२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

अनामनगरस्थित ७ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा

काठमाडौं - अनामनगरस्थित धोबीखोलासँगै रहेको करिब ७ रोपनी जग्गा व्यक्तिको नाममा दर्ता भएको तथ्य फेला परेको छ। अनामनगरमा धोबीखोला नदी उकासको जग्गा करिब २५ जनाले अतिक्रमणगरी आफ्नो नाममा कायम गराएको पाइएको हो।

भूमि सूधार तथा व्यवस्थापन मन्त्रालयद्वारा नापी विभागका तत्कालीन उपमहानिर्देशक कृष्णराज अधिकारीको संयोजकत्वमा गठित छानबिन प्रतिवेदनले धार परिवर्तन गर्न अघि बगेको धोबीखोलाको जग्गा कायम गर्दा जालसाजीपूर्ण ढंगले व्यक्ति विशेषका कित्तामा धोबीखोलाको जग्गा घुसाई व्यक्ति नाममा दर्ता गरेको ठहर गरेको छ। प्रतिवेदनले व्यक्तिको नाममा दर्ता भएकोे ठहर गरेका ती जग्गाको मूल्य करिब एक अर्ब रुपैयाा पर्ने देखिन्छ।

प्रतिवेदनमा उल्लेख भएअनुसार नदी उकासको उक्त सरकारी जग्गामध्ये कित्ता नम्बर ६४ को एक रोपनी १४ आना २ पैसा दुई दाम क्षेत्रफल जग्गा मालपोत कार्यालय डिल्लीबजारबाट २०६३ पुस १९ मा टेकबहादुर पौडेल र कुलबहादुर निरौलाको नाममा जग्गाधनी पुर्जा तयारीगरी उपलब्ध गराइएको छ। त्यस्तै कित्ता नम्बर ६३ को क्षेत्रफल १२ आना एक पैसा सरकारी जग्गा मालपोत कार्यालय डिल्लीबजारबाट २०६३ भदौ २० मा अग्निप्रसाद पौडेलको नाममा दर्ता गरी पूर्जा उपलब्ध गराइएको प्रतिवेदनमा उल्लेख छ। कित्ता नम्बर ८ को क्षेत्रफल ४ आना २ पैसा जग्गा मालपोत कार्यालय डिल्लीबजारबाट सहदेव रायामाझीको नाममा जग्गाधनी पुर्जा तयारगरी उपलब्ध गराइएको प्रतिवेदनमा जनाइएको छ।

खोलाको सरकारी जग्गा मालपोत कार्यालयका कर्मचारीको मिलेमतोमा क्षेत्रफल ३ आना २ पैसा २ दाम जग्गा २०६२ जेठ १२ मा निर्मला श्रेष्ठको नाममा दर्ता गरिएको छ। त्यस्तै कित्ता नम्बर ३१ को क्षेत्रफल १० आना जग्गा पनि निर्मला कै नाममा दर्ता गरिएको फेला परेको छ। त्यस्तै कित्ता नम्बर १ सय ८३ को क्षेत्रफल ५ आना ३ पैसा २ दाम र कित्ता नम्बर १ सय ८५ को क्षेत्रफल दुई पैसा २ दामगरी ६ आना २ पैसा जग्गा राजीव र आजीव श्रेष्ठको नाममा दर्ता खएको प्रतिवेदनमा उल्लेख छ।

कित्ता नम्बर ५५ को क्षेत्रफल ३ आना ३ पैसा २ दाम जग्गा मोहन महर्जनको नाममा दर्ता गरी २०६३ भदौ २३ मा मालपोत कार्यालय डिल्लीबजारबाट राजीनामा पासमार्फत बन्दना भट्टराईको नाममा कायम भएको छ। प्रतिवेदनले कित्ता नम्बर २९ को क्षेत्रफल ३ आना जग्गा सविता श्रेष्ठको नाममा दर्ता भइसकेको देखाएको छ। त्यस्तै खोलाको पर्ति उल्लेख भएको क्षेत्रफल ३ आना जग्गा रमेशकुमार श्रेष्ठको नाममा दर्ता भएको छ। ३ आना ३ दाम जग्गा कमानसिंह लामा, २ आना जग्गा शान्ति शेरचनको नाममा रहेको देखिन्छ। त्यसैगरी क्षेत्रफल एक रोपनी एक आना एक पैसा ३ दाम जग्गा इन्द्रबहादुर ब्रजाचार्यको नाममा रहेको प्रतिवेदनमा उल्लेख छ।

प्रतिवेदनका अनुसार कित्ता नम्बर ५० को क्षेत्रफल एक रोपनी ७ आना २ पैसा दुई दाम जग्गा मोहन श्रेष्ठको नाममा नापी नक्सा भएको छ। त्यस्तै कित्ता नम्बर एक सय १६ को ६ आना जग्गा वालकुमारीको नाममा गएको छ। कित्ता नम्बर एक सय सातको ३ आना जग्गा गणेशमालीको नाममा दर्ता भइ रिता तन्डुलकारको नाममा गएको प्रतिवेदनले जनाएको छ। कित्ता नम्बर २ सय १३ को क्षेत्रफल ८ आना जग्गा भने रबिन टन्डुलकारको नाममा दर्ता भएको उल्लेख छ। कित्ता नम्बर १ सय ६८ को क्षेत्रफल ५ आना ३ पैसा जग्गा तारानाथ लुइँटेलको नाममा नाप नक्सा भएको प्रतिवेदनले आंैल्याएको छ। रमादेवी खनालसमेत ६ जनाको नाममा दर्ता भएको क्षेत्रफल एक रोपनी ८ आना तीन दाम १ पैसा जग्गामध्ये ७ आना एक पैसा जग्गा नदी उकासको रहेको प्रतिवेदनको ठहर छ। त्यसैगरी कित्ता नम्बर १ सय ६५ को क्षेत्रफल ८ आना २ पैसा १ दाम जग्गा यमरल जंगमको नाममा नापी भएको उल्लेख छ। प्रतिवेदनका अनुसार कित्ता नम्बर २ सय ८० को क्षेत्रफल ३ आना ३ पैसा जग्गाको स्रेस्ता नभेटिए पनि नापीको प्लट रजिस्टरमा समुन्द्र नेम्बाङ र आनन्द नेम्बाङको नाममा कायम रहेको छ।

