउँमा चहलपहल बढेको छ,’ उनले भनिन्, ‘उनीहरूलाई क्वारेन्टाइनमा नराख्दा गाउँघरमा जोखिम बढेको छ।’

कोरोना संक्रमण त्रासले आफू भारतबाट फर्किएको अनिल ऐडीले बताए। ‘म काम गर्ने होटल पनि बन्द भयो, कोरोनाको त्रास पनि बढेकाले म घर आएको हुँ,’ दिल्लीबाट फर्किएका बाजुरा त्रिवेणी नगरपालिका–७ का ऐडीले भने, ‘रोजगारी गर्नु त छँदैछ, पहिला ज्यान त बचाउनुप-यो।’ धनगढीको त्रिनगर नाका भएर डोटी जाँदै गरेका अमर साउदले पनि भारतमा कोरोना संक्रमण फैलिएकाले काम छाडेर आएको बताए। नेपाल प्रहरी सुदूरपश्चिम प्रदेशका प्रमुख प्रहरी नायब महानिरीक्षक तारणीप्रसाद लम्सालले त्रिनगर र गड्डाचौकी नाकाबाट एक सातामा डेढ लाख नेपाली भित्रिएको बताएका छन। सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले कोरोना संक्रमण फैलिन नदिन प्रदेश सरकार सजग रहेको बताए। अहिलेसम्म सुदूरपश्चिममा कोरोनाको संक्रमण नदेखिएको र संक्रमण हुन नदिन हरेक उपाय र सावधानी प्रदेश सरकारले अपनाएको जानकारी पनि उनले दिए। उनले भारतबाट फर्किएका नेपालीको नाकामा ज्वरो नाप्ने मात्र नभई घर नपुगुन्जेल ठाउँठाउँमा जाँच गर्न थालिएको बताए।

भारतमा कोरोना संक्रमित देखिएछि नेपाल–भारतका निश्चित सीमानाकाबाट आवतजावत गर्ने व्यवस्था मिलाएको भनिए पनि व्यवहारमा त्यस्तो हुने सकेको छैन। प्रदेश ५ का प्रायः सबै सीमानाका खुला छन्। यसले गर्दा नेपालमा संक्रमणको जोखिम बढेको छ। भारतका विभिन्न सहरमा कोरोना संक्रमण देखिएपछि त्यहाँ रहेका नेपाली धमाधम घर फर्किरहेका छन्। आफन्त र इष्टमित्रकहाँ बस्ने भन्दै केही भारतीयसमेत नेपाल आइरहेका छन्।

केही दिनयता रूपैडिहा नाका हँुदै नेपालगन्ज भित्रिनेको संख्या बढेको छ। उनीहरूको स्वास्थ्य जाँच गर्न जमुनाहामा हेल्थ डेस्क राखिए पनि ज्वरो नाप्नबाहेक अरू जाँच भएको छैन। हेल्थ डेस्कको तथ्यांकअनुसार पछिल्लो तीन दिनमा भारतबाट २४ हजार २ सय ३२ जना नेपालगन्ज प्रवेश गरेका छन्। यसरी प्रवेश गर्नेमा भारतीय पनि छन्। बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले भारतीयलाई आउन नदिन नाकामा अत्यन्तै कडा जाँच गरिएको दाबी गरे। उनले भने, ‘नेपालीसँगै भारतीयको घुसपैठ हुन सक्ने हुँदा सावधानी अपनाएका छौं।’

मानाका बन्द गर्ने विषयमा गृह मन्त्रालयबाट कुनै निर्देशन नआएको प्रजिअ खड्काले बताए। नाकामा यात्रुको स्वास्थ्य जाँचको प्रबन्ध भने मिलाइएको छ। इलाका प्रहरी कार्यालय जमुनाहाका इन्चार्ज प्रहरी नायब निरीक्षक माधव रिजालले भारतमा कोरोना भाइरसको संक्रमण देखापरेपछि घर फर्कने नेपालीको संख्या ह्वात्तै बढेको बताए। ‘भारतमा काम गर्न गएका नेपाली यो नाका हुँदै नेपालगन्ज प्रवेश गरिरहेका छन्, अहिलेसम्म स्वास्थ्य जाँच गरेर मात्र प्रवेश गर्न दिइएको छ’, उनले भने।

त्यस्तै सुनौली–बेलहिया नाका भएर भैरहवा हुँदै विभिन्न जिल्ला जाने नेपालीको संख्या पनि बढ्दै गएको छ। यहाँबाट दैनिक १० हजारभन्दा बढी नेपाल भित्रिएको अनुमान छ। सीमानाका खुला भएकाले नेपाल भित्रिनेको अनिवार्य स्वास्थ्य जाँच गरिए पनि नाकामा भने कुनै कडाइ गरिएको छैन। नेपालगन्ज र भैरहवामा जस्तै प्रदेश पाँचका दाङ, कपिलबस्तु, बर्दियाका नाकाबाट पनि नेपाल प्रवेश गर्नेको संख्या बढेको छ। दाङका कोइलाबास नाका हुँदै नेपाल भित्रिनेको स्वास्थ्य जाँचमा कडाइ गरिएको छ। दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले कोइलाबास नाकाबाट भित्रिनmेको स्वास्थ्य जाँचमा कडाइ गरिएको बताए।

उक्त नाकाबाट यातायात साधन प्रवेशमा भने रोक लगाइएको छ। खांग्रा र पतौली नाकामा पनि हेल्थ डेस्क राख्ने योजना रहेको जानकारी रिजालले दिए। अहिलेसम्म जिल्लाका कुनै पनि नाका बन्द नगरिए पनि एक÷दुई दिनको अवस्था हेरेर निर्णय गरिने उनले बताए। सीमानाका बर्दियाको गुलरिया, जमुनी, मधुवन र राजापुरमा स्वास्थ्यकर्मीसहित यात्रुको जाँच गरिएको छ। प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेका अनुसार नेपालबाट भारततर्फ जान नेपालीलाई पूर्ण रूपमा रोक लगाइएको छ भने भारतीयलाई पनि यता आउन दिइएको छैन।

कपिलबस्तुका नाकाबाट पनि नेपाल भित्रिने यात्रुको स्वास्थ्य जाँचमा कडाइ गरिएको छ। जिल्लाका विभिन्न १० वटा नाकामा विशेष सर्तकता अपनाइएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायाण पौडेलले बताए। नाकामा स्वास्थ्य जाँच कडा पारिए पनि आवत–जावतमा रोक लगाइएको छैन।

(मोहम्मद हबिब/भैरहवा, देवेन्द्र बस्नेत/दाङ, निर्मल घिमिरे/बर्दिया, किरणमान वज्राचार्य/कपिलबस्तुको सहयोगमा)

प्रकाशित: ९ चैत्र २०७६ ०२:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App