५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

स्रोत नखुलेको २७ लाख नगद सहित चार जना पक्राउ

वीरगन्ज- स्रोत नखुलेको रकमसहित पर्सामा एकै दिनमा बेग्लाबेग्लै ठाउँबाट प्रहरीले चार जनालाई पक्राउ गरेको छ। पछिल्लो समयमा हुण्डि कारोबार नियन्त्रण गर्ने उदेश्यले पर्सा प्रहरीले स्रोत बिनाको रकम ओसार पसारमा कडाई गरेको छ। सोही क्रममा उनीहरुलाई सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

विशेष सूचनाको आधारमा सोमवार मध्यान्ह वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरी टोलीले जिल्ला वीरगन्ज –१० आदर्शनगरबाट रौतहटको पिप्रा–पोखरिया, १ घर भई वीरगन्ज१६ नगवा बस्ने ४१ बर्षे संजयकुमार साहको साँथबाट नौ लाख ७१ हजार र नगवा १६ मैं बस्ने ३० बर्षे जयलाल महतोको साथबाट नगद दश लाख रुपैयाँ प्रहरीले बरामद गरेको जनाएको छ। प्रहरीका अनुसार उनीहरु बा.४८.प.६५९७ नं.को मोटरसाइकलमा सवार थिए। मोटरसाइकल र नगद उन्नाइस लाख ७१ हजार सहित उनीहरुलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक बिरेन्द्रबहादुर शाहीले बताए।

त्यस्तै अर्को घटनामा स्रोत नखुलेको रकम ओसारपसार गरेको भन्दै प्रहरीले अर्का २ जनालाई समेत पक्राउ गरेको छ। यि दुई जनालाई भने वीरगन्जको इनर्वा भन्सार अगाडिबाट पक्राउ गरिएको प्रहरीको दावी छ। विशेष सूचनाको आधारमा एक दिन अगाडि जिल्ला प्रहरी कार्यालय, पर्साबाट खटिएको विशेष प्रहरी टोलीले वीरगन्ज१६ भंसार कार्यालयको गेट अगाडि पूर्व ईनवा गाउँ जाने बाटो माबिआर ०५ एए ७२५५ नम्बरको को मोटरसाइकलमा भारतको रक्सौलबाट वीरगन्जतर्फ आउँदै गरेको भारत रक्सौल डुमरिया टोल ३५ बर्षे विजयकुमार ठाकुरको साथबाट स्रोत खुलाउन नसकेको चार लाख नगद बरामद भएको प्रहरी प्रतिवेदनमा छ। त्यस्तै सोही ठाउँबाट बिआर ०५ डि ५० १८ नम्बरको मोटरसाइकलमा सवार रहेका वीरगन्ज १६  नगवा बस्ने ३१ बर्षे राजुकुमार कलवारको साथबाट स्रोत खुलाउन नसकेको तीन लाख नगद फेला परेको जनाइएको छ।

 ‘दुई वटा बेग्ला बेग्लै घट्नामा दुई दुई जना गरी हामीले चार जनालाई नियन्त्रणमा लिएका हौं,’ प्रहरी नायब उपरीक्षक शाहीले भने, ‘उन्नाइस लाख ७१ हजार र अर्को ७ लाख गरी २६ लाख ७१ हजार रुपैयाँ बरामद भएको हो।’ स्रोत खुलाउन नसकेको कारण नगद र मोटरसाइकल सहित निजहरुलाई नियन्त्रणमा लिई अवैध वित्तिय कारोवार (हुण्डी) शिर्षकमा मुद्दा दर्ता गरी कारवाही अघि बढाइएको प्रहरीले जनाएको छ।

 

प्रकाशित: १३ फाल्गुन २०७६ ११:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App