१ मंसिर २०८१ शनिबार
image/svg+xml
समाज

तमोरको पानी डाँडामा

तमोर पम्पिङ खानेपानी आयोजनाअन्तर्गत लुमुघाटमा बनाइएको संरचना। तस्बिरः गिरिराज/नागरिक

यासोक (पाँचथर) - चर्को खानेपानी समस्या भोगिरहेको पाँचथरको कुम्मायक गाउँपालिकाका बासिन्दालाई राहत दिनका लागि सञ्चालन तमोर नदीको लुमुघाटदेखि १७ किलोमिटर माथिको कुम्मायक मन्दिर छेउसम्म ल्याएर वितरण प्रारम्भ गरिएको छ।

तमोरको पानी गाउँमा ल्याएर परीक्षण भइरहेको छ। सातवटा स्टेसन भएको नेपालकै ठुलो यो पम्पिङ आयोजना सफल हुनु निकै महत्वपूर्ण मानिएको छ। ‘हाम्रो लागि पनि नौलो योजना थियो। तर सफलतापूर्वक सम्पन्न भएर उपभोक्ताको घरसम्म पानी पुगेको छ,’ आयोजनाका प्राविधिक ज्ञानु रिजालले भने, ‘खानेपानी अभावले बढिरहेको बसाइसराइ दर रोकिने तथा खानेपानीको समस्या सहज हुने भएकाले स्थानीयमा पनि खुसी छाएको छ।’

रिजालले भनेझै गाउँमा खानेपानी आइपुगेपछि उपभोक्तहरू निकै खुसी छन्। तल तमोरमा नीलो पानी बगिरहे पनि माथि गाउँका बासिन्दा ‘काकाकुल’ अवस्थामा थिए। यो गाउँपालिकाको १, ३, ४ र ५ नम्बर वडाका बासिन्दाका लागि यो आयोजना वरदान साबित भएको छ। खोलामा बगिरहेको पानी डाँडामा आइपुगेपछि सधैंका लागि खानेपानी समस्या समाधान हुने आशा स्थानीयको छ।

‘तमोरको पानी गाउँमा आउँछ भन्थे। खै आउँछ कि आउँदैन भन्ने लाग्याथ्यो। अहिले त घरमै पो आयो,’ स्याबरुम्बाकी लक्ष्मी बुढाथोकीले भनिन्, ‘अब यतिकै पानी आए त चैन हुने थियो।’ सरकारले सुखाग्रस्त घोषित गरेको यो क्षेत्रमा खानेपानी समस्याका विरक्तलाग्दा कथाहरू निकै छन्। तर अब भने उपभोक्ताको घरमा पानी पु¥याउनका लागि बाँकी कामहरू भइरहेका छन्। गाउँमा खानेपानी आइपुगेपछि उद्घाटनको तयारीसमेत भइरहेको छ।

मुहान सुकेर चर्को समस्या भोगिरहेको सो गाउँका बासिन्दा एकपछि अर्को गर्दै बसाइ सरिरहेका थिए। आर्थिक वर्ष २०७२÷०७३ बाट सुरु भएको यो आयोजनाको काम हाल अन्तिम चरणमा पुगेको छ। मुख्य प्रसारण–लाइन (पम्पिङ) र वितरणका लागि केही काम भने बाँकी रहेको छ। बाँकी काम चाँडै सकिने निर्माण कम्पनीले जानकारी दिएको छ। निकै महŒवका साथ हेरिएको सो आयोजनाबाट प्राविधिक सिकाइ पनि हुने भएकाले प्राथमिकतामा राखिएको थियो।

‘नौलो किसिमको आयोजना भएकाले केही जटिलताहरू थिए। तर तमोरको पानी डाँडामा मात्र आएन। उपभोक्ताको घरमा पनि पुगिरहेको छ। यो खुसीको कुरा हो,’ निर्माण व्यवसायी लोकेन्द्र राजभण्डारीले भने, ‘बाँकी रहेको काम चाँडै पूरा हुनेछन्। थोरैमात्र काम बाँकी छ।’

सरकारले २०६८ सालमा साविकको यासोक, रानीगाउँ र स्याबरुम्बा गाविसलाई सुखाग्रस्त क्षेत्र घोषणा गरेको थियो। यो आयोजना आर्थिक वर्ष २०७२÷०७३ बाट सुरु भएको थियो। आयोजनाबाट तीन हजार ४३ घरका १३ हजार दुई सय ६६ जना प्रत्यक्ष लाभान्वित हुनेछन्। यसका लागि दुई हजार ८० घरमा धारा जडान भइसकेको र बाँकी घरसहित मुख्य प्रसारणलाइनमा केही धारा जडान गर्ने प्रक्रिया जारी रहेको आयोजना कार्यालयले जनाएको छ।

आयोजनाको मुख्य प्रशासरण लाइन १७ किलोमिटर र वितरणलाइन एक सय ९२ किलोमिटर लम्बाइ रहेको छ। आयोजनाको मुख्य प्रसारण लाइन र वितरण लाइनका लागि अलग–अलग ठेक्का लागेको थियो। मुख्य प्रसारणलाइन (पम्पिङ) का लागि १९ करोड ५२ लाख ५० हजार रुपैयाँमा प्रेरा–स्वामीनारायण जेभी र वितरण लाइनका लागि २२ करोड १० लाख रुपैयाँमा कन्काई–महादेव खिम्ती–स्वामीनारायण जेभीले काम गरेको थियो।

आयोजनालाई दीर्घकालीन रूपमा सञ्चालन गर्नुपर्ने स्थानीयको माग छ। ‘तमोरको पानी आउन त आयो तर जहिले पनि यसरी नै पानी आइदिए हुन्थ्यो,’ उपभोक्ता कलामाय कार्कीले भनिन्, ‘खानेपानीका लागि कति दुःख पाइयो–पाइयो। अबका छोरी–छेबुहारीले हामीले जस्तो दुःख भोग्नु नपरोस्।’

तमोरको पानी पम्पिङ गर्नका निम्ति विद्युत् लगिएको छ। सातवटा पम्पिङ स्टेसनबाट आएको पानी वितरणका लागि ११ वटा ट्याङ्की निर्माण भएका छन्। गार्ड र पम्प–हाउसलगायत संरचना पनि निर्माण गरिएका छन्। प्राविधिक रिजालका अनुसार तमोरको पानी अन्तिम स्टेसनसम्म प्रतिसकेन्ड २० दशमलव तीन लिटर पानी दरले आइपुग्छ। आयोजनाका लागि उपभोक्ताहरूले चार करोड ६१ लाख ७१ हजार आठ सय ५१ रुपैयाँ जम्मा गरेका थिए। आयोजनाको अनुमानित लागत ५१ करोड ३० लाख रुपैयाँ रहेको थियो।

प्रकाशित: ६ फाल्गुन २०७६ ०२:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App