५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

भेडा–बाख्रा पाल्नेलाई ‘गोठालो भत्ता’

सुर्खेत- कालिकोटको पचालझरना गाउँपालिकाले भेडा–बाख्रा कृषकहरुलाई ‘गोठालो’ भत्ता दिन थालेको छ। गाउँपालिकालाई मासुमा आत्मनिर्भर बनाउँदै कृषकहरुको आयस्तर वृद्धि गर्ने उद्देश्यले ५५ भन्दामाथि भेडा–बाख्रा पाल्ने कृषकहरुलाई ‘गोठालो भत्ता’ दिन थालिएको अध्यक्ष खड्कराज सेजुवालले जानकारी दिए।

गाउँपालिकाले ५५ देखि ९९ सम्म भेडा–बाख्रा भएकाहरुलाई मासिक एक हजार, एक सयसम्मलाई दुई हजार र त्योभन्दामाथि भएकाहरुलाई थप भत्ताको व्यवस्था गरेको छ। ‘भेडा पाल्ने व्यवसायिक कृषकहरुलाई प्रोत्साहन गर्न, उनीहरुको आम्दानीमा वृद्धि गर्न र पालिकलाई मासुमा आत्मनिर्भर बनाउनका लागि गोठालो भत्ताको व्यवस्था गरिएको हो,’ अध्यक्ष सेजुवालले भने, ‘चालू आर्थिक वर्षदेखि नियमित भत्ता दिन थालेका छौं।’

गाउँपालिकाभर अहिले भेडा–बाख्रा पाल्नेको संख्या ५१ छ। ६० भन्दामाथि भेडा–बाख्रा पाल्ने कृषकको संख्या गाउँपालिकामा ४४ छ भने एक सयमाथि पाल्नेको संख्या सात रहेको छ। अध्यक्ष सेजुवालका अनुसार गाउँपालिकामा सबैभन्दा धेरै भेडा–बाख्रा पाल्ने विष्णुबहादुर शाही हुन्। उनले दुई सय ५५ भेडा–बाख्रा पालेका छन्। शाहीले मासिक चार हजार गोठालो भत्ता पाउँछन्। सरकारले भत्ता दिन थालेपछि थप भेडा–बाख्रा पाल्ने प्रेरणा मिलेको शाहीले बताए।

‘जति धेरै भेडा–बाख्रा पाल्यो, उतिधेरै भत्ता पाइने रहेछ,’ शाहीले भने, ‘अहिले दुई सय ५५ छन्, झन धेरै पाल्ने तयारीमा छु।’ गाउँपालिकाले कृषकका भेडा–बाख्राको संख्या यकिन गरेर भत्ता दिने गरेको छ। ‘भत्ता दिनुअघि कृषकका भेडा–बाख्राको तथ्याङ्क संकलन गछौं,’ उनले भने, ‘संख्याको आधारमा मात्रै भत्ता वितरण गर्ने गरेका छौं।’

गाउँपालिकाले आफ्नो नीति कार्यक्रम र बजेमै गोठालो भत्ताको व्यवस्था गरेको थियो। ‘गाउँपालिकामा व्यवसायिक रुपमा भेडा–बाख्रा पाल्ने चलन छैन, मासु बिक्री गर्नुभन्दा पनि कम्मलका लागि यहाँ भेडा–बाख्रा पालिन्छ,’ अध्यक्ष सेजुवालले भने, ‘व्यवसायिक रुपमा कृषकहरुलाई भेडा–बाख्रा पाल्ने प्रेरणा दिनका लागि चालू आर्थिक वर्षमा भत्ताको व्यवस्था गरेका हौं।’

प्रकाशित: २४ फाल्गुन २०७६ १३:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App