coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

मनकारी वडाध्यक्ष, सेवा–सुविधावापतको रकम बालबालिकाको शिक्षामा लगानी

जगन्नाथदेवी आधारभूत विद्यालयमा अध्ययनरत बालबालिकालाई छात्रवृत्ति वितरण गर्दै वडाध्यक्ष भूपेन्द्र खत्री। नगेन्द्र उपाध्याय/नागरिक

सुर्खेत - वीरेन्द्रनगर नगरपालिका–३ का वडाध्यक्ष भूपेन्द्र खत्रीले आफूले पाएको सरकारी सेवा–सुविधावापतको रकम गरिव, जेहन्दार तथा आश्रित बालवालिकाको शिक्षामा लगानी गरेका छन्। वडाध्यक्षमा निर्वाचित भएयता प्राप्त तलव, भत्तालगायतको आठ लाख रुपैयाँ ‘भुपेन्द्र खत्री छात्रवृत्ति अक्षय कोष’को स्थापना गरेर वडाभित्र रहेका दुई वटा सामुदायिक विद्यालयमा अध्ययनरत गरिव, जेहेन्दार तथा आश्रित बालबालिकालाई छात्रवृत्ति वितरण गरेका हुन्।

वडाध्यक्ष खत्रीले वडाभित्रका हरिडिलभूमि माध्यमिक विद्यालयमा पाँच लाख र जगन्नाथदेवी आधारभूत विद्यालयमा तीन लाखको कोष स्थापना गरेका छन्। कोषमा जम्मा भएको रकमबाट प्राप्त हुने ब्याजबाट गरिव, जेहन्दार तथा आश्रित बालवालिकालाई छात्रवृत्ति प्रदान गरिने उनले बताए। २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा वडा अध्यक्ष निर्वाचित खत्रीले आफ्नो कार्यकाल रहँदासम्म पाउने सरकारी सेवा–सुविधा अक्षय कोषमा जम्मा गरिने उनले बताए।

निर्वाचित भएलगत्तै अध्यक्ष खत्रीले आफूले पाउने सेवा–सुविधा सामाजिक कार्यमा खर्चिने घोषणा गरेका थिए। ‘अध्यक्षमा निर्वाचित भएलगत्तै सरकारी सेवा–सुविधा सामाजिक काममा लगाउने घोषणा गरेको थिएँ,’ बिहीबार जगन्नाथ आधारभूत विद्यालयमा छात्रवृत्ति वितरण गर्दैै उनले भने, ‘त्यहीँ प्रतिवद्धता अनुसार सेवा क्षेत्रका दुईवटै सामुदायिक विद्यालयमा अक्षयकोष स्थापना गरेको हुँ।’ उनले बाँकी रहेको कार्यकालमा पनि प्राप्त हुने सेवा–सुविधा अक्षयकोषमा जम्मा गर्ने बताए।

वडाध्यक्ष खत्रीले राजनीति पेशा नभएर सेवा भएकाले सेवावापत प्राप्त हुने रकम आगामी दिनहरुमा पनि सामाजिक क्षेत्रमा खर्चिने बताए। उनले बालबालिकाको शैक्षिक भविष्यका लागि वडा कार्यालयबाट पनि निरन्तर सहयोग गर्दैै आएका छन्। ‘आर्थिक रुपमा कमजोर भएकै कारण कोही पनि शिक्षाको पहुँचबाट टाढा नहोस् भन्ने मेरो चाहना हो,’ उनले भने, ‘यति मात्र होइन्, आफ्नो व्यक्तिगत रुपमा गर्न सक्ने अरु सहयोग पनि बालवालिकाको शिक्षाका लागि गर्नेछु।’

अक्षयकोष स्थापना तथा सञ्चालनका लागि कार्यविधि बनाइएको छ। कार्यविधि अनुसार गरिब तथा जेहनदार छात्रवृत्तितर्फ छनोट भएका विद्यार्थीले एक हजार ५००, शारिरिक अपाङ्गतातर्फ छनोट भएका विद्यार्थीले दुई हजार र आश्रित बालवालिका छात्रवृत्तितर्फ छनोट भएका विद्यार्थीले तीन हजार रुपैयाँ वार्षिक छात्रवृत्तिस्वरुप पाउने छन्।

प्रकाशित: १५ फाल्गुन २०७६ ०७:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App