९ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

निरन्तर असुविधासँग जुध्दै लेकाली जीवन

ताप्लेजुङको फक्तालुङ गाउँपालिकास्थित खम्बाचेनमा बिरामी जाँच्दै डाक्टर मोगल यल्मो। इलामको मंगलबारे प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत उनले कञ्चनजंघा पदयात्राको क्रममा बिरामीको जाँच गरेको हुन्। तस्बिर: गिरिराज/नागरिक

पाँचथर –  पाँचथरको उत्तरी याङवरक गाउँपालिकास्थित लक्ष्मीगाँउकी राममाया  भटराईलाई विद्यालय पुग्न डेढ घण्टा लाग्छ। कक्षा–५ मा पढ्ने उनी जंगलै जंगल भएका अनकङ्टार ठाँउको अफ्ठ्यारो उकालो–ओरोलो छिचोल्दै बर्मे भन्ने ठाँउमा रहेको तिम्बु पोखरी आधारभुत विद्यालयमा अध्ययन गर्न पुग्छिन्। सुनसान लेकको मौसमको भर हुदैन, जंगली जनवारको त्रास उत्तिकै हुन्छ। तर उनको पढ्नका लागि धाएर उक्त विद्यालय जानुको विकल्प छैन। ताप्लेजुङ र पाँचथरका हिमाली एवं उच्च पहाडी क्षेत्रका विद्यार्थीहरू सबैको लगभग यस्तै बाध्यता छ। पातला घर तथा गोठमा रहेका यस क्षेत्रका बासिन्दाले भरपर्दो रोजगारीको कुरा छोडौं स्वास्थ्य, शिक्षाजस्ता आधारभूत आवश्यकता पूरा गर्नका लागि पनि निकै संघर्ष गर्नुपर्ने अवस्था छ। सानोतिनो औषधिमुलो गर्न समस्या हुन्छ। लेकाली क्षेत्रमा आर्थिक अवस्था सबल हुनेहरू बाहिर लगेर छोराछोरी पठाउँछन्। आर्थिक अवस्था कमजोर भएकाहरूले निकै टाढा धाएर विद्यालय पठाउनुपर्ने बाध्यता छ। बिरामी हुँदा प्राथमिक उपचारसमेत पाउन नसकेर घरेलु उपचारमा भर पर्नुपर्ने बाध्यता छ।

गत कात्तिकमा ताप्लेजुङको हेल्लोकबाट ज्वरो आएकी नानीलाई उपचार गर्न माया राई दुई घण्टा हिडेर लेलेप जाँदै थिइन्। बाटोमा नानी बोकेर हिँडिरहेको बेला भेटिएकी उनले ज्वरो बढ्दै गएपछि उपचारको लागि ल्याएको सुनाइन्। निको हुन्छ कि भनेर कुर्दा निको नभएपछि उपचारका लागि लेलेपतिर हिँडेको उनले सुनाएकी थिई।

त्यही साता जापानटारकी इटेन शेर्पालाई काम गर्दैगर्दा खुट्टामा काँटीले घोच्यो। लेलेपमा रहेको स्वास्थ्य केन्द्रमा टिटानसको खोप थिएन। फक्तालुङ गाउँपालिकाको केन्द्र तापेथोकमा रहेको स्वास्थ्य केन्द्रमा पनि खोप नभएपछि सदरमुकाम फुङलिङबाट खोप झिकाउनुप-यो। आधारभूत सुविधा अभावमा लेकाली क्षेत्रका बासिन्दाको जीवन कष्टकर बनेको यी केही उदाहरण मात्र हुन्। यस क्षेत्रका बासिन्दाको जीवन स्वास्थ्य तथा शिक्षाको असुविधासँग जुध्दै बितिरहेको छ।

आधारभूत सुविधा अभावमा लेकाली क्षेत्रकको जनजीवन कष्टकर बनेको छ। यस क्षेत्रका बासिन्दाको जीवन स्वास्थ्य तथा शिक्षाको असुविधासँग जुध्दै बितिरहेको छ।

कञ्चनजंघा बेस–क्याम्प जाने बाटोमा घुन्सादेखि माथि स्वास्थ्य केन्द्र भेटिँदैन। लेकाली क्षेत्रमा रक्तचाप, ज्वारो नाप्ने सामान्य उपकरणसमेत पाइँदैन। सिटामोल पाउन पनि कठिन छ। जस्तोसुकै बिरामीलाई पनि उपचारका लागि सदरमुकाम ल्याउनुपर्ने बाध्यता छ। त्यसो त पाँचथर, ताप्लेजुङ सदरमुकाममै पनि उपचार गर्ने गतिलो स्वास्थ्य संस्था छैन। ऋणपान गरेर तराईका महँगा अस्पतालमा पुग्नुपर्ने बाध्यता ज्युँका त्युँ छ।

लेकाली क्षेत्रमा गोठ राखेर चौरीलगायत पशुपालन गरिन्छ। उच्च पहाडी क्षेत्रमा खेतीकिसानी गरेर बसेका परिवारहरू छन्। उनीहरू बालबच्चालाई पठाउन र स्वास्थ्य उपचारका लागि समस्यामा पर्छन्। छोराछोरी पढाइ तथा सुविधाका लागि बसाइँ सर्नेहरूको संख्या पनि उत्तिकै छ।

