९ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

हाई भोल्टेजले विद्युतीय सामग्री नष्ट

भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं ५ कटुन्जेस्थित सडक विस्तार गरिँदै। सडक विस्तारको क्रममा शनिबार राति ढुंगा खसाल्ने क्रममा विद्युत सर्टपछि हाई भोल्टेज प्रवाह भएको थियो।तस्बिर:नागरिक

भक्तपुर – हाई (उच्च) भोल्टेज प्रवाहले आ–आफ्नो घरका विद्युतीय (इलेक्ट्रोनिक्स) सामग्री जलेर नष्ट भएपछि भक्तपुरको कटुञ्जेका पीडितले क्षतिपूर्तिको माग राखेका छन्। उच्च भोल्टेज प्रवाहले घरघरका फ्रिज, टिभी, ल्यापटप, मोबाइल, चिमलगायतका इलेक्ट्रोनिक्स सामान नष्ट भएपछि उनीहरूले सरोकारवालसँग क्षतिपूर्ति माग गरेका हुन्।

भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं ५ सुशीलाभैरव आसपास शनिबार राति हाई भोल्टेज प्रवाह भएको थियो। जसका कारण स्थानीयका विद्युतीय सामग्री नष्ट भएका थिए। हाइ भोल्टेजपछि त्यहाँ रातभरि विद्युत आपूर्ति पनि बन्द भएको स्थानीयले बताए।

स्थानीय हरिराम खिउँजूले हाई भोल्टेजको बेला घरघरका विद्युतीय सामग्री जलेर नष्ट हुँदा सबैतिर कोलाहल मच्चिएको बताए। ‘कति त घरबाहिर निस्किएका थिए,’ उनले नागरिकसँग भने, ‘बाहिर पनि तार जल्दा उतिकै ठूलो आगोको ज्वाला देखिएको थियो।’

उनका अनुसार शनिबार राति नौ बजेतिर यो घटना भएको थियो। घटनाको भोलिपल्ट बिहान मात्रै त्यहाँ विद्युत आपूर्ति भएको थियो। ‘बिहान विद्युत आपूर्ति भएपछि बती बाल्दा पनि चिम, ट्युबलाइट त पतपती फुटेर फेरि संघार भयो,’ उनले थपे, ‘यसले अघिल्लो दिनको दुर्घटनामा बचेका सामान पनि फेरि नष्ट भए।’

अर्का स्थानीय गोपाल दाहालले आफूहरूलाई क्षतिपूर्ति दिनुपर्ने माग राखे। ‘मेरो मात्रै होइन, सबैको क्षतिपूर्ति हुनुप¥यो,’ उनले भने, ‘हामी यसैका लागि कहाँ जाने ? के गर्ने भनेर छलफलमा छौं।’

उनका अनुसार सूर्यविनायक नगरपालिका वडा नं ५ कटुन्जेको डिभिजन सडक कार्यालय, कटुन्जेको कार्यालयदेखि पश्चिम सुशीलाभैरव आसपासको पाँच सय मिटरभन्दा सडक आसपासका सयौं घर यो समस्याबाट पीडित भएका थिए। दुर्घटनापछि स्थानीय अझै त्रासमा बसेको उनले बताए।

सूर्यविनायक नगरपालिका वडा नं ५ कटुन्जेका वडाअध्यक्ष राजकुमार जोशीका अनुसार हाल त्यहाँ जारी स्थानीय सडक विस्तार कामको लागि टिपरबाट राति ल्याइएको ढुंगा खसाल्ने क्रममा दुर्घटना भएको हो। उनका अनुसार टिपरबाट ढुंगा खसाल्ने क्रममा तारमा लागेर दुई वटा नांगो तार एक आपसमा जुधेर सर्ट भएको थियो। दुर्घटनापछि त्यहाँ ठूलो आगोसमेत बलेको थियो।

नेपाल विद्युत प्राधिकरण, भक्तपुर वितरण केन्द्रका प्रमुख राजकुमार रमणले हाई भोल्टेजबाट भएको क्षतिको क्षतिपूर्ति दिने व्यवस्था नरहेको बताए।

प्रकाशित: २८ माघ २०७६ ०३:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App