खोटाङ– उपभोक्ता समिति गठनमा विवाद भएपछि खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलको भुते जिरो किलोबाट आयुर्वेद कार्यालयसम्म एकीकृत वस्ती विकास तथा पूर्वाधार निर्माणको काम ठेक्का प्रकृयाबाट सञ्चालन गर्ने प्रकृया अघि बढाइएको छ। संघिय आयोजना कार्यान्वयन इकाई विराटनगरको ३० लाख रुपैयाँ बजेटबाट सञ्चालन हुने योजनाको उपभोक्ता समिति गठनमा विवाद भएपछि ठेक्का प्रकृयामा लगिएको हो।
वडा कार्यालयले विधिवत गठन गरेको उपभोक्ता समितिलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले लत्याएर अर्कै उपभोक्ता समितिलाई योजना सम्झौता गराउन स्वीकृती दिएपछि विवाद चुलिएको थियो। नगरपालिकाको मंसिर ३० गते प्राप्त पत्र अनुसार वडा कार्यालयले पुस ९ गते भवप्रसाद आचार्यको अध्यक्षतामा गठन गरेको ९ सदस्यीय उपभोक्ता समितिलाई लत्याएर मंसिर ६ गते युवराज आचार्यको अध्यक्षतामा गठन गरिएको ५ सदस्यीय उपभोक्ता समितिलाई योजना सम्झौताका लागि सिफारीस दिएपछि कांग्रेसको छायाँ सरकार समेत विरोधमा उत्रिएको थियो।
नगरपालिकाले युवराज अध्यक्ष रहेको उपभोक्ता समितिलाई पुस ९ गते नै सम्झौताका लागि संघीय आयोजना कार्यान्वयन इकाई बिराटनगर समक्ष सिफारीस दिइएको थियो। योजनाबाट गैर–लाभ लिने मनसायले हिरा आचार्यको किर्ते हस्ताक्षर गरेर युवराज अध्यक्ष रहेको उपभोक्ता समितिको कोषाध्यक्ष राखिएको कांग्रेसले जनाएको छ।
योजनाको उपभोक्ता समिति गठन गर्न र सम्झौता गर्नका लागि मंसिर २३ गते नगरपालिकालाई पत्र प्राप्त भएको थियो तर मंसिर ६ गते नै युवराजको अध्यक्षतामा उपभोक्ता समिति गठन गरिएको र सोही समितिलाई योजना दिलाउने गलत नियत देखिएको कांग्रेसका छायाँ सरकार प्रमुख तिर्थराज भट्टराईले बताए। युवराजको अध्यक्षतामा बनाइएको उपभोक्ता समितिमा रहेकी कोषाध्यक्ष हिरा आचार्यले आफ्नो किर्ते हस्ताक्षर गरेर समितिमा राखेको भन्दै पुस १६ गते वडा कार्यालयमा उजुरी दिएकी थिईन्।
सम्झौताका लागि नगरपालिका पुग्दा अर्कै उपभोक्ता समितिलाई सम्झौताका लागि सिफारीस दिइसकेको पाइएपछि भवप्रसादको अध्यक्षतामा गठित उपभोक्ता समितिले वडा कार्यालयमा ताला लगाउने धम्की दिएपछि वडाध्यक्ष आचार्यले पुस १६ गते साँझ पत्रकार सम्मेलन नै गरेका थिए।
प्रकाशित: २३ माघ २०७६ १३:५९ बिहीबार