२५ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

मापदण्डविपरीत उत्खनन रोक्न प्रहरी परिचालन

बारा – खोलानदीबाट नदीजन्य पदार्थ ठेक्का सकार गरेका ठेकेदारले मापदण्डविपरीत उत्खनन गरिरहेको भन्दै चारैतिरबाट विरोध भएपछि बुधबारदेखि प्रहरी परिचालन गरिएको छ। जितपुरसिमरा उपमहानगरपालिकाले बालगंगा, दुधौरा र पसाह, कोल्हवी र निजगढ नगरपालिकास्थित लालबकैया खोलामा भइरहेको मापदण्डविपरीत नदीजन्य पदार्थ उत्खनन रोक्न प्रहरी परिचालन गरिएको बाराका प्रहरी उपरीक्षक विकाशराज खनालले बताए।

तीनवटै स्थानीय तहको अधिकार क्षेत्रमा रहेका खोलाबाट ठेकेदार वा नगरपालिकाका कर्मचारीले नदीजन्य पदार्थलाई मापदण्डविपरीत उत्खनन गरेर बिक्री गर्दै आएको नदीजन्य पदार्थ उत्खननसम्बन्धी जिल्ला अनुगमन समितिले जनाएको छ। मापदण्डविपरीत उत्खननले खोला क्षेत्रका वन र बस्ती जोखिममा पर्नुका साथै र नदीहरूले धारसमेत परिवर्तन गर्ने डर भएपछि जिल्ला समन्वय समिति प्रमुखको संयोजकत्वमा रहेको नदीजन्य पदार्थ उत्खननसम्बन्धी जिल्ला अनुगमन समितिले त्यसलाई तत्कालका लागि रोक्का राख्ने सोमबार निर्णय गरेको थियो।

प्रारम्भिक वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनमा खोलानालाको सतहदेखि तीन फिट गहिराइसम्म मात्रै ढुंगा, गिटी, बालुवा र ग्राभेल निकाल्न सकिने भनिए पनि ठेकेदार र कर्मचारीले १० फिटसम्म उत्खनन गरेर नदीजन्य पदार्थ बिक्रीवितरण गर्दै आएकाले यसलाई तत्काल रोक्नुपर्ने अवस्थामा पुगेको बाराका प्रजिअ फडिन्द्रमणि पोखरेलले बताए। स्थानीय तहका पदाधिकारीको आर्थिक लाभका कारण खोलानालामा मापदण्डविपरीतको उत्खननको चारैतिरबाट विरोध भएपछि जिल्ला समन्वय समिति बाराका प्रमुख नवलकिशोर सिंहको नेतृत्वमा ती खोलाको स्थलगत अनुगमन गरिएको प्रजिअ पोखरेलले जानकारी दिएका छन्।

अनुगमन गर्ने क्रममा मापदण्डविपरीत खोला उत्खनन गरेको देखेर त्यस कार्यमा संलग्न ठेकेदार वा कर्मचारीलाई कारबाही गर्न वा ठेक्का खारेज गर्न स्थानीय तहलाई लिखित रूपमै भनिए पनि सुरुमा अवज्ञा गरेको अवस्थामा प्रहरी परिचालन गर्नुपर्ने बाध्यता आएको जिल्ला समन्वय समिति प्रमुख सिंहले बताए।

उत्खननमा रोक लगाइएका खोलामध्ये जितपुरसिमरा उपमहानगरले तीनवटा खोलाको नदीजन्य पदार्थको उत्खननको ठेक्का लगाएको जिल्ला समन्वय समिति बाराले जनाएको छ। प्रारम्भिक वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनमा पसाल, दधौरा र बालगंगा गरेर तीनवटै खोलाबाट ९३ लाख ५९ हजार क्युफिट नदीजन्य पदार्थ उत्खनन गर्न सूचना निकाल्दा तीनवटा कम्पनीले ठेक्का सकार गरेको जितपुरसिमरा उपमहानगरप्रमुख प्रशासकीय अधिकृत शिवराज सेढाइले बताए।

प्रतिक्युफिट ६ रुपैयाँ न्यूनतम मूल्य राखेर निकालिएको सूचनामा ठेकेदारले प्रतिस्पर्धामा बढी रकममा ठेक्का सकार गरेको सेढाइले बताए।

बालगंगा खोलाबाट लगभग २१ लाख १० हजार क्युफिट नदीजन्य पदार्थ उत्खनन गर्न हेटौंडाको न्यु पाथीभरा सप्लार्यसले ठेक्का सकार गरेको जितपुरसिमरा उपमहानगरले जनाएको छ।

३ करोड ५७ लाखमा नदीजन्य पदार्थको ठेक्का सकार गरेको न्यु पाथीभराले बालगंगा खोलाको २ स्थानबाट नदीजन्य पदार्थ उत्खनन गर्नुपर्ने प्रशासकीय अधिकृत सेढाईले बताए। दुधौरा खोलाबाट लगभग २७ लाख दुई हजार क्युफिट नदीजन्य पदार्थको उत्खनन गर्न सिमराको श्रेष्ठ बिल्डर्सले ठेक्का सकार गरेको जितपुरसिमरा उपमहानगरले जनाएको छ। ३ करोड ७९ लाख रुपैयाँमा नदीजन्य पदार्थको ठेक्का सकार गरेको श्रेष्ठले दुधौरा खोलाको पाँच स्थानबाट नदीजन्य पदार्थ उत्खनन गर्नुपर्ने सेढाईले बताए।

पसाह खोलाबाट लगभग ५४ लाख ४६ हजार क्युफिट नदीजन्य पदार्थको उत्खनन गर्न कलैयाको ओम सप्लायर्सले ठेक्का सकार गरेको जितपुरसिमरा उपमहानगरले जनाएको छ।

३ करोडमा नदीजन्य पदार्थको ठेक्का सकार गरेको ओम सप्लायर्सले खोलाका तीन स्थानबाट नदीजन्य पदार्थ उत्खनन गर्नुपर्ने सेढाइले बताए। समन्वय समितिले रोक लगाएको विषयमा बोल्दा अर्कै अर्थ लाग्न सकिने भएकाले यसको विकल्प खोज्ने कार्यमा लागेको उनले सुनाए।

प्रकाशित: १६ माघ २०७६ ०३:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App