१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

तिलौराकोट नै बुद्धको क्रीडास्थल भएको पुष्टि हुँदै

तिलौराकोटमा उत्खनन गरिँदै। तस्बिर ः किरणमान/नागरिक

कपिलवस्तु - तिलौराकोट नै बुद्धको क्रीडास्थल र राजा सुद्धोदनको दरबार रहेको पुष्टि हुँदै गएको छ। भारतले पिपराहवामा नक्कली कपिलस्तु खडा गरिरहेको बेला तिलौराकोट नै बुद्धको दरबार रहेको अध्ययन अनुसन्धानबाट प्रमाणित भएको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरातत्वविद्हरू बताउँछन्।

तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन बुद्धको क्रीडास्थल तिलौराकोटमा नौ वर्षदेखि उत्खनन र अनुसन्धान जारी छ। यस वर्ष राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूको टोलीले गरेको उत्खनन कार्य सम्पन्न भएको छ। जापानिज फन्ड इन ट्रस्टको सहयोगमा र युनेस्कोको संयोजनामा बेलायतको दुर्हम विश्वविद्यालय र पुरातत्व विभागको पुरातत्वविद्को टोलीले उत्खनन र अनुसन्धान गरेको हो।

यस पटक पनि वैज्ञानिक तरिकाले उत्खनन, अन्वेषण, भूभौतिक सर्भे, ड्रोन फोटोग्राफी, फिल्ड वाकिङ सोसोइकनोमिक सर्भे, भिजिटर सर्भे गरी अध्ययन अनुसन्धान गरिएको थियो। विभाग र कोषले सन २०१२ देखि उत्खनन तथा अनुसन्धान कार्य थालेको थियो। वैज्ञानिक तरिकाले गरिएको उत्खनन र अनुसन्धानबाट तिलौराकोट नै प्राचीन कपिलवस्तुको राजधानी रहेको पुष्टि हुँदै गएको पुरातत्व विभागका प्रमुख पुरातत्व अधिकृत रामबहादुर कुँवरले बताए।

तलौराकोट र त्यसवरिपरि पूरै ऐतिहासिक प्रमाणहरूले भरिएका छन्। पूर्ण उत्खननबाट तिलौराकोटको प्राचीन कालक्रम पत्ता लाग्ने र भित्र प्रवेश गर्नासाथ प्राचीन सहरको ऐतिहासिक रुपरेखा देख्न सकिनेछ।

कपिलवस्तु संग्रहालयमा आयोजित कार्यक्रममा उत्खननको उपलब्धिबारे जानकारी गराउँदै कुवरले यस वर्षको उत्खननमा पर्याप्त प्रमाण आधारहरू भेटिएको बताए। अधिकृत कुँवरका अनुसार यस वर्ष मध्य भागको पर्खाल परिसर, सयमाई मन्दिर छेउ, कन्थक स्तुपा, शिवगढ र उत्ती क्षेत्रको बसोबास क्षेत्रमा उत्खनन गरी अनुसन्धान गरिएको थियो। यसअघिको उत्खननबाट भेटिएको सय गुना सयको पर्खालको थप बिस्तार गर्दा पर्खाल परिसर मौर्यकालीन रहेको प्रमाणहरू भेटिएको छ।

उत्खननका क्रममा थप प्रमाणहरू भेटिएको कुँवरले बताए। यसअघि जापानिज फन्ड इन ट्रस्टको सहयोगमा लगतार चार वर्षदेखि उत्खनन गरिएको थियो। अहिलेसम्मको अध्ययनले तिलौराकोटको पहिचान स्थापित गराउन धेरै मद्दत मिलेको पुरातत्व तथा उत्खनन परियोजनाका सहसंयोजक कोषप्रसाद आचार्यले बताए। तिलौराकोटभित्र र बाहिर गरिएको वैज्ञानिक अध्ययनबाट निकै उपलब्धि मिलेको उनको भनाइ छ।

