coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

बेपत्ता छोरा १९ वर्षमा फर्किएपछि...

आमा डिलकुमारी र उनका छोरा । तस्बिर : विनोद/नागरिक

दुलेगौँडा– सेती नदी र क्याङदी खोला किनारको बिचको बस्ती शुक्लागण्डकी नगरपालिका–८ मालेबगरमा खुशीको रौनक छ। अर्काे खुसी त यो बस्तीकी डिलकुमारी मल्ललाई छ। १९ वर्षदेखि हराएका उनका कान्छा छोरा मनबहादुर शुक्रबार घर सम्झिएर आए। त्यसपछि डिलकुमारको मन सान्ता भएको हो।

दुई नदीको तिरको बस्तीमा निलो टिनले छाएको चिटिक्क एक कोठे घर छ, डिलकुमारीको। उनको घरसँगै जोडिएको छ साहिलो छोराको घर। शुक्रबार विहानदेखि यी दुई घरमा गाउँलेहरूको आउजाउ बाक्लिएको छ। छोरालाई सम्झेर सधैँ रोईरहने बुढी आमा डिलकुमारलाई देखेर गाउँलेहरूले खुसी साटीरहेका छन्।

गाउँलेहरुले मनबहादुरलाई भन्छन्, –‘अब फेरी घर गाउँ छाडेर बेपत्ता नहुनु है, आमाले साह्रै पीर गर्नुहुन्छ। डाँडामाथिको जुनघाम जस्तै भईसकेको आमालाई छाडेर कतै नजानुस्।’

मनबहादुर २०५७ सालमा दसैं मनाएर रोजगारीको लागि भारत गएक थिए। त्यसपछि उनी झण्डै दुईदशक परिवारसँग सम्पर्कविहीन भए। ‘१२ वर्षमा त खोला पनि फर्कन्छ’ भन्ने सुनेकी डिलकुमारीको धन कमाउन भारत गएका छोरा फर्किएनन्। त्यस दिनदेखि डिलकुमारीको आँखामा आँशु टुटेको थिएनन्। शुक्रबार छोरा घर फर्किएपछि उनको आँखामा आँशु रोखिएको छ।

‘१९ वर्षपछि मेरो छोरालाई देख्न पाएँ। खुसीले आँशु थामिएनन्। छोरालाई देखेपछि मन भक्कानियो। एक्कासी झम्टिएर रोएछु’,  उनले नागरिसँगको कुराकानीमा भनिन्।

छोरा हराएपछि धेरै ठाउँमा सोधखोज गरेको उनले सुनाईन्। गाउँलेहरूले समेत लागि परेर खोजे। भारतमा गएर पनि धेरैपटक खोजिएको थियो। तर अत्तोपत्तो नहुँदा पनि यत्तिका वर्षसम्म छोराको आश नमारेको उनले बताईन्। ‘एक दिन त के नआउला जस्तो लाग्थ्यो। ज्योतिषले पनि २२ वर्षमा घर आउँछ भनेको थियो, १९ वर्षमै आयो’, डिलकुमारीले हाँस्दै भनिन्।

गाउँमा झोला बोकेर कोही नयाँ मान्छे आइहाले छोरा आयो कि भनेर बाटो हेरिराख्थिन् रे। ‘राति सपनी छोरा झल्यास्स देखिन्थ्यो’, उनले भनिन्, ‘विपनीमा पनि आउँछ भन्ने आश थियो। तर, त्यो दिन आज आयो मेरो मन शान्ता भएको छ।’

डिलकुमारीका चार छोरा र एक छोरी हुन्। जेठा छोराको गतवर्ष मृत्यु भइसकेको छ। घरभरी छोराछोरी जति भएपनि कान्छालाई बिर्सन नसकेको उनको भनाई छ। ‘सधैँ यही छोराको चिन्ता थियो। ‘आमालाई सबै छोराछोरीको उत्तिकै माया लाग्छ। मेरो कान्छा छेरा हराउँदा मलाई पीर लागिरेको थियो। तर म जिउँदो हुदै आयो’, उनले भनिन्।

१८ वर्षसम्म भारततिरै कपडा उद्योगमा काम गरेर बसेको मनबहादुरले बताए। लामो समयसम्म गाउँघर र परिवार बिर्सनु भएछ त भन्ने प्रश्नमा उनले भने, ‘गाउँ बिर्सेको हैन। घर फर्कने पैसा नभएर उतै बसेको हुँ।’ एक वर्षअघि बिरगंज आएका उनले अटो रिक्सा चलाउने गरेको सुनाए।

१९ वर्षसम्म बेपत्ता उनी घर फर्कदा गाउँमा हर्ष छाएको स्थानीय भद्र मगरले बताए। ‘फिल्ममा जस्तै भाई घर फर्केर आयो।  हामीसबैलाई सपना जस्तो लागेको छ। मनबहादुर आएको खुशीयालीमा हिजो राति नाचगान गरियो’, उनले भने।  


 

 

प्रकाशित: १ चैत्र २०७६ १२:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App