८ वैशाख २०८१ शनिबार
समाज

१७ लाख घुस बाँडफाँड गर्दागर्दै नापीका अधिकृतसहित ६ जना पक्राउ

भैरहवा - रुपन्देहीमा घुससहित छ जना पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलबाट खटिएको टोलीले नापी कार्यालय रुपन्देहीका नापी अधिकृत सरोज श्रेष्ठसहित ६ जनालाई १७ लाख घुससहित पक्राउ गरेको हो।

जग्गाको कित्ताकाटमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसंग पैसा लिएका श्रेष्ठसहित ६ जनालाई पक्राउ गरिएको अख्तियार बुटवल कार्यालयका प्रवक्ता सुरेश भुषालले बताए। शुक्रबार दिउसो सवा २ बजे सिद्धार्थनगर नगरपालिका वडा नं १३ भैरहवा बसपार्कस्थित अशोका होटल नजिकको एक होटलबाट उनीहरुलाई पक्राउ गरिएको हो । 

पक्राउ पर्नेमा नापी अधिकृत सरोज श्रेष्ठ, सर्भेक्षक तिर्थराम भण्डारी, सर्भेक्षक थानेश्वर चौधरी त्यस्तै मालपोत कार्यालयका नायब सुब्ब धर्मराज पन्थी, लेखापढी व्यवसायी जीवन शर्मा र मतियार राज कुमार अर्यालरहेका छन्। होटलमा रकम बाँडफाँड गर्दै गर्दा उनीहरुको साथबाट नगद १७ लाख रुपैया बरामद गरिएको हो । दिउँसै पक्राउ परेपनि रकम धेरै भएकोले रुजु गर्दा मुचुल्का बनाउदा साँझ मात्र सार्वजनिक गरिएको अख्तियारले जनाएको छ। पक्राउ परेका ६ जनालाई नै थप अनुसन्धानका लागि नियन्त्रणमा राखिएको छ।

प्रकाशित: ३० फाल्गुन २०७६ १४:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App