५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

ठूलो मात्रामा तस्करीको केराउ बरामद, एक जना पक्राउ

रौतहट - रौतहटको मठिया नाकाबाट प्रहरीले एक जना भारतीय तस्करसहित ठूलो परिमाणमा तस्करीको केराउ(मटर) नियन्त्रणमा लिएको छ। प्रदेश प्रहरीको विशेष टोली र जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले भारत बिहार पूर्वी चम्पाहान चैनपुर बस्ने १८ वर्षीय सचिन गोसाइँलाई नियन्त्रणमा लिएको हो।

उनी तस्करहरुको भरिया रहेको बुझिएको छ। राति १२ बजेको समयमा १५/२० जनाको समूहमा रहेका तस्करहरुलाई प्रहरीले फेला पारेको थियो। तर उनीहरुमध्येका अधिकांश भाग्न सफल भए पनि  एक जना भने पक्राउ परेका छन्। उनीहरु भाग्न खोजेपछि प्रहरीले चार राउण्ड हवाइ फायर समेत गरेको जनाएको छ।

गोसाइँको बयानका आधारमा भण्डारण गरेको तस्करको गोदाममा समेत प्रहरीले छापा मारेको छ। गोदाममा छापा मार्दा करिब ७० बोरा केराउ बरामद गरी नियन्त्रणमा लिएको छ। प्रहरी चौकी मठियादेखि करिब डेढ सय मिटर पूर्वदेखिको बाटोबाट नेपाल र भारत दुबै तर्फबाट तस्करी हुने गरेको स्थानीयले प्रहरी प्रमुखसमक्ष डिआइजी प्रधुम्न कार्की र रौतहट प्रहरी प्रमुख एसपी रविराज खड्कालाई स्थानीयले तस्करीको विषयमा बारम्बार गुनासो गरेपछि प्रहरीको विशेष टोली नै परिचालन गरेको थियो।

रौतहट प्रहरी प्रमुख एसपी रविराज खड्काले फरार भएका तस्करको खोजी कार्य भैरहेको र पक्राउ परेको गोसाइँलाई जिल्ला प्रहरीका कार्यालयमा राखिएको बताए।

प्रकाशित: २६ माघ २०७६ ०२:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App