१० आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

राष्ट्रपति कार्यालयमा ५ रुपैयाँमा किचेन र्‍याक, १० रुपैयाँमा प्रेस कुकर

काठमाडाैं – भान्सामा प्रयोग हुने एउटा किचेन र्‍याक वा १० लिटर क्षमताको प्रेसर कुकरको कति रुपैयाँ पर्छ होला ? अनुमान गरौं। त्यस्तै एउटा ओड्ने ठूलो छातालाई कति पर्ला ? तर हामीले अनुमान गरेको भने नमिल्न सक्छ। राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालयसहित ७ वटा अति विशिष्ट व्यक्तिको निवासमा कोटेश्वरस्थित कुशल इन्टरप्राइजेजले १० लिटरको प्रेसर कुकर ५ रुपैयाँमा उपलब्ध गराउने प्रतिबद्धता गरेको छ। तर उसले ५ लिटरको राइस कुकुर भने ५ हजार रुपैयाँमा बिक्री गर्छ। जब कि बजारमा सामान्यतया यस्तो कुकरलाई ४ हजार रुपैयाँभन्दा बढी पर्दैन। महाबौद्धमा व्यावसाय गर्दै आएका स्याङ्जाका श्याम थापाले ४ हजार रुपैयाँसम्ममा ५ लिटरको राइस कुकर पाइने दाबी गरे। यसैगरी पञ्चिङ मेसिनको २ रुपैयाँ मात्र भनिएको भए पनि लेजर टेपको भने प्रतिइकाइ ६ हजार रुपैयाँ तोकिएको छ।

सो इन्टरप्राइजेजले ७ उच्च व्यक्तिको निवास तथा कार्यालयमा पाइलट पेन प्रतिइकाइ २ सय रुपैयाँको दरले बेच्ने गर्छ तर भक्तपुर लोकन्थलीमा व्यवसाय गर्दै आएका रामहरि पाठकले भने उच्च गुणस्तरको पाइलट पेनको ८० देखि १ सय सम्ममा बेच्ने गरेको सुनाए। यता ६० रुपैयाँमा पाइने स्टाप्लर मेसिनलाई यसले १ सय रुपैयाा मूल्य तोकेको छ। कम्प्युटरका लागि प्रयोग हुने माउस प्याड प्रतिइकाइ ५ रुपैयाँ राखेको छ तर २१ इञ्चको डेस्टप कम्प्युटरलाई ५४ हजार प्रतिइकाइ मूल्य राखेको छ। सम्झौतापत्रमा यस वर्ष इन्टरप्राइजेजले ७ उच्च पदस्थ कार्यालयमा १० वटा डेस्कटप कम्प्युटर तथा ६ वटा ल्यापटप उलब्ध गराउने जनाएको छ। ल्यापटपको मूल्य ६८ हजार रुपैयाँ प्रतिइकाइ राखिएको छ। इन्टर प्राइजेजले ५ रुपैयाँमा किचेन र्‍याक, ५ रुपैयाँमा १० लिटरको प्रेसर कुकर, ५ रुपैयाँमा ठूलो छाता, ५ रुपैयाँमा इलेक्टिक जगलगायतका सामान उपलब्ध गराउने जनाएको छ।

गत वर्ष भिभिआइपी कार्यालयमा एउटा टाबेलको मूल्य ५ रुपैयाँ राखिएको थियो तर यस वर्ष उस्तै गुणस्तरको टाबेलको मूल्य १ हजार २ सय ५० रुपैयाँ राखिएको छ। उक्त कम्पनीले आर्थिक वर्ष २०७६/७७ का लागि १ सय ७७ वटा फरकफरक सामान उपलब्ध गराउने सम्झौता संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयसँग गरेको छ। संघीय सचिवालयले राष्ट्रपति, उपराष्ट्रपति कार्यालय, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष प्रधानन्यायधीश तथा पुल्चोकस्थित मन्त्री निवासका लागि आवश्यक पर्ने सबै सामान उपलब्ध गराउँदै आएको छ। यसका लागि सचिवालयले हरेक वर्ष टेन्डर आह्वान गर्ने गर्छ। यस वर्ष सचिवालयले आह्वन गरेको टेन्डरमा कुशल इन्टरप्राइजेजले पारेको छ। सचिवालयका प्रमुख रवीन्द्र बोहराले सार्वजनिक खरिद ऐन २०६३ र नियमावली २०६४ अनुसार सबभन्दा कम मूल्यमा प्रस्ताव गर्ने कम्पनीसँग टेन्डर सम्झौता गरेको बताए। उनले भने, ‘कानुनअनुसार सबैभन्दा कम मूल्य प्रस्ताव गर्ने कम्पनीसँग हामीले सम्झौता गरेका हाैं।’

