३० वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

८ लाख तिर्न नसकेपछि थुनामा

काठमाडौं – कृषि विकास बैंक शाखाका तत्कालीन ऋण शाखा प्रमुख गोपाल गिरीले विशेष अदालत काठमाडौंले तोकेको धरौटी तिर्न नसकेपछि थुनामा गएका छन्। विशेष अदालतका अध्यक्ष एवं न्यायाधीश शिवराज अधिकारी, न्यायाधीशहरू बालेन्द्र रुपाखेती, रवी शर्मा अर्यालको इजलासले आइतबार गिरीलाई ८ लाख रुपैयाँ धरौटी तिरी साधारण तारेखमा बस्न आदेश दिएका थिए।

थुनछेक बहसपछि अदालतले तोकेको धरौटी नतिरी गिरी आफूखुसी थुनामा गएको विशेष अदालतले जानकारी दिएको छ। गिरीलाई कृषि विकास बैंक न्यूरोड शाखाबाट कर्मचारीसमेतको मिलेमतोमा बैंकको रकम निकाली हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेको थियो।

अख्तियारले गिरीलाई २ करोड ६१ लाख १९ हजार रुपैयाँ मागदाबीसहित आरोपपत्र दर्ता गरेको थियो। गिरीसहित कृषि विकास बैंक न्यूरोड शाखाका ८ जना कर्मचारीविरुद्ध अख्तियारले छुट्टाछुट्टै मागदाबीसहित आरोपपत्र दर्ता गरेका थिए।

अख्तियारले बैंकको ४ करोड ४२ लाख ७३ हजार रुपैयाँ दुरुपयोग गरेको ठहरसहित गत पुस २९ मा आरोपपत्र दर्ता गरिएको थियो। अख्तियारले अनुसन्धानको क्रममा आरोपी दिपिका रेग्मी, प्रेमहरी ढुंगेल, गोपाल गिरी, महेश्वर मरहट्ठा, सलिल रेग्मी, तारानाथ पाण्डे, रमेशराज बिष्ट र प्रकाश घतानीसमेतले एक आपसमा सरसल्लाह, सहमति र मिलेमतो गरी बैंकबाट रकम निकाली मासेको भेटाएको बताएको थियो। कृषि विकास बैंकमा रहेको रकम झिक्ने, राख्ने प्रक्रिया मिलाएर निकालिएको उक्त रकम भाग लगाई हिस्सा लिएको अख्तियारको दाबी थियो।

बैंकमा आएको चेक नहेरी सच्याइएको, कागजातका आधारमा चेक सदर गरेको देखिएको अख्तियारको दाबी छ। कर्मचारी सबैको मिलेमतोमा राष्ट्र बैंकको निर्देशिकाविपरीत चेक क्लियरिङको काम गरेका थिए। त्यसबाट प्राप्त रकम भागबण्डा गरी कृषि विकास बैंकलाई ४ करोड २४ लाख १३ हजार ६ सय ११ रुपैयाँ हिनामिना गरेको पुष्टि हुन आएको अख्तियारको आरोपपत्रमा दाबी छ।

प्रकाशित: ३ चैत्र २०७६ ०२:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App