२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

राजधानीमै दलित विद्यार्थीलाई डेराबाट निस्कन दवाव, घरवेटीविरुद्ध उजुरी

काठमाडौ- कैलाली घर भई काठमाडौं तारकेश्वर नगरपालिका– १० वस्दै आएकी दलित छात्रा दीपा नेपालीले महानगरीय प्रहरी बृत्त वालाजुमा घरवेटी विरुद्ध उजुरी दिएकी छिन्। उनले सोमवार तारकेश्वर – १० का घरवेटी श्रीकृष्ण विडारी तथा उनकी पत्नी विडारी बिरुद्ध उजुरी दिएकी हुन्। घरभाडामा बसेको भोलिपल्टदेखि नै घरवेटीले कथित अछुत जातको भन्दै कोठा छोड्न दवाव दिएपछि आफुले न्याय खोज्न प्रहरी समक्ष पुगेको उनले  बताएकी छिन्।

प्रहरीमा उजुरी दिनु अघि उनले राजधानीमा पत्रकार सम्मेलन गरी घटनावारे जानकारी गराई आफु माथि कानुन विपरित घरवेटीले जातीय भेदभाव गरेको र अध्ययन गर्ने समयमा मानसिक यातना दिएको कुरा बताएकी छिन्। उनी विडारीको घरमा गत मंसिर १३ गतेदेखि वस्न थालेको र बसेकै साँझ उनकी छोरीले परिचय गर्न आउँदा यथार्थ परिचय बताएपछि घर छोड्न दवाव दिन सुरु गरेको पीडित नेपालीको भनाई छ।

घटनाको विषयमा यस अघि नै उनले राष्ट्रिय मानवअधिकार आयोग,कानुन तथा न्याय मन्त्रालयमा लिखित जानकारी गराइसकेको र आयोगमा मौखिक जानकारी गराएको बताइन्। घटना विवरण अनुसार मंसिर १३ गते दीपा सहित भाइ बहिनी घरमा बस्न थालेका थिए। छोरीले परिचय पाएको भोलिपल्टदेखि मंसिर १४ गते विडारीले  बोलाएर घरवेटी विडारीले  दीपाका भाइ राजलाई बोलाएर पहिला परिचय भएन यस्तो जातको हुनुहुँदो रहेछ मेरो बुवाको भर्खरै मृत्यु भएको छ,आमाले मान्नु हुन्न भन्दै कोठा छोड्नको लागि निर्देशन दिएका थिए। त्यो दिन घरवेटीलाई हजुर जस्तो शिक्षित मान्छेले यस्तो गर्न मिल्छ र ? भन्दै सम्झाएका थिए। पुन मंसिर १५ गते विडारीकी पत्नी आएर सासुले मान्नु हुन्न भन्दै पटक–पटक कोठा छोड्न दवाव दिएकी थिइन्। मंसिर र १६ गते राष्ट्रिय मानव अधिकार आयोगमा दीपाले फोन गरेपछि आयोगले घरवेटीलाई फोन गरेर सम्झाएपछि कुरा साम्य भएको थियो।

मानव अधिकारको आयोगको कुरा सुनेपछि मुखले चुपचाप बसेपनि व्यवहारमा भने घरवाट निकाल्न अनेक प्रपन्च निकाल्दै गएका थिए। कोठा नछोडेपछि राज घरवेटीको फ्ल्याटमा पुगेर पनि किन छोडिदिन भन्न  पुग्दा भाडामा बस्ने अन्य समेत मिलेर उल्टै राज विरुद्ध प्रहरीमा कुटपिट गर्न खोजेको र बलात्कार गर्न आएको भन्ने आरोपमा महानगरीय प्रहरी बृत्त बालाजुमा उजुरी दिए। प्रहरीमा छलफल चलेपछि राज निर्दोष सावित भए र दुवै पक्षलाई मिलाएर पठाएको थियो।

फागुन १२  गते घरवेटीले सूचना टाँसेरै सवैलाई घरछोड् भनेपछि घटनाले थप जटिल रुप लिएको हो। यो सूचना अन्य भाडावालको लागि नभएर आफुलाई निकाल्ने घरवेटीको प्रपन्च भएको र घरमा पुगेपछि निरन्तर जातीय भेदभावको व्यवहार गरेकोले घरवेटी बिरुद्ध जातीय भेदभाव कसुर ऐन अनुसार कारवाही हुनु पर्ने माग राखेकी छिन्। दीपाले नेपाल सरकारको कर्मचारीवाटै भएको जातीय भेदभाव जघन्य अपराध भएको र सोही अनुसार कारवाही हुनु पर्ने अडान लिएकी छिन्। कैलालीवाट उच्च शिक्षाको लागि दीपाका दिदी भाइ काठमाडौं आएका हुन्। काठमाडौमा डेरा खोज्ने क्रममा थर सोधेपछि रद्ध भएका कोठाले आक्रान्त भएको र राजधानी जस्तो ठाउँमा हुने यो जातीय भेदभावको बिरुद्ध सरकारले कडा कदम चाल्न समेत आग्रह गरेकी छिन्। ‘मेरो परीक्षा चलिहरेको बेला कोठा खोज्न कहाँ जाउँ ?उनले भनिन्। सोही क्रममा दीपाले राजधानीमा थर सोधेर मात्र कोठा दिने  नपाइने नियम समेत सरकारकाले बनाउनु पर्ने आग्रह गरेकी छिन्। ‘म अन्य कोठामा जान सक्छु,तर मेरो चेतनाले काठमाडौ जस्तो सहरमा शिक्षित भनाउँदाले गरेको विभेद सहन दिएन,म न्यायको लागि लडिढरहन्छु’उनले सम्मेलनमा भनिन्।

आइतवार दीपाले दिएको उजुरीको विषयमा महानगरीय प्रहरी बृत्त वालाजुका इनिसपेक्टर राज कुमार शाहीले दीपाले ठाडो निवेदन दिएको र सोही अनुसार दुई पक्षलाई बोलाएर छलफल गर्ने प्रक्रिया अघि बढाइरहेको बताए। घरवेटी विडारी सरकारी कर्मचारी हुन् भने दीपा अंगे्रजी बिषयमा स्नाकोत्तर र कानुन विषयमा स्नातक अध्ययनरत छात्रा हुन्।

 

प्रकाशित: २० फाल्गुन २०७६ ०८:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App