सम्झौताअनुसार कुशलले यस आवमा ७ भिभिआइपीको लागि भान्साजन्य, सरसफाइ तथा दैनिक प्रयोजनको लागि प्रयोग हुने सामान उपलब्ध गराउने सम्झौता गरिएको छ। जसमा चालु आवका लागि सामान खरिदको मूल्यसमेत तोकिएको छ। १० रुैपयाँमा आइरन बोर्ड, २ रुपैयाँमा नुहाउने साबुन, २ रुपैयाँमा टुथ ब्रस उपलब्ध गराउने उसले जनाएको छ। कुशलका सञ्चालक ताराप्रसाद ढकालले आफूसँग स्टकमा सामान भएकाले यस वर्ष कम मूल्य राखिएको बताए। भिभिआइपी कार्यालयमा टेण्डर पार्न कुनै समानमा बजार मूल्यभन्दा कम राखी टेन्डरमा प्रस्ताव गरिएको उनले बताए। उनले भने, ‘तर समग्रमा भने हामीलाई घाटा हुँदैन।’ ७ भिभिआइपी कार्यालयमा कम मूल्यमा सामान उपलब्ध गराउने उसले सर्वसाधारलाई भने त्यो मूल्यमा उपलब्ध गराउँदैन।

चालु आवमा भिभिआइपी कार्यालयमा सामान उपलब्ध गराउन टेण्डर प्रस्ताव गरेको तर टेण्डर पाउन नसकेको ओमप्रकास कन्ट्रक्सनका प्रोपाइटर धिरज गिरीले भने महत्वपूर्ण सरकारी कार्यालयमा टेण्डर लिन व्यावसायीहरूवीच अस्वस्थ्य प्रतिष्पर्धा हुन गरेको बताए। ‘टेण्डर हात पार्ने नाममा व्यावसायवीच अस्वस्थ्य प्रतिष्पर्धा हुने गरेको छ। यस्तो अस्वस्थ्य प्रतिस्पर्धा हटाउन सरकारी नीति नियममा नै संशोधन गर्नु पर्छ,’ उनले भने। ७ भिभिआइपि निवास तथा कार्यालयमा भान्साजन्य, दैनिक प्रयोजन तथा सरसफाइजन्य समान उपलब्ध गराउने ठेक्का लिएको कुशलले यस आवमा संघीय संसद् सचिवालयलमा पनि सामान उपलब्ध गराउने ठेक्का पाएको छ।

किन घटेर प्रस्ताव गर्छन कम्पनीहरू ?
सार्वजनिक खरिद ऐन २०६३ र नियमावली २०६४ अनुसार २ करोड रुपैयाँभन्दा बढी मूल्य बराबरको सामान खरिद गर्दा प्राविधिक र आर्थिक दुईवटै प्रस्ताव हेर्ने व्यवस्था छ। तर सोभन्दा तलको सामान खरिदमा प्राविधिक प्रस्ताव नहेरी सोझै सबैभन्दा कम मूल्यमा प्रस्ताव गर्ने कम्पनीसँग टेन्डर सम्झौता गर्नसकिने व्यवस्था छ।

प्राविधिक प्रस्ताव पास भएपछि मात्र आर्थिक प्रस्ताव हेर्ने कानुनी व्यवस्था छ। प्राविधिक प्रस्तावमा पास हुन विगत वर्षको कारोबार, अनुभव, जनशक्ति, कारोबारो मूल्यलगायतलाई आधार मानिन्छ। ‘विगतमा २ करोडमुनिका टेन्डर सम्झौता गरेका कम्पनीलाई २ करोडमाथिको टेन्डर पाउन आधार तयार हुन्छ,’ सचिवालयका एक उच्च कर्मचारीले भने, ‘त्यसैलै ठूलो टेन्डर हात पार्न आधार तयार गर्न कम्पनीहरू सानो सानो टेण्डरमा लागतमूल्य भन्दा कम मूल्यमा टेन्डर प्रस्ताव गर्ने गर्छन।’

संसद् सचिवालयसँग कुशल इन्टरप्राइजेजले लागत मूल्यभन्दा ३० प्रतिशत घटेर टन्ण्डर प्रस्ताव गरेको छ। ‘यती हुँदा हुँदै पनि कुशललाई समग्रमा घाटा हुँदैन। सोझै ‘होलसेल’बाट सामान खरिद गरेर पनि केही कम मूल्यामा प्रस्ताव गरिएको हुन्छ,’ बोहराले भने। तर एक व्यावसायी भन्छन्, ‘टेन्डर सम्झौता गरेका कम्पनीले सम्झौता गरिएअनुसारको सामान अभावलायतका कारण देखाएर दिँदैनन्।’

प्रकाशित: २१ माघ २०७६ ०२:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App