२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

गाँजा ओसारपसार रोक्न खोज्दा गोली प्रहार

मकवानपुर – पछिल्लो समय गाँजा ओसारपसार रोक्न खोज्दा प्रहरीले गोली प्रहार गर्ने क्रमलाई तीव्रता दिएको छ। चालू आवमै झन्डै आधा दर्जन घटनामा गोली प्रहार गरी गाँजा, सवारीसाधन र संलग्न तस्करलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले मंगलबार मध्यराति गोली प्रहार गरी ३२ किलोग्राम गाँजासहित तीनजना भारतीय तस्करलाई पक्राउ गरेको छ। पूर्व–पश्चिम राजमार्गस्थित हेटौंडा उपमहानगर–११, थाना भ-याङमा गाँजा बोकेको भारतीय बीआर ०६जे ४४५७ नम्बरको कारको टायरमा गोली प्रहार गरी प्रहरीले गाँजा र उनीहरूलाई नियन्त्रणमा लिएको हो।

प्रहरीले हवाई फायरसमेत गरी कारका चालक भारतको मुजफ्फरपुरका ३५ वर्षीय सञ्जीव पासवान, ३५ वर्षीय अजैमल हवारी र ४५ वर्षीया जाहेरा खातुन रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख एवं प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले बताए। ‘विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय हेटौंडाबाट खटिएको प्रहरी टोलीले मनहरीबाट हेटौंडा आउँदै गरेको कार रोक्न खोज्दा रोकिएन,’ उनले भने, ‘कार भैरवडाँडातर्फ भागेपछि चाइनिज पेस्तोलबाट एक राउन्ड हवाई फायर गर्दासमेत रोकिएन, त्यसपछि बाध्य भई प्रहरीले कारको टायरमा फायर गरेको थियो।’

उनका अनुसार भारतीय महिला जाहेरालाई बिरामी बनाई अर्का भारतीय अजैमललाई बिरामी कुरुवा बनाएर गाँजा तस्कर भइरहेको रहेछ। कारको पछाडिको सिटमुनि फल्स बटम बनाई १६ वटा पोकामा गाँजा फेला परेको भन्दै प्रहरी उपरीक्षक राठौरले उनीहरूमाथि थप अनुसन्धान भइरहेको बताए। यसैबीच, गाँजासहित उनीहरूलाई जिल्ला प्रहरी कार्यालयतर्फ ल्याउँदै गर्दा ना५ख ५५८२ नम्बरको रात्रि बसले वडा प्रहरीको ना१झ १४१७ नम्बरको मोबाइल भ्यानलाई ठक्कर दिँदा प्रहरी निरीक्षकसहित पाँचजना घाइते भएका छन्। घाइते हुनेमा वडा प्रहरीका प्रमुख एवं प्रहरी निरीक्षक ईश्वरीप्रसाद भण्डारी, प्रहरी हवल्दार शुक्रराज खत्री, जिल्ला प्रहरी कार्यालयका प्रहरी हवल्दार नरबहादुर राई, प्रहरी जवान समुन्द्र श्रेष्ठ, सुरेश कुमाल र भारत, मुजफ्फरपुरकी ४५ वर्षीया जाहेरा खातुन रहेका छन्। घाइतेको हेटौंडास्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको छ।

लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम लागुऔषध ओसारपसारमा संलग्नलाई दुई वर्षदेखि १० वर्षसम्म कैद र १५ हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना तथा सवारीसाधन जफत हुने व्यवस्था छ।

यसअघि, चार राउन्ड गोली प्रहार गरी प्रहरीले ३२ किलो गाँजासहित पुस १८ गते दुई भारतीय र एक नेपालीलाई पक्राउ गरेको थियो। पक्राउ पर्नेमा कारचालक भारत, विहार राज्यको मोतिहारी जिल्ला, पूर्वी चम्पारण कुडुवा चैनपुर बारबाका ३७ वर्षीय दीलिपकुमार सिंह, मोतिहारी, रघुनाथपुरका १८ वर्षीय उज्ज्वलकुमार ठाकुर र रौतहटको यमुनामाई गाउँपालिका–४ का २४ वर्षीय विकाश सिंह रहेका थिए।

प्रकाशित: १६ माघ २०७६ ०३:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App