८ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

हल्ला कोरोनाको, संक्रमण मौसमी फ्लुको

काठमाडौं - कोभिड–१९ अर्थात् नोवेल कोरोनाको संक्रमणको हल्ला चलेकै बेला नेपालमा भने मौसमी फ्लु बढिरहेको अस्पतालहरूले जनाएका छन्। अस्पतालका अनुसार उनीहरूमा एच–वान, एन–वान (स्वाइन फ्लु), एच–थ्री, (हङकङ फ्लु) इन्फ्लुएन्जा एन टुलगायत मौसमी फ्लु पाइएको अस्पतालले जनाएका छन्। अस्पतालमा दुई सातादेखि उल्लेखनीय संख्यामा मौसमी फ्लुका बिरामी उपचारका लागि पुग्ने गरेको राष्ट्रिय शुक्रराज तथा ट्रपिकल अस्पतालका प्रवक्ता डा. अनुपराज बास् बताए।

१० दिनदेखि रुघाखोकीका बिरामी ह्वात्तै बढेको वीर अस्पताल, मेडिसिन विभागले जनाएको छ। सो विभागका वरिष्ठ फिजिसियन डा. ध्रुव गैरेका अनुसार १० दिनदेखि यता मौसमी फ्लुका बिरामी १२ प्रतिशत बढेका छन्। उनीहरू रुघा लाग्ने, ज्वरो आउने, सिँगान बग्ने, खुट्टा दुख्नेलगायत समस्या लिएर पुगेका छन्। पुगेकामध्ये जटिल रोगका बिरामीबाहेक अन्यलाई एन्टिवायोटिक दिएर पठाइएको डा. गैरेले बताए। उनका अनुसार मधुमेह र गम्भीर रोगीलाई भने भर्ना गरेर उपचार गर्गे गरिएको छ।

रुघाखोकी लाग्नु, नाकबाट पानी बग्नु, ज्वरो आउनु, घाँटी दुख्नु, पातलो दिसा हुनुलगायत मौसमी फ्लुका लक्षण रहेको चिकित्सक बताउँछन्।

त्यस्तै दैनिक औसत ३० जना मौसमी फ्लुका बिरामी उपचारमा पुगेको सिभिल अस्पतालले जनाएको छ। अस्पतालका आकस्मिक कक्ष विभागका प्रमुख डा. दिनेशकुमार लम्सालका अनुसार गम्भीर भएकाहरू आकस्मिक कक्षमै पुगेका छन्। उपचार गर्न पुगेका धेरैजसोमा कोरोना संक्रमणको त्रास रहेको चिकित्सकले औंल्याएका छन्। केही दिनअघि धनगढी र सिन्धुपाल्चोकको गुम्बाटोलमा फैलिएको रुघाखोकी पनि मौसमी फ्लुअन्तर्गतकै रहेको राष्ट्रिय इपिडियामोलोजी तथा रोग नियन्त्रण विभागले जनाएको छ। ती ठाउँबाट लिएको नमुनामा स्वाइनफ्लु र हङकङ फ्लु भएको परीक्षणबाट पुष्टि भएको थियो। यो साता देशभरबाट २ सय ४७ जनामा मौसमी फ्लु भएको राष्ट्रिय इपिडियामोलोजी तथा रोग नियन्त्रण विभागले जनाएको छ। जसमा झापाबाट १९, मोरङमा १८, ललितपुरमा १७, काठमाडौंमा र रुपेन्देहीमा १३÷१३ र दोलखामा १७ जना छन्।

उनीहरू रुघाखोकी, घाँटी दुख्ने, खोकी लाग्ने, ज्वरो आउनेलगायत लक्षण लिएर उपचारका लागि पुगेका छन्। यी सबै खालका फ्लु मान्छेबाट मान्छेमा सर्ने भएकाले परिवारमा एकजनामा संक्रमण भएपछि परिवारै संक्रमित हुने सम्भावना बढी हुने चिकित्सक बताउँछन्। मौसमी फ्लु सामान्य सुनिए पनि वृद्धवृद्धा, बालबालिका, ६५ वर्षमाथिका, मिर्गौला प्रत्यारोपण गरेका, दमरोगी, गर्भवती, दीर्घरोगी, मधुमेह भएमा यसले जटिल रूप लिने र गम्भीर रोगीहरूको मृत्युसमेत हुने सम्भावना हुन्छ। मौसमी फ्लु उल्लिखित जोखिम समूहका व्यक्तिमा देखा परेमा घरैमा बस्नुको सट्टा अस्पतालमै पुगेर उपचारमा जानका लागि चिकित्सकले सल्लाह दिएका छन्।

श्वास–प्रश्वासमा जटिल समस्या देखिएमा पनि घरैमा उपचार गर्नुको सट्टा उपचारमा पुग्नुपर्ने शुक्रराज ट्रपिकल अस्पताल अनुसन्धान विभागका संयोजक डा. शेरबहादुर पुनले सुझाए। पश्चिमी मुलुकमा वर्षको एक पटक मात्र आउने यस्तो फ्लु नेपाल तथा भारतमा वर्षको दुई पटक देखिन्छ। गर्मी तथा मध्यम हावापानी भएकाले मौसमी फ्लु जाडो सुरु हुने बेलामा र जाडो सकिँदै जाने क्रममा देखिने गरेको डा. पुन बताउँछन्। विकसित राष्ट्रमा वर्षको एक पटक फ्लुविरुद्ध खोप लगाएर मौसमी फ्लुको संक्रमणबाट बच्ने गरेको भए पनि नेपालमा खोप सबैको पहुँचमा नपुगेकाले प्रभावित हुनेको संख्या बढी हुने गरेको डा. पुनको भनाइ छ। नेपालमा मेडिकलहरूमा यो खोप किनेर लगाउन मिल्ने व्यवस्था भने छ।

तसर्थ हरेकले सकेसम्म वर्षको एक पटक मौसमी फ्लुविरुद्ध खोप लगाएमा यसको सम्भावित असरबाट बच्न सकिने डा. पुनले सुझाए। व्यक्तिगत सफाइमा विशेष ध्यान दिएमा फ्लुको संक्रमणबाट बच्न सकिने उनको सुझाव छ। अज्ञात स्थल, सार्वजनिक शौचालय, बस तथा स्थल छोइसकेपछि हातले मुख, आँखा र नाक नछुने र ती स्थल छोएपछि हात सफा गर्ने, संक्रमित व्यक्ति एकल कोठामा बसेर उपचार गर्ने र अरू व्यक्ति सम्पर्कमा नजानाले संक्रमणबाट बच्न सकिने चिकित्सकको सुझाव छ। यसका साथै संक्रमित व्यक्तिले अरूको सामुन्ने हाच्छिउँ नगर्ने र बाहिर हिँड्दा अनिवार्य मास्क प्रयोग गर्नाले अरूमा मौसमी फ्लु सर्दैन। मौसमी फ्लुमा देखिने मुख्य समस्या रुघाखोकी लाग्ने, नाकबाट पानी बग्ने, ज्वरो आउने, घाँटी दुख्ने, पातलो दिसा हुनेलगायत रहेको चिकित्सकहरूको भनाइ छ।

प्रकाशित: ७ फाल्गुन २०७६ ०३:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App