१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

वडा कार्यालयमा तोडफोड गर्ने १८ पक्राउ

रौतहट- रौतहटको गरुडा नगरपालिकाको एउटा वडा कार्यालयमा तोडफोडमा संलग्न १८ जनालाई इलाका प्रहरी कार्यालय गरुडाले पक्राउ गरेको छ। गरुडा नपाको वडा नम्बर २ को वडा कार्यालयमा तोडफोड गर्ने केही विद्यार्थी र अन्य गरि १८ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

वडा नम्बर २ गेडहीगुठीमा सञ्चालित श्री माध्यमिक विद्यालयमा अध्ययन अध्यापन गराइरहेका शिक्षक र अध्ययन गरिरहेका विद्यार्थीलाई निकालेर विद्यालयमा तालाबन्दी गर्दै वडाध्यक्ष विशुनदयाल सहनीविरुद्ध नाराबाजी गर्दै विद्यार्थीहरुले वडा कार्यालयमाथि आक्रमण गर्न पुगेका थिए। आक्रमणबाट वडा कार्यालयमा व्यापक क्षति पुगेको छ। वडा कार्यालयको कम्प्युटर, दराज, फर्निचर तथा सम्पूर्ण कागजपत्रहरु नष्ट भएको छ। तोडफोडले वडा कार्यालयको सम्पूर्ण अभिलेख नै नष्ट भएको वडा कार्यालयले जनाएको छ।

घटनापछि इलाका प्रहरी कार्यालय गरुडा, गरुडा नगरपालिका कार्यालय र जनप्रतिनिधिहरुको टोलीले वडा कार्यालयमा पुगेर छ लाख रुपैयाँ भन्दा बढीको भौतिक क्षति पुगेको मुचुल्का तयार पारेका छन्।

वडा कार्यालयमा तोडफोड गर्ने समूह गरुडा नगरपालिका कार्यालयतर्फ अगाडि बढेको थियो। वडा कार्यालयबाट तीन किलोमिटर टाढा रहेको नगरपालिका कार्यालयमा आक्रमण गर्न पुग्न लाग्दा प्रहरीको टोलीले रोक्न खोज्दा आक्रमण गर्ने समूहले प्रहरीमाथि नै आक्रमण गरेको थियो। वडा कार्यालयमा तोडफोड गर्ने समूहका १८ जनालाई नियन्त्रणमा लिइएको र आवश्यक छानबिन भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपि नवीन कार्कीले जानकारी गराएका छन्।

केही अभिभावकको उक्साहटमा गत मंसिरको अन्तिम हप्ता विद्यार्थीहरुको एक समूहले मावि गेडहीगुठीमा पनि तोडफोड गरेको थियो। विद्यालयमा तोडफोड गर्ने विद्यार्थीले नै नगरपालिकाको वडा कार्यालयमा तोडफोड गरेको हुन सक्ने भएकोले छानबिन भइरहेको डिएसपि कार्कीले बताए।

वडा कार्यालयमाथि किन आक्रमण गरिएको हो भन्ने विषयमा छानबिन भइरहेको छ। आक्रमण गर्ने समूहले वडा कार्यालय वा विद्यालयमा कुनै लिखित माग पेश गरेको पाइएको छैन।

प्रकाशित: २२ माघ २०७६ १३:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App