२ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

चालकलाई टाइमकार्डसँगै कोरोनाविरुद्ध सचेतना

सर्लाही - सर्लाही ट्राफिक प्रहरीले शुक्रबारदेखि राजमार्गमा सवारीसाधनमा टाइमकार्ड लागु गरेको छ। टाइमकार्ड प्रणाली उद्घाटनको अवसरमा सवारीसाधनका चालकलाई कोरोनाविरुद्ध सचेतनासमेत गराइएको छ। वाग्मतीस्थित ट्राफिक प्रहरी पोस्टमा आयोजित कार्यक्रम स्थलअगाडि साबुनपानीले हात धुन लगाएर चालकलाई टाइमकार्ड प्रणालीबारे जानकारी गराइएको थियो।

कार्यक्रममा वाग्मती नगरपालिकाकी उपप्रमुख लीलाकुमारी मोक्तान, जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक सूर्यनारायण यादवलगायतले चालकलाई फूलमालासहित स्वागतसमेत गरेका थिए। तीव्रगतिका कारण दुर्घटना बढेकाले टाइमकार्ड लागु गरिएको ट्राफिक प्रहरी निरीक्षक यादवले जानकारी दिए। ‘प्रदेश ट्राफिक प्रहरी कार्यालयको आदेशअनुसार शुक्रबार एकसाथ प्रदेशभित्रका कर्मैयासहित विभिन्न ठाउँमा टाइमकार्ड लागू भएको छ,’ प्रहरी निरीक्षक यादवले भने, ‘अब राजमार्गमा गुड्ने सवारीसाधनले टाइमकार्डमा उल्लिखित समयभन्दा दायाँबायाँ गरे कारबाही गर्नेछौं।’ कर्मैयाबाट ५० किलोमिटर पूर्व लालगढलाई १ घण्टा १० मिनेट तथा ५२ किलोमिटर पश्चिम पथलैया पुग्न १ घण्टा १५ मिनेट समयावधि तोकिएको छ। तोकिएको समयभन्दा चाँडो पुगेमा सम्बन्धित सवारीसाधनलाई कारबाही गरिने ट्राफिक प्रहरीले जनाएको छ।

त्यस्तै मोटरसाइकलले ५० किलोमिटर तथा टेम्पो, स्कुटर, पावरट्रेलर र ट्याक्टरले प्रतिघण्टा ४० किलोमिटरको गतिमा चलाउनु पर्नेछ। बस, मिनिबस, ट्रक, मिनिट्रकलाई पहाडमा ५० किलोमिटर तथा समतल भूभागमा प्रतिघण्टा ७० किलोमिटर गति तोकिएको छ। बाक्लो बस्तीमा सबै सवारीसाधनले ४० किलोमिटर प्रतिघण्टाको गतिमा चलाउनुपर्ने ट्राफिक प्रहरीले जनाएको छ।

प्रकाशित: ८ चैत्र २०७६ ०३:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App