३ आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

भिम अस्पतालमा २४ घण्टे ल्याब सेवा

२४ घण्टे ल्याब सेवा शुभारम्भ गर्दै जिल्ला समन्वय समिति प्रमुख एकराज विश्वकर्मा ।

भैरहवा- भिम अस्पताल भैरहवामा चौबीसै घण्टा ल्याब सेवा (प्रयोगशाला) सञ्चालनमा आएको छ। १९९० सालमा स्थापित अस्पतालको सेपा प्रवाहलाई सुदृढिकरण गर्न  चौबीसै घण्टा प्रयोगशाला सञ्चालनमा ल्याएपछि रगत, दिसा तथा पिसाब परीक्षणका लागि बाहिर जानुपर्ने बाध्यता हटेको हो।

अस्पाताल विकास समितिले ल्याबमा ५ पार्टको कुलटर काउन्टर स्वचालित मेसिन सञ्चालन गरेपछि अत्याधुनिक ल्याबसहितको २४ घण्टे सेवा सुरु भएको अस्पतालका मेडिकल सुपरिटेन्डिेन्ट डा. नबिन दर्नालले बताए। 'पहिला ओपिडी समयमा मात्र ल्याब सेवा प्रदान गरिरहेका थियौ ८ जना प्राविधिकलाई ३ सिफ्टमा विभाजन गरी ल्याब सेवा २४ घण्टा नै दिने गरि सञ्चालन गरेका छौ।' दर्नालले नागरिक न्यूजलाई भने 'अबको केही दिनमा हामीले २४ घण्टे एक्सरे सेवालाई पनि निरन्तरता दिनका लागि गृहकार्य गरिरहेका छौ।'

अहिले सरदरमा दैनिक ७० जनालाई ल्याब सेवा दिँदै आएको छ, गर्मी सिजनमा १५० जनासम्म हुने गरेको छ। २४ घण्टा ल्याब नखुल्दा सर्वसाधारणहरु निजी क्षेत्रमा महगो शुल्क तिरेर सेवा लिइरहेका थिए।  'हामीसँग अहिले थाइराइड बाहेकका सबै ल्याब सेवा दिन सक्ने गरी पूर्वाधार तयार छ, बाहिर भन्दा ५० प्रतिशत कम मूल्यमा सेवा दिइरहेका छौ ' सूचना अधिकारी अहेब गोपाल उपाध्यायले भने।

हामीले अटोमेटिक एनालाइजर, हड्डी सम्बन्धि क्यालसियम परीक्षण, मुटु सम्बन्धि परीक्षण गरिरहेका छौ, छिट्टै नै एनआइसीयुको सेवा दिनका लागि बालरोगको नेतृत्वमा काम अघि बढेको छ।
ल्याब सेवाको जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख तथा अस्पताल विकास समितिका अध्यक्ष एकराज विश्वकर्माले उद्घाटन गरेका छन्। सो अवसरमा बोल्दै विश्वकर्माले फाल्गुण महिनाभित्रै २५ श्ययाबाट ५० श्ययामा स्तरोन्नती गर्ने बताए। ७ दिन अगाडि नै मन्त्रालयले टुङग्याएको छ, क्याविनेट बैठकले पनि निर्णय गरिसकेकोले स्तरोन्नती भाषणमै मात्र सिमित नहुने बताए।

अस्पतालको अनुहार फेर्दै लैजानेमा विकास समितिले योजना बनाइ काम गरिरहेको छ, अत्याधुनिक स्तरकै ठूला अस्पताल जस्तै आकस्मिक कक्षको पनि निर्माण गरिरहेका छौ, २० करोडको लागतमा गुरुयोजनाको डिपीआर समेत केही दिनमै आउदै छ।

विकास समितिका सदस्य तथा सिद्धार्थ उद्योग वाणिज्यका अध्यक्ष कुलप्रसाद न्यौपानेले भिम अस्पताललाई प्रस्तुती गृहको रुपमा लिएर अन्य सेवाहरु योजनासहित बनाउदै गरेको बताए। अस्पताले बनाउन लागेको डिपीआरमा नमुना प्रसुती अस्पतालको रुपमा बनाउने योजना छ।

भैरहवाको मुटुमा रहेको १९९० सालमा ३ श्ययाबाट स्थापित अस्पताल २०३५ सालमा १५, २०४१ मा २५ श्ययाको स्वीकृती पाएको छ। १०० श्ययाको अस्पतालको रुपमा सरकारले घोषणा गरेपनि हाल २५ श्ययाको स्वीकृत प्राप्तको बावजुद सोही दरबन्दी अनुसार ६० वेडमा सञ्चालित छ। भीम अस्पतालले हाल ओपिडि सेवा, आकस्मिक, अन्तरंगमा प्रसुती र सामान्य चिकित्सासेवा, मातृ शिशु सेवा(खोप पोषण परिवार नियोजन), प्रयोगशाला, एक्सरे, ईसिजी, डट्स उपचार, कृष्ठरोग उपचार  सेवा, यूएसजी सेवा र एआरटी सेवा दिदै आएको प्रशासन अधिकृत गोविन्द ज्ञवालीलले बताए।

 

 

प्रकाशित: १ फाल्गुन २०७६ ०७:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App