रौतहट – गरुडा नगरपालिका–२ को कार्यालय तोडफोडमा संलग्नलाई इलाका प्रहरी कार्यालय गरुडाले पक्राउ गरेको छ। गरुडा–२ को वडा कार्यालयमा तोडफोड गर्ने केही विद्यार्थी र अन्य गरी १८ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
वडा नम्बर २ गेडही गुठीमा सञ्चालित श्री माध्यमिक विद्यालयका शिक्षक र विद्यार्थीलाई निकालेर विद्यालयमा तालाबन्दी गर्दै वडाध्यक्ष विशुनदयाल सहनीविरुद्ध नाराबाजी गर्दै विद्यार्थीले वडा कार्यालयमाथि आक्रमण गर्न पुगेका थिए। आक्रमणबाट वडा कार्यालयमा व्यापक क्षति पुगेको छ। कार्यालयका कम्प्युटर, दराज, फर्निचर तथा सम्पूर्ण कागजपत्र नष्ट भएको छ। साथै वडा कार्यालयको सम्पूर्ण अभिलेख नै नष्ट भएको वडा कार्यालयले जनाएको छ।
घटनापछि इलाका प्रहरी कार्यालय गरुडा, गरुडा नगरपालिका कार्यालय र जनप्रतिनिधिको टोलीले वडा कार्यालय पुगी ६ लाख रुपैयाँभन्दा बढीको भौतिक क्षति पुगेको मुचुल्का तयार पारेका छन्।
वडा कार्यालयमा तोडफोड गर्ने समूह गरुडा नगरपालिका कार्यालयतर्फ अगाडि बढेको थियो। वडा कार्यालयबाट तीन किलोमिटर टाढा रहेको नगरपालिका कार्यालयमा आक्रमण गर्ने समूहले रोक्न खोज्ने प्रहरीमाथि नै आक्रमण गरेको थियो। वडा कार्यालयमा तोडफोड गर्ने समूहका १८ जनालाई नियन्त्रणमा लिइएको र आवश्यक छानबिन भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी नवीन कार्कीले जानकारी गराए।
केही अभिभावकको उक्साहटमा गत मंसिरको अन्तिम साता विद्यार्थीको एक समूहले मावि गेडही गुठीमा पनि तोडफोड गरेको थियो। विद्यालयमा तोडफोड गर्ने विद्यार्थीले नै नगरपालिकाको वडा कार्यालयमा तोडफोड गरेको हुन सक्ने भएकाले छानबिन भइरहेको डिएसपी कार्कीले बताए। वडा कार्यालयमाथि किन आक्रमण गरिएको हो भन्ने विषयमा छानबिन भइरहेको छ। आक्रमण गर्ने समूहले वडा कार्यालय वा विद्यालयमा कुनै लिखित माग पेस गरेको पाइएको छैन।
प्रकाशित: २३ माघ २०७६ ०२:४९ बिहीबार