१७ असार २०८१ सोमबार
image/svg+xml
समाज

जाजरकोटमा भेटियो नयाँ जातको गिद्ध

जजारकोटको वारेकोट गाउँपालिकामा भेटिएको नयाँ जातको गिद्ध । तस्बिर सौजन्य: गोविन्दवहादुर सिंह ।

जाजरकोट- विश्वका दुर्लभ जनावर तथा चराहरुको वासस्थान मानिएको जाजरकोटमा फेरी अर्काे चराको जात भेटिएको छ। विश्वबाटै लोप हुन लागेका गिद्धहरुको उर्वर भूमि जाजरकोटमा नयाँ जात भेटिएको हो। समुंद्र सतहदेखि एक हजार सात सय मिटरको उचाइ रहेको जिल्लाको वारेकोट गाउँपालिका वडा नम्वर-१ आग्रखोलामा राज नाम गरेको एक जोडी गिद्ध भेटिएको हो।

जाजरकोटमा रहेर चरा तथा अन्य लोपोन्मुख  जन्तुहरुको संरक्षण तथा खोजीमा क्रियाशील गोविन्दवहादुर सिंहका अनुसार वारेकोट गाउँपालिकाको जंगलमा भेटिएको उक्त राज जातिको गिद्ध विश्वकै लोपोन्मुख चराको रुपमा रहेको छ। अरु गिद्धहरु भन्दा फरक गुण र स्वभाव गरेको यो राजगिद्ध नेपालको तराइ भेगमा पाइने भए पनि जाजरकोटमा यसको वासस्थान रहेछ भन्ने प्रमाणित भएको सिंहले बताए। सिंहले पन्छी विज्ञहरुले राज गिद्ध अरुको मुखको सिनो पनि खोसेर खाने तथा सिनो खाइरहेको अवस्थामा कुनै पनि गिद्धहरुले यसलाइ आक्रमण गर्न नसक्ने स्वभाव भएको चराको रुपमा लिने गरेको बताए।

यसअघि जाजरकोटलाई वासस्थान बनाएका सेतो गिद्ध, हार्डफोर्ड गिद्ध, सुनगिद्ध र हिमाली गिद्धहरु गुडसहित भेटिएका छन्। पछिल्लो समयमा सिमलको रुखको विनास तथा सिनोमा विषादी मिसिएका कारण गिद्धहरुको संख्या घट्दो रुपमा रहेको पन्छी विज्ञहरुको भनाई छ। गिद्ध संरक्षणका लागि सिनोहरुको व्यवस्थापन र सिमलाका रुखहरुको संरक्षण गर्नुपर्ने उनीहरुको सुझाव छ।

जाजरकोट जैविक विविधताका हिसावले निकै सम्भावना भएको हुनाले यहाँको वनस्पति र जीवजन्तुको उचित संरक्षणमा राष्ट्रिय स्तरको कार्यक्रम बन्न जरुरी रहेको वारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले बताए। उनले गाउँपालिका स्तरबाट हुने कार्यक्रम सानो हुने र केन्द्रीय स्तरबाट नै महत्वका साथ जाजरकोटमा पाइएका र पाइन सक्ने विश्वकै दुर्लभ जीवजन्तु तथा चराहरुको खोजी र संरक्षणमा विशेष चासो र पहलको खाँचो रहेको बताए।
जाजरकोटको जैविक विविधता र यहाँ भेटिएका विस्वकै दुर्लभ चरा तथा जनावरहरुको बचाउ तथा वृद्धि गरेर विश्वलाई नै सन्देश दिन सकिने पन्छी, जनावरहरुको खोजी तथा संरक्षणकर्ता गोविन्द्र सिंहले बताए। उनले जाजरकोट निकै महत्वपूर्ण दुर्लभ पन्छी तथा जनावरहरुको पर्यटकीय गन्तव्य बन्न सक्ने बताए।

विशेषगरि, जाजरकोटको वारेकोट गाउँपालिका र कुशे गाउँपालिकाको जंगल क्षेत्र, भेरी नगरपालिका तथा नलगाड नगरपालिकाको जंगल क्षेत्र दुर्लभ जनावरहरु तथा चराहरुका वासस्थान भएको र यसका लागि सरकार र सरोकारवाला निकायले गम्भीरताका साथ पहल गर्नुपर्ने स्थानीय पत्रकार बालकुमार शर्माले बताए। उनले  जिल्लाको पर्यटकीय तथा जैविक विविधताको सम्भावनालाई बेलैमा चिनेर यसको महत्व र सम्पदालाई सार्वजनिक हितमा प्रयोग गर्नुपर्ने बताए।

 

प्रकाशित: १६ फाल्गुन २०७६ ०७:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App