१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

खबरदारी गर्ने अभियन्ता पक्राउ

सिन्धुपाल्चोक- लामोसाँघु–जिरी सडक खण्ड कालोपत्रे एवम् स्त्तरोन्नतिमा भइरहेको ढिलासुस्तीविरुद्ध निरन्तर खबरदारी गर्दै आएका दोलखा जिल्लाका नागरिक अभियन्तालाई प्रहरीले आइतबार पक्राउ गरेको छ।

 सडक स्त्तरोन्नतिमा दबाब दिने उद्देश्यले सिन्धुपाल्चोकको डाँडापाखरमा रहेको लामोसाँघु–जिरी सडक सुधार आयोजनाको कार्यालयमा तालाबन्दी गर्न आएका उनीहरुलाई प्रहरीले बाटोबाटै पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय बाह्रविसेको टोलीले सडक सुधारमा निरन्तर खबरदारी गर्दै आएका पाँच अभियन्तालाई दिउँसो एक बजेतिर पक्राउ गरेको थियो।

  पक्राउ परेकालाई जिल्ला प्रहरी कार्यालयमा ल्याइएको छ। ठेकेदारले दुई वर्षमा कालोपत्रे एवम् स्त्तरोन्नति सक्नु पर्ने ५५ किमी (खाडिचौर–चरिकोट) लामो उक्त सडक थप तीन वर्ष समय गुजार्दा पनि निर्माण सम्पन्न गर्ने छाँटकाँट नदेखाएपछि दोलखाका स्थानीय वर्षदेखि निरन्तर आन्दोलित छन्। उनीहरुले काममा ढिलाई गर्ने ठेकेदारको फोटो सार्वजनिक स्थलमा टाँस्ने, ठेकेदार र सम्वद्ध निकायलाई ज्ञापनपत्र बुझाउने, खबरदारी गर्ने जस्ता कार्यक्रम सञ्चालन गर्दै आएका छन्।

 खबरदारीका बाबजुद पनि सडक सुधारमा बेवास्ता गरेपछि तालाबन्दीको कार्यक्रम अघि सारेको पक्राउ परेका अभियन्ताले बताएका छन्। अरनिको राजमार्गको खाडिचौरदेखि चरिकोटसम्म झण्डै

 पाँच वर्षअघि दुई खण्डमा स्त्तरोन्नति तथा कालोपत्रेको काम थालिएको थियो। पाँच वर्षमा झण्डै १६ किमी मात्र सडक कालोपत्रेको काम सकिएको छ।

   २०१७ अक्टुबर १७ मा निर्माण सक्ने गरी निर्माण व्यवसायीले २०१५ जुन ३ मा ठेक्का सम्झौता गरेका थिए। ५१ करोड ४४ हजार रुपैयाँ लागत रहेको यो खण्ड सम्झौता अवधिमा नसकेपछि सुरुमा सात महिना समय थप गरिएको थियो। भारतको एक्जीम बैंकको सहयोगका काम भइरहेको २५ किमी दुरीको खाडीचौर–मुडे खण्डमा सुनौला खिम्तिसहित भारतकै हिमाञ्चल निर्माण कम्पनी र गौरी पार्वती कन्ट्रक्सनसमेत संलग्न छन्। यो खण्डमा आधा मात्र काम सकिएको हो।

 दुई खण्डमा बाँडेर ठेक्का दिइएको यो सडकको मुडे–चरिकोट ३० किमी दुरी खण्ड स्त्तरोन्नति तथा कालोपत्रे गर्ने काममा समेत भाखा नघाइएको छ। यो खण्डको समेत भण्डारी नेतृत्वको सुनौला खिम्तिसहित भारतको सकिल हैदर र शंकर माली कन्ट्रक्सनले ठेक्का पाएका थिए। २०१५ जुन १४ मा ठेक्का सम्झौता भएको यो खण्ड २०१८ मार्च १ मा सकिनु पथ्र्यो। ९१ करोड ९४ लाख रुपैयाँ लागतमा सुधारको काम भइरहेको यो खण्डमा बेतिथीको नमूना देख्न सकिन्छ।

 ठेकेदार कम्पनीले सडक भत्काएर मात्र छोड्दा यात्रु मारमा पर्दै आएका छन्। काममा ढिलासुस्ती गरेको र गुणस्तरहिन काम गरेको भन्दै सरकारले दुई वर्षअघि यसका ठेकेदारलाई पक्राउसमेत गरेको थियो। सन् १९७५ देखि १९८५ सम्म १० वर्ष लगाएर स्वीस सरकारको सहयोगमा लामोसाँघु–जिरी सडकको ट्रयाक खोल्दै उसैले कालोपत्रे गरेको थियो। त्यसमध्ये चरिकोटसम्म सुधार थालिएको सडक हालकै पाराले सकिन अरु धेरै वर्ष लाग्ने देखिन्छ।

 

प्रकाशित: ११ फाल्गुन २०७६ ०९:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App