नदी उकासको जग्गा देखिएको कित्ता नम्बर ३ सय ११ को क्षेत्रफल ३ आना जग्गा विजय तन्डुकार र कित्ता नम्बर ३ सय १२ को जग्गा क्षेत्रफल ४ आना ३ पैसा जग्गा सुशिला शाक्यको नाममा कायम भएको प्रतिवेदनमा उल्लेख छ।
प्रतिवेदनमा धोबीखोलाले चर्चेको जग्गा रेखांकनगरी आसपासका कित्ताले अतिक्रमण गरिएको कित्ता र क्षेत्रफल उल्लेख गरिएको जनाउँदै उक्त क्षेत्रफलमा पुनः नापनक्सा हुँदा आसपासका जग्गा धनीले साविकको खोलाको जग्गा अतिक्रमणगरी घर, टहरा, पर्खाल बनाएको र खोलाको जग्गा छुट्टै कित्ता कायम नगरी अतिक्रमण भए अनुसार कित्ता कायम गरेको ठहर छ।

‘नापी गोश्वराले जग्गा दर्ताको अवस्थामा र नापी गोश्वराबाट मालपोत कार्यालय तथा नापी शाखामा स्रेस्ता हस्तान्तरणगरी सकेपछि साविक धोबीखोलाको जग्गा कायम गर्न हाल साविक गर्ने अवस्थामा साविक धोबीखोलाको जग्गा कायम गरेको देखिन्छ।’, प्रतिवेदनमा भनिएको छ, ‘यसरी साविक धोबीखोलाको जग्गा कायम गर्दा त्रुटिपूर्ण ढंगले साविकको कित्ता भिडाउने कार्यगरी व्यक्ति विशेषका कित्ता साविक धोबीखोलामा घुसाई जग्गा दर्ता गरेको देखिएको छ।’ उक्त जग्गामा सरकारी तथा स्रेस्ता कायम भइससकेको अवस्थामा गुठी संस्थान तथा व्यक्तिको नाममा कित्ताकाट गरी स्रेस्ता कायम भइ दोहोरो स्रेस्ता राखेकोसमेत प्रतिवेदनमा आैंल्याइएको छ।

२०४३ सालतिर धोबीखोलाले धार परिवर्तनगरी बानेश्वरतर्फ बग्न थाल्दा केही सरकारी जग्गामा धोबीखोला बगेको र पहिला खोला बगेको जग्गा नदी उकास हुन गएको थियो। नदी उकासमा परेको जग्गामध्ये ७ रोपनी जग्गा मालपोत कार्यालय डिल्लीबजारका कर्मचारीको मिलेमतोमा व्यक्तिको नाममा दर्ता भइसकेको प्रतिवेदनको ठहर छ।

अधिकारी संयोजकत्वको समितिले धोबीखोला जनाएको जग्गा सरकारी स्रेस्ता कायम हुनुपर्ने कित्ताहरू व्यक्ति विशेषको नाममा दर्ता गरिएको देखिएको भन्दै अधिकारी नेतृत्वका छानबिन समितिले कानुनविपरीत सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्न र सीमानासमेत फरक पर्नेगरी नक्सा बनाउने कार्यमा संलग्न कर्मचारीलाई समेत कारबाही गर्न सिफारिस गरेको छ। साथै समितिको प्रतिवेदनले व्यक्तिको नाममा दर्ता भएका जग्गाको कित्ता दर्ता बदर गरी धोबीखोलाको जग्गा यथावत राख्ने वयवस्था गर्नुपर्ने उल्लेख गरेको छ।

धोबीखोला जनिएका सरकारी जग्गाको स्रेस्ता यथावत राखी सरकारी सार्वजनिक जग्गाको कित्ताकाट गरी गुठी संस्थानको नाममा समेत जग्गाधनी कायम गरेको पाइएकाले उक्त जग्गा दर्तासम्बन्धी छानबिन गर्नुपर्ने समितिले सरकारलाई सुझाएको छ। २०६३ सालमा बनेको समितिले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण गर्न गठित उच्चस्तरीय आयोग(रावल आयोगको प्रतिवेदन)लाई पनि अध्ययनको आधार बनाएको उल्लेख गरेको छ।

२०२२ सालको नाप नक्सा अनुसार कित्ता नम्बर एक सय ४३ को २३ रोपनी सरकारी जग्गाको अवस्था अध्ययन तथा छानबिन गर्न गठित समितले २३ रोपनीमध्ये झन्डै ७ रोपनी जग्गा व्यक्ति विशेषको नाममा दर्ता भएको निष्कर्ष निकालेको देखिन्छ।

प्रकाशित: २५ फाल्गुन २०७६ ०१:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App