८ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

गाउँमा सिंहदरबार पुग्यो, औषधि र चिकित्सक पुगेनन्

जुम्ला- हुम्ला खार्पुनाथ गाउँपालिका- १ लालीका बीरजन शाही ज्वरो, रुघाखोकी, नाकबाट पातलो पानी बग्ने र हड्डी दुख्ने समस्याले ग्रसित छन्। उनी पटकपटक उपचारका लागि नजिकैको स्वास्थ्य संस्थामा पुगेर पनि औषधि उपचार नपाउदा निकै दुखि छन्। गाउँमा सिहंदरबार पुग्यो। बिरामीलाई औषधि र उपचार गर्ने चिकित्सक पुगेनन्। अन्तत: अकालमा मर्नुपर्ने अवस्थाको सिर्जना भयो। उनले भने, ‘बिरामी दिनानुदिन बढ्दैछन्, उपचारका लागि न स्वास्थ्य संस्थामा औषधि छ, नत उपचार गर्ने स्वास्थ्यकर्मी। नाम मात्रको स्वास्थ्य संस्था गाउँमा राख्नुको कुनै अर्थ छैन।’

स्थानीय स्वास्थ्य संस्थामा पर्याप्त औषधि र दक्ष स्वास्थ्यकर्मी नहुँदा नियन्त्रणमा ल्याउन समस्या परेको भइरहेको छ। ‘मेरो गाउँमा पुस महिनापछि ६ वर्षको बच्चासहित मौसमी फ्लुका कारण ८ जनाको ज्यान गइसक्यो, उनले थपे,‘गाउँपालिकाबाट ल्याएको औषधि एक हप्ता नपुग्दै सकियो। अहिले गाउँमा बिरामी नभएको घर छैन। सबै घरमा बिरामी छन्।’ वृद्धवृद्धा र बालबालिका गरी १ नम्बर वडामा मात्र कम्तीमा ३ देखि ४ सय जना बिरामी भएको शाही बताउँछन्।

खार्पुनाथ गाउँपालिकाका स्वास्थ्य संयोजक बलिराज शाही गाउँमा प्रकोप फैलिएर बिरामीको ज्यान गइरहदा पनि सरकारले तदारुकता देखाउन नसकेको बताउँछन्। खार्पुनाथ गाउँपालिकामा मृत्यु भएका ८ जनामा  एक जना बच्चासहित ३ जनाबाहेक सबैमा दम र दिर्घ रोग रहेको उनको भनाइ छ। हुम्लाका स्थानीयले स्वास्थ्य चौकी र सामुदायिक स्वास्थ्य इकाईहरूमा सिटामोल समेत नपाएर ज्यान गुमाउनु परेकोमा दुखेसो पोखेका छन्।

हुम्ला जिल्ला अस्पतालका डाक्टर नविन रोकाया र सर्केघाट गाउँपालिकाको टोली प्रकोप प्रभावित क्षेत्र उनापानीमा पुगिसकेको छ। टोलीका अनुसार चेकजाँच गरेका ५ सय जनामा ४ सय ७० जनालाई मौसमी फ्लुको लक्षण भेटिएको थियो। गाउँमा फैलिएको सामान्य रुघाखोकी भएकोले डराउनु पर्ने अवस्था नरहेको डा.रोकायाले जानकारी दिए। चंखेली ६ मेल्छामको मासिधारामा अहिलेसम्म न औषधि पुगेको छ, नत स्वास्थ्यकर्मी नै। बिरामी औषधि र स्वास्थ्यकर्मी कुर्दै बसिरहेका छन्।

गाउँका स्वास्थ्य संस्थाका अनुसार मौसमी फ्लुका कारण हुम्लामा १४ जनाको मृत्यु भएको छ। मौसमी फ्लुका कारण चंखेली, सर्केघाट र खार्पुनाथ गाउँपालिकामा गरेर १४ जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा चंखेली–६ मेल्छामको मासिधाराका ३९ वर्षीया जुनकला शाही, ६० वर्षीया प्याउली शाही, ६५ वर्षीया गौरीकला सार्की, ७० वर्षीय जसुराम सार्की,सर्केगाड–३ उनापानीका ५५ वर्षीय रंगमल फडेरा, खार्पुनाथ गाउपालिकाको लालीका ७० वर्षिय देउधन सार्की,ं ७९ वर्षिय बृर्षे शाही, ५५ वर्षकी बेलसरा शाही, ७२ वर्षका पाथे ऐडी, ७० वर्षका गोपिसंह बुढा, ६५ वर्षकी सजकला बुढा, ६० वर्षका रणबिर बिष्ट, ६ वर्षका बालक युबराज शाही, बडा नं ३ की ३५ वर्षकी चन्दा बुढाको मृत्यु भएको हो।

