२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

छुइ प्रथा उन्मूलन महाअभियान, धामी बने सद्भावना दुत

छुइप्रथा उन्मुलनका लागि नियुक्त सद्भावना दुतलाई अबिर लगाई दिँदै प्रजिअ बञ्जाडे । तीस्बर: नागरिक

जुम्ला- जुम्लाका प्रत्येक स्थानीय तहमा छुइ (छाउपडी ) प्रथा उन्मुलनका लागि सद्भावना दुत नियुक्त गर्ने अभियान चलेको छ। सद्भावना दुतमा धामीझाँक्री, पुरोहित, सञ्चारकर्मी र जागरुक महिला सम्मिलित छन्। यहाँको हिमा गाउँपालिकाबाट सद्भावना दुत नियुक्ती कार्य सुरु भएको हो।

प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडे मनभित्रका छुई गोठ भत्काउन विभिन्न विकल्प अपनाउदै आएको बताउँछिन्। उनले भनिन्, ‘छुइ प्रथा सरकारले नै कुरीतिका रुपमा घोषणा गरिसकेको भएपनि मनभित्रको छुइगोठ भत्काउन कठिन छ। जसका लागि स्थानीय प्रशासनले सबै प्रकारका विकल्प अवलम्बन गरेर अघि बढ्न थालेको छ। त्यो मध्येको एक बिकल्प हो, गाउँगाउँमा सद्भावना दुत नियुक्त गर्नु।’

सद्भावना दुत बन्नका लागि धामी झाँक्री, पुरोहितले ‘छुइ प्रथा मान्दैनौँ, मान्न बाध्य पार्दैनौँ ’ भनेर प्रतिबद्धता जाहेर गर्नुपर्ने छ। यहाँ छुइ गोठ अलग्गै छैनन्। मनभित्रका छुइ गोठ भत्काउन सचेतनाका क्रियाकलापमा जोड दिइएको प्रमुख जिल्ला अधिकारी बञ्जाडे बताउँछिन्। पहिलो चरणमा हरेक नागरिकलाई छुइ प्रथा उन्मुलनमा प्रतिबद्ध गराउदै लैजाने र छुइ प्रथा मान्ने धामी, झाँक्रीलाई सद्भावना दुतमा नियुक्त गरेर गाउँगाउँमा परिचालन गर्ने लक्ष राखिएको छ।

सुरुमा उनीहरुले म छाउपडी मान्दैन भन्नु पर्नेछ, प्रमुख जिल्ला अधिकारी बञ्जाडेले भनिन्,‘ त्यसपछि मात्र उनीहरुले गाउँका स्थानीयदेखि सर्वधारणलाई कन्भिन्स गर्न पठाइनेछ। प्रत्येक सद्भावना दुतमा सञ्चारकर्मीको प्रतिनिधित्व गराइनेछ।’ प्रत्येक स्थानीय तहमा सद्भावना दुत नियुक्त गरिसकेपछि जिल्लामा महायज्ञ सञ्चालन गर्ने तयारी स्थानीय प्रशासनको छ। एक दिन सञ्चालन हुने महायज्ञको मुख्य भाव ‘छुइ प्रथा उन्मुलनाय नमः’ हुनेछ। त्यसपछि मात्र जुम्ला छुइप्रथा मुक्त जिल्ला घोषित हुन योग्य ठहरिने छ।

स्थानीय तह, जनप्रतिनिधि र प्रहरीसंग मिलेर सद्भावना दुतले कार्य गर्नुपर्ने छ। सद्भावना दुत बन्न धामीझाँक्री र पुरोतिहत इच्छुक देखिन्छन्। जिल्ला प्रशासन कार्यालय, जुम्लाले सुरुवात गरेको छुइप्रथाविरुद्धको महाअभियान स्थानीय तहको बस्तीबस्ती हुँदै नागरिकको घरघरमा पुगिसकेको छ।  प्रत्येक व्यक्तिको मनमनमा पुर्‍याउन सद्भावना दुत नियुक्त गर्न थालिएको हो।

पहिलो पटक जुम्लाको हिमा गाउँपालिकामा सद्भावना दुत नियुक्त गरिएको छ। जसमा हिमा गाउँपालिका, वडाध्यक्ष, धामीझाँक्री, शिक्षक, पत्रकार, पुरोहित सबैको प्रतिनिधित्व छ। हिमा गाउँपालिका वडा नम्वर ४ का वडाध्यक्ष मुनबहादुर बुढा, शिक्षिका शान्ति शाही, धामी पुर शाही पत्रकार, नेत्र शाही, धामी चक्र शाही, दानकला शाही र वेलकोशा सार्की सद्भावना दुतमा नियुक्त भएका छन्।

छूइगोठ संगसंगै अन्धविश्वास र अशिक्षाका गोठ भत्किने विश्वास लिएका छौं, प्रमुख जिल्ला अधिकारी बञ्जाडे भन्छिन्, ‘आउनुहोस हामी सबै हातेमालो गरौँ, छुइप्रथा लगायतका कुसंस्कार कुरिती उन्मूलन महाभियानमा सहभागी बनौँ।’ गृहमन्त्रालयले छुइ गोठ भत्काउन र छुइ प्रथाका कारण हुने हिंसा उन्मुलन गर्न स्थानीय प्रशासनलाइ निर्देशन गरेको थियो। जसमा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा सरकारी वकिल र प्रहरी प्रमुख रहने गरि छुइ प्रमुख उन्मुलन समिति गठन गर्नु पर्ने गरि परिपत्र गरेको थियो।

ग्रामिण क्षेत्रका महिला छुइ हुँदा धामी झाँक्रीको असाध्यै डर मान्छन्, प्रमुख जिल्ला अधिकारी बञ्जाडेले थपिन्, ‘धामी नै छुइ हुँदा गोठ बस्नु हुँदैन भन्दै घरदैलोमा गएपछि महिलाको मनोबल बढ्न सक्ने र सधैँका लागि छुइ प्रथा हटाउन सकिने सम्भावना बलियो हुनेछ।’ कर्णाली प्रदेश सरकारले पनि चालु आर्थिक वर्षभित्रै छुइमुक्त कर्णाली प्रदेश बनाउने साझा प्रतिबद्धता जनाइसकेको छ। छुइ प्रथा उन्मुलन अभियान मध्ये तथा सुदुरपश्चिम क्षेत्रका सबै जिल्लामा चलेको छ। छुइ गोठ भएका बस्तीमा गोेठ भत्काउने र गोठ नभएको क्षेत्रमा मनभित्रका छुइगोठ भत्काउने अभियानले तीव्रता पाएको छ।
 

 

प्रकाशित: १५ माघ २०७६ ०७:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App