लेकाली क्षेत्रमा शिक्षा र स्वास्थ्यको असुविधा भएको सिदिंवा गाउँपालिकाको कालीखोलाका भीम भण्डारी बताउँछन्। ‘नानीहरूले प्राथमिक शिक्षा पढ्नका लागि टाढाटाढा धाएर जानुपर्छ। मावि तथा उच्चमावि पढ्नलाई डेरा नै राखेर पढाउनुपर्ने बाध्यता छ,’ भण्डारी भन्छन्, ‘हाम्रो प्राथमिक उपचार त घरेलु उपचार नै हो। स्वास्थ्यमा ठुलै समस्या भए धाएर सदरमुकाम वा मधेस जानुको विकल्प छैन। ताप्लेजुङ सिदिंमा गाविसमा पर्ने साविकको लीखोला गाविसमा तीनवटा आधारभूत विद्यालय रहेका छन्। आधारभूतभन्दा माथिको शिक्षा लिनका लागि बाहिर राख्नु पर्ने अवस्था छ।

उच्च पहाडी तथा हिमाली क्षेत्रमा चौरी, भेडापालनलगायत कामबाट आम्दानी राम्रो भए पनि शिक्षा तथा स्वास्थ्यसम्बन्धी असुविधाले युवापुस्ताको आकर्षण बढ्न नसकेको सुनाउँछन् पाँचथर चाररातेका जंग राई। पाँचथरका फालेलुङ, याङवरक, ताप्लेजुङ सिदिंवा, शिरिजंगा, फक्तालुङ, मिक्वाखोला, मिरिङदेन, मैवाखोलालगायत गाउँपालिकाका लेकाली क्षेत्रमा शिक्षा र स्वास्थ्यमा सकस रहेको छ। भौगोलिक विकटतासँग जनजीवनमा शिक्षा र स्वास्थ्यको पहुँच छैन।

यहाँका उच्च पहाडी क्षेत्रका विद्यार्थीले सहज रुपमा विद्यालय जान पाउँदैनन्। विद्यालय एकदमै टाढा पर्छ। भएका विद्यालयमा पनि राम्रोसँग पठनपाठन हुँदैन। गोठ पाल्ने तथा खेतीपाती गर्नेहरूका छोराछोरीले राम्रो शिक्षाको अवसर पाउँदैनन्। जिल्लाको उच्च पहाडी क्षेत्रमा पातलो भए पनि धेरै बस्ती रहेका छन्। विद्यालय बाक्लो बस्तीतिर हुने भएकाले धाएर पढ्न समस्या देखिन्छ। त्यसमाथि लेकाली क्षेत्रका विद्यार्थीहरूले माध्यमिक तहसमेत पूरा नगरी बीचैमा विद्यालय छाड्ने गरेका छन्। गोठकै काममा रमाएर पढ्न छाड्ने गरेको पाइन्छ। पाँचथरको गंगवा माविमा कक्षा पाँचमा पढ्दापढ्दै सन्देश राईले स्कुल छाडिदिए। १३ वर्ष पुगेका उनी यतिबेला भेडीगोठ स्याहार्दै छन्। भेडीगोठमा भेटिएका सन्देशले विद्यालय धाउन मन नलागेर बुबाआमालाई काम सघाउन थालेको बताए। यस्तै समस्या ब्यहोर्ने अर्का विद्यार्थी हुन् रविन राई। कक्षा सातमा पढ्ने उनी एक वर्षयता डेरामा बसेर पढिरहेका छन्। विद्यालय टाढा हुँदा घरभन्दा टाढा बस्नुपरेको उनले सुनाए।

ताप्लेजुङको तापेथोकका १६ वर्षीय नारायण लिम्बु पढ्न छाडेर कञ्चनजंगा बेस–क्याम्प क्षेत्रमा भारी बोक्ने काम गर्छन्। उनीजस्तै विद्यालय छाडेर लेकाली क्षेत्रमा काम गरिरहेकाहरू प्रशस्त भेटिन्छन्। कतिपय विद्यार्थी दुःख गरेर पढिरहेका पनि देखिन्छन्। ताप्लेजुङको घुन्सास्थित विद्यालयलाई आवासीय बनाइएको छ। पाँचथरको च्याङथापुमा रहेको विष्णु मावि र नाम्रेक माविमा दुवै जिल्लाका विभिन्न गाउँका विद्यार्थी डेरा बसेर पढ्न बाध्य छन्। विद्यार्थी कम हुने हुँदा लेकाली क्षेत्रका विद्यालयहरू मर्जसमेत गरिएको छ। घरभन्दा टाढा बसेर पढ्दा निगरानी नहुने हुँदा शैक्षिक गुणस्तरमा वृद्धि हुन नसक्ने बर्मेका पदम भट्टराई बताउँछन्। लेकाली क्षेत्रका बालबालिकालाई पढाउनै समस्या हुने गरेको उनले सुनाए।

ताप्लेजुङमा गत वर्ष आठ जना र पछिल्लो तीन वर्षमा १३ जना सुत्केरी महिलाको मृत्यु भएको सरकारी तथ्यांक छ। यीमध्ये आधाजसो लेकाली क्षेत्रका छन्। समयमै स्वास्थ्य केन्द्रमा पु¥याउन नसक्दा उनीहरूको मृत्यु भएको पाइन्छ। हिमालीक्षेत्रबाट बिरामीलाई सदरमुकाम ल्याउन समस्या हुन्छ। तत्काल बिरामीलाई स्वास्थ्य संस्था लैजान सबैसँग हेलिकप्टर प्रयोग गर्न सक्ने अवस्था हुँदैन। ‘बिरामी भइयो भने च्याङ्थापु वा सिक्किमको उत्तरे जानुपर्छ। हिँडेर चार घण्टा लाग्छ। गाडी पाइँदैन,’ पाँचथरको याङवरक पानीभित्तका पेम्बा शेर्पाले भने ‘सिकिस्त बिरामी भइयो भने बाँच्न गाह्रो छ।’

प्रकाशित: ३० फाल्गुन २०७६ ०१:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App