१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

कोरोनाबाट आतंकित नभई सतर्क हुन सुझाव

काठमाडौं – कोरोना भाइरसबाट आतंकित हुनुपर्ने अवस्था नरहेको तर सतर्कता अपनाउनुपर्ने चिकित्सकले सुझाएका छन्। उनीहरूले नेपालमा आतंकित हुनुपर्ने अवस्था अहिलेसम्म नभएको बताए। मंगलबार संवाद डबलीले आयोजना गरेको कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले कोरोना भाइरसको सम्भावित संक्रमणपछि अपनाउनुपर्ने सबै तयारी सरकारले गरेको बताए। उनले भने, ‘नेपालमा कोराना भाइरसको निकै प्रभाव परेको छ। तर आत्तिनुपर्ने अवस्था छैन।’ आतंकित हुने गरी समाचारलाई सम्प्रेशण नगर्न संचारमाध्यमलाई आग्रह समेत गरे। स्वास्थ्य मन्त्रालयले तीनवटै सरकारसँग समन्वय गरेर कोरोना भाइरसविरुद्ध तयारी गरिरहेको र सबै ठाउँमा हेल्थ डेक्स राखिसकेको जानकारी दिए।

हालै चीनको वुहानबाट कोरोना भाइरसको अनुसन्धानमा गएर फर्किएका डा. रमेश आचार्यले ज्वरो र रुघाखोकी लाग्दैमा आत्तिनु नपर्ने बताए। उनले भने, ‘एकैपटक १०२ डिग्री ज्वरो आउनु कोरोनाको पहिलो मुख्य लक्षण हो। श्वासप्रशासमा समस्या र सुख्खा खोकी लागिरहने पनि कोराना भाइरको लक्षण हो।’ आफूलाई शंका लागेको अवस्थामा तुरुन्त स्वास्थ्य संस्थामा गएर जाँच गराउन सुझाव उनले सझाव दिए।

वुहानमा कोरोना भाइरसका बिरामीको उपचारमा खटिएर फर्किएका डा. आचार्यले चीन सरकारको सतर्कताका कारण रोग नियन्त्रणमा आएको बताए। चीन सरकारले एक हप्ता १० दिनभित्रमा चीन कोरोनामुक्क्त हुने बताएको छ। कोरोनाबाट डराउनुभन्दा सतर्कता अपाउन आचार्यले सुझाव दिए। एक हप्तासम्म भाइरस जीवित हुनसक्ने भएकोले विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ। डा. आचार्यले सबै नेपालीले थर्माेमिटर किनेर राख्न सुझावसमेत दिए। उनले भने, ‘नेपालमा कुनै पनि बेला कोरोना संक्रमण हुनसक्ने सम्भावना छ। भीडभाड हुने सपिङ मल, डिपार्टमेन्ट स्टोरलगायतमा जाँदा सावधानी अपनाउनपर्छ।’

डा. आचार्यले जीवाणु सर्नसक्ने सम्भावना रहेका कारण मन्दिर जाँदा खाली खुट्टा नजान सुझाव दिए। कोरोना भाइरसको संक्रमणबाट नेपालमा धेरै मन्दिर र मस्जिद बन्द गर्न वा खाली खुट्टा नहिँड्ने व्यवस्था गर्नसमेत उनले सरकारलाई सुझाव दिए। ‘हामी देशमा धेरै मन्दिर, मस्जिद र गुम्बा छन्। त्यहाँ दैनिक भीडभाड हुन्छ। खाली खुट्टा हिँड्ने भएकोले भाइरस संक्रमणको जोखिम उच्च रहन्छ, यसमा सावधानी अपनाउन जरुरी छ,’ आचार्यले भने। कोरोनाको शंका लागेका बिरामीलाई सरकारले तुरुन्तै स्वास्थ्य संस्थामा पु-याउने व्यवस्था गर्नुपर्ने बताए।

त्यसैगरी स्वास्थ्य तथा विज्ञान व्यवसायी संघका अध्यक्ष नवराज बस्नेतले बजारमा मास्क तथा सेनिटाइजरको कालोबजारी भएको बताए। उनले भने, ‘मागअनुसार मास्क आपूर्ति हुन सकेको छैन। यसमा सरकारको ध्यान जान जरुरी छ।’ मास्क देशमा उत्पादन नहुने र बाहिरबाट ल्याउने गरिएको र उतै मूल्य बढेकोले पूरानै मूल्यमा व्यवसायीले दिन नसकेको बताए।

निःशुल्क मास्क वितरण अभियान
विश्वमा कोराना भाइरसको संक्रमणका कारण मास्कको अभाव देखिएसँगै कालो बजारी सुरु भएको छ। नेपाल विद्यार्थी संघले कोरोना भाइरसको प्रकोपबाट बच्नका लागि काठमाडौंको बानेश्वरमा सर्वसाधारणलाई एक हजार मास्क वितरण गरेको थियो। संघले कोरोना भाइरसको संक्रमणको आतंकमा नपरी आफू सचेत रहनुपर्ने भन्दै मास्क वितरण गरिएको नेपाल विद्यार्थी संघका नेता अनुराग शाहले बताए। उनले भने, ‘कोरानाको संक्रमणबाट बच्न सवारीचालक, यात्रुलगायत सर्वसाधारण मानिसलाई १ हजार मास्क वितरण गरीएको हो। कोरोनाको संक्रमणबाट उच्च जोखिमबाट बच्न मास्कको प्रयोग गर्न वितरण गरेका हौं। नेपाल विद्यार्थी संघ भ्याली इन्जिनियरिङ क्याम्पसले सुरु गरेको यो निःशुल्क मास्क वितरण कार्यक्रमलाई नेपाल विद्यार्थी संघले देशभर सञ्चालन गर्ने पनि शाहले जानकारी दिए।

बजारमा मास्कको अभाव भइरहेका बेला हन्ड्रेडस् गु्रपले सडकमा खटिएका ट्राफिक प्रहरी, सार्वजनिक यातायातका चालक तथा सहचालक एवम् यात्रुलाई निःशुल्क माक्स वितरण गरेको हो। काठमाडौंको बानेश्वरबाट सुरु भएको कोरोना सचेतना तथा मास्क वितरण अभियानअन्तर्गत दोस्रो चरणमा कलंकी लगायत अन्य ठाउँमा निःशुल्क मास्क वितरण गरेको संस्थाका अभियानता वीक्रम ओलीले बताए। उनले भने, ‘विश्व कोरोना भाइरसको संक्रमणमा ग्रस्त भएको बेला नेपाल त्रासमा परेको छ। यसका धेरै डराउनुपर्ने अवस्था भने छैन।’

प्रकाशित: २८ फाल्गुन २०७६ ०१:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App