८ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

अस्पतालमा मौसमी फ्लुका बिरामी बढे

काठमाडौं – कोरोना संक्रमणको त्रासले पछिल्लो समय अस्पताल पुग्ने मौसमी फ्लुका बिरामीको संख्या दोब्बरले बढेको छ। मौसम परिवर्तन हुन लागेको यो समयमा मौसमी फ्लुको संक्रमण बढी नै हुन्छ। त्यस्तो फ्लुको लक्षण देखियो कि बिरामी कोरोना संक्रमण भन्दै अस्पताल आइपुग्ने गरेको चिकित्सकले बताएका छन्।

विगतका तुलनामा यसपटक मौसमी फ्लुका दोब्बर बढी बिरामी अस्पताल आएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अनुसन्धान विभाग संयोजक डा. शेरबहादुर पुनले बताए। ‘विगतमा मौसमी फ्लुका बिरामी घरैमा उपचार गर्थे, निको नभएपछि मात्र अस्पताल पुग्थे। यो पालि रुघाखोकी लाग्यो कि कोरोनाका डरले अस्पताल आइहाल्छन्’, उनले भने। उनीहरुलाई परामर्श तथा सुझाव दिएर पठाउने गरेको र जटिल समस्या भए पुनः अस्पताल आउन सुझाव दिने गरेको पुनले बताए।

त्रिवि शिक्षण अस्पतालको मेडिसिन विभागमा उपचार गर्न पुगेका बिरामीमध्ये ५० प्रतिशतमा कोरोना त्रास रहेको मेडिसिन विभागका श्वासप्रश्वास रोग विशेषज्ञ डा. निरज बमले बताए। विभागमा सातामा उपचारका लागि पुग्ने कुल ४ सय बिरामीमध्ये ३५ प्रतिशत मौसमी फ्लुका बिरामी छन्। ‘उनीहरु एकैछिन खोकी लागेकै भरमा कोरोना भयो कि भन्ने त्रासमा उपचारमा आएको देखिन्छ’, डा. बमले भने। यसरी आउने बिरामीलाई सामान्य उपचार र परामर्श दिएर पठाउने गरेको र जोखिमी पृष्ठभूमिका व्यक्तिलाई टेकु अस्पताल रेफर गर्ने गरेको उनले सुनाए। अस्पतालले केही दिनअघि फ्रान्सबाट आएका एक व्यक्तिलाई टेकु अस्पताल पठाएको थियो। सामान्य फ्लु भएकालाई पनि घरैमा आइसोलेसनमा बस्न सुझाव दिने गरेको डा. बमले बताए।

कोरोना समुदायमा फैलिनसकेको हुनाले निश्चित अवस्थामा मात्र कोरोनाको आशंका गर्न डा. पुनले सुझाव दिए। व्यक्ति कोरोना प्रभावित देशमा पुगेर आएको १४ दिनभित्र वा प्रभावित देशबाट आएका व्यक्तिको सम्पर्कमा पुगेपछि यस्ता लक्षण देखापरेमा भने तुरुन्त अस्पताल पुग्नुपर्ने उनले बताए। अन्यथा मौसमी फ्लु हुन सक्ने भएकाले धेरै आत्तिन नपर्ने उनको सुझाव छ। ‘कोरोना प्रभावित देशको समाचार हेरेर आफू त्यही देशमा छु जस्तो गरी सोच्नु भएन’, उनले भने।

यसैबीच कोरोना संक्रमणको आशंकामा पछिल्लोपटक १८ जनाको नमुना परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका सूचना अधिकृत डा. राजेश गुप्ताले बताए। यी नमुना उपत्यकाका विभिन्न अस्पताल र उपत्यकाबाहिरबाट संकलन गरिएका थिए।

प्रकाशित: ४ चैत्र २०७६ ०१:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App