३ आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

‘मिटरब्याजी’ आरोपित यादव फेरि पक्राउ

पक्राउ परेका रामबाबु राय यादव।

सर्लाही – सर्लाही जिल्ला अदालतको आदेशपछि धरौटीमा छुटेका ‘मिटरब्याजी’ आरोपित रामबाबु राय यादव पुनः पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई पक्राउ गरी पठाउन काठमाडौं पठाउन सर्लाही प्रहरीलाई पत्र पठाएको थियो। विशेष अदालतबाट १० दिन थुनामा राख्ने म्याद लिएर यादवविरुद्ध सम्पत्ति शुद्धीकरण ऐनअन्तर्गत अनुसन्धान अगाडि बढाएको सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले बताए।

जिल्ला प्रहरी कार्यालय सर्लाहीले यादवलाई पक्राउ गरी गत पुस २३ गते ठगी तथा आपराधिक विश्वासघात अभियोगमा जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो। गत सोमबार जिल्ला न्यायाधीश हरिप्रसाद कोइरालाले यादवलाई १५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएका थिए। आदेशअनुसार तत्काल धरौटी बुझाउन नसकेपछि उनलाई सुनसरीको झुम्का कारागारमा राखिएको थियो। तोकिएबमोजिमको धरौटीस्वरूप जमिन राखेर छुटेका यादवलाई जिल्ला अदालतमा तारेख लिन गएको बेला गत शुक्रबार जिल्ला प्रहरी कार्यालय सर्लाहीको टोलीले पुनः पक्राउ गरेको हो। सम्पत्ति शुद्धीकरण ऐनअन्तर्गत अनुसन्धान गर्न यादवलाई पक्राउ गरी पठाउन सीआईबीको पत्र आएकाले उनलाई पुनः पक्राउ गरी काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीतसिंह राठौरले जानकारी दिए।

मिटरब्याजी आरोपी यादवले ऋण दिँदा पाँचगुणा बढीको कागज बनाउने गरेको, ऋण तिरिसक्दा पनि तमसुक फिर्ता नगरेको, ऋण लिँदा राजीनामा गरिदिएको जग्गा आफूखुसी बिक्री गरेको ऋणपीडितहरूले गुनासो गर्दै आएका छन्। पीडितहरूको एक समूह काठमाडौं नै पुगेर सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीका नेता, गृहमन्त्री, प्रहरीका वरिष्ठ सुरक्षा अधिकृतहरूसमक्ष गुनासो गरेपछि प्रहरीले यादवलाई पक्राउ गरी ठगी तथा अपराधिक विश्वासघातसम्बन्धी मुद्धा अदालतमा दर्ता गरेको थियो।

यस्तै पीडितहरुले सर्लाहीमै अर्का ‘मिटरब्याजी’ आरोपित त्रिभुवननगर निवासी सञ्जय साह रौनियारलाई पनि पक्राउ गरी कारबाही गर्न माग गरिरहेका छन्। यता पक्राउ परेका यादव एवं उनका परिवारजनले भने कानुनविपरीत कसैसँग ब्याज नलिएको र लिएको ऋण पचाउन अनेक आरोप लगाएर जबर्जस्ती फसाइएको बताउँदै आएका छन्।

यसअघि जिल्लामै अर्का ‘मिटरब्याजी’ आरोपी श्याम परदेशी भन्ने श्यामकृष्ण साह भने केही महिनाअघि पक्राउ परी अदालतको आदेशअनुसार पुर्पक्षका लागि कारागारमा छन्। परदेशीलाई जिल्ला न्यायाधीश कृष्णराम कोइरालाको एकल इजलासले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। परदेशीले उच्च अदालतमा गरेको पुनरावेदनमा समेत जिल्ला अदालतकै आदेशलाई निरन्तरता दिएको प्रहरीले जनाएको छ। उस्तै प्रकृतिको मुद्दामा जिल्ला अदालतका अर्का न्यायाधीश हरिप्रसाद कोइरालाले भने अभियुक्त यादवलाई धरौटीमा छाड्न आदेश दिएका छन्। एउटै अदालतबाट उस्तै मुद्दामा दुईथरी आदेश आएको जनाइएको छ।

प्रकाशित: ५ फाल्गुन २०७६ ०२:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App