‘तिलौराकोटमा भेटिएका पुरातात्विक वस्तुहरूले यसको ऐतिहासिक प्रमाणिकता पुष्टि हुँदै गएको छ,’ उनले भने। तिलौराकोटमा बुद्धकालीन समयभन्दा अघि एउटा सुन्दर सहर रहेको धमाधम प्रमाणहरू फेला पर्नुलाई राम्रो संकेत मानिएको उनले बताए। उत्खनन र अन्वेषणबारे आउने अन्तिम प्रतिवेदनले तिलौराकोटको ऐतिहासिकताको टुंगो लाग्ने उनको विश्वास छ। सन् १९६२ मा भारतीय पुरातत्वविद् देवला मित्राले तिलौराकोटमा उत्खनन गरी यस ठाउँमा दोस्रो सताब्दीको सहर भएको प्रतिवेदनमा उल्लेख गरेकी थिइन्।

उनले नै उत्खनन गरेका स्थानको थप उत्खनन गरी अध्ययन गरिएपछि सातौं शताब्दीको प्राचीन खाँबोको प्वालहरू भेटिएको दुर्हम विश्वविद्यालयका प्रोफेसर रविन कनिंघमले बताए। उनका अनुसार विगत चार वर्षको कार्यबाट तिलौराकोट प्राचीन सहर रहेको पुष्टि भएको छ। सय गुना सयको देवाला पोखरी, हतियार बनाउने उद्योग, बाटाहरूको भग्नावशेष, मौर्यकालीन चाँदीको सिक्कालगायत वस्तुहरू फेला पारिएकाले आफूहरू निकै उत्साहित भएको उनले बताए।

‘तिलौराकोट र त्यसवरिपरि पूरै ऐतिहासिक प्रमाणहरूले भरिएका छन्, अध्ययनने धमाधम पुष्टि हुँदै गएको छ,’ उनले भने। उत्खननबाट तिलौराकोटको प्राचीन कालक्रम पत्ता लाग्ने र भित्र प्रवेश गर्नासाथ प्राचीन सहरको ऐतिहासिक रुपरेखा देख्न सकिने उनले बताए। उपेक्षित रहेको तिलौराकोट अहिलेको उत्खननपछि प्राचीन सहरको झझल्को दिने गरी परिर्वतित हुने हुँदा यसक्षेत्रको विकासमा कोसेढुंगा सावित हुने पुरातत्वविद् कोषप्रसाद आचार्य बताउँछन्। ‘तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न प्रस्तावित गरिएको छ, यसका लागि आवश्यक प्रमाण र कागजातहरू जुटाउने कामसमेत गर्दैर्छौं,’ आचार्यले भने। अगामी चार वर्षभित्र तिलौराकोटको संरक्षण गरी हेर्नलायक ठाउँ बनाइने उनको भनाइ छ।

लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठीले जारी उत्खननले तिलौराकोटको ऐतिहासिकता पुष्टि हुँदै जाने बताए। कार्यक्रममा प्रदेश ५ का प्रदेश सदस्य धरमबहादुर श्रीवास्तवले तिलौराकोटको विकासका लागि आफूहरूले सक्दो पहल गर्ने बताए। श्रीवास्तवले तिलौराकोटको विकासमा अब ढिलाइ गर्न नहुने र यसको विकासका लागि आफूहरूले जोडदार रूपमा आवाज उठाउने बताए।

सो अवसरमा प्रजिअ दीर्घनारायण पौडेलले तीनवटा बुद्धको कर्मथलोका रूपमा रहेको प्राचीन कपिलवस्तुको विकासमा सबैले हातेमालो गर्नुपर्ने बताए। उत्खनन टोलीमा २० बढी विद्यार्थी सहभागी थिए। त्यस्तै, त्रिभुवन विश्वविद्यालय स्नातकोत्तरमा संस्कृति विषय अध्ययनरत विद्यार्थी र लुम्बिनी विश्वविद्यालयका विद्यार्थी पनि सहभागी हुनेछन्। तिलौराकोटका राजा सुद्धोदनको राजप्रासाद तथा भगवान् गौतम बुद्धले २९ वर्षको युवा अवस्था बिताएको स्थलका रूपमा र कन्थक स्तुपा बुद्धले चढ्ने घोडाको समाधीस्थलका रूपमा मानिएका छन्।

प्रकाशित: २ चैत्र २०७६ ०१:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App