जिल्ला प्रशासन कार्यालय हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमाल हिमपातसंगै टेलिफोन सेवा बन्द भएका कारण प्रभावित क्षेत्रको अवस्था बुझ्न नसकिएको बताउँछन्। उनले भने,‘ प्रहरीले कुनै जोहेरी पठाएको छैन। टेलिफोन लाग्दैन। सोमबार साँझदेखि निरन्तर हिउँ परिरहेको छ। चिकित्सकको एक टोली त्यसतर्फ हिडिसकेपछि सम्पर्कमा छैन।’ हुम्लाको प्रमुख जिल्ला अधिकारी नै बाजुराको अन्तरजिल्ला बैठक सकाएर मौसमी फ्लु प्रभावित क्षेत्र हुँदै सदरमुकाम सिमिकोट आउने उनले बताए।

कर्णाली प्रदेश सरकारले प्रदेश अस्पताल सुर्खेतका डा. सागर दाहाल, मेहलकुना अस्पतालका डा.विवेक शाहसहितको स्वास्थ्यकर्मी टोली र औषधि पठाएको छ। औषधिसहित हुम्ला पुगेको टोलीले बिहानै प्रभावित क्षेत्रमा पुग्न सकेको छैन। निरन्तर हिमपात भइरहेकोले त्यस क्षेत्रमा जान सकेको नसकेको स्थानीय जनकबहादुर शाही बताउँछन्। उनले भने,‘हिउँले अत्यधिक चिसो बढेको छ। टेलिफोन लाग्न नसकेकोले पछिल्लो अवस्था बुझ्न सकिएको छैन। गाउँमा बिरामी औषधि उपचारको पर्खाइमा छन्। चिकित्सक सदरमुकाममा हिउँमा जान नसक्दा थन्किएका छन्। प्रतिकुल मौसमका कारण झन रुघाखोकीका बिरामी बढ्न सक्ने अवस्था देखिएको छ।’

जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाबाट गएको चिकित्सकको टोली बाटोमै छ। सरकारले मौसमी फ्लु प्रभावित क्षेत्रमा चिकित्सक र औषधि पठाउन निकै ढिला गरेको स्थानीय बताउँछन्। सामान्य बिरामी हुँदा हेलिकप्टर लिएर जाने कर्णाली सरकारले गाउँ नै बिरामी पर्दा खेलाँची गरिरहेको आरोप हुम्लाबासीको छ।

स्वास्थ्य महाशाखा कर्णाली प्रदेशका प्रमुख बिर्खबहादुर शाही सरकारले खटाएको टोली हुम्ला पुगिसकेको बताउँछन्। तर प्रतिकुल मौसमका कारण गाउँमा जान सकेको छैन, उनले भने,‘औषधि र चिकित्सक सदरमुकाम हुम्लामै बसिरहेका छन्। मौसममा सुधार आउने बित्तिकै प्रभावित क्षेत्रमा जाने तयारी भइरहेको छ।’ सदरमुकाम खलंगामा चिकित्सकको टोली सोमबार नै पुगिसकेको छ। त्यति धेरै बिरामी छैनन्। अवस्था सामान्य नै छ । सेवा सुविधा दिनको लागि भएपनि टोली गाउँतिर जाने तयारीमा रहेको छ।’

कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयले हुम्लाको मौसमी फ्लुको बिरामीको अवस्था समेटिएको प्रतिबेदन सार्बजनिक गर्दै माघ १२ पछि कुनै पनि स्थानमा रुघाखोकीबाट मृत्यु भएको जानकारी नआएको स्पष्ट पारेको छ। स्वास्थ्यकर्मीलाई विदामा भएको अवस्थामा समेत आफ्नो कार्यक्षेत्रमा फिर्ता हुन निर्देशन गरिएको छ।’

प्रदेश अस्पताल बीरेन्द्रनगर सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान दुबै हब अस्पतालका रुपमा तयारी भएको र स्याटलाइट अस्पतालहरुमा थप क्षमता अभिबृद्धिको आवश्यकता रहेको प्रतिबेदनमा उल्लेख छ। स्वास्थ्य सेवा निर्देशनालयका लागि भिटिएम कम्तीमा २० वटा,मेडिएम २० वटा,फ्लु मेडिसिन् र लङ स्प्राइ डेट भएको फ्लुसंग सम्बन्धित २ सयवटा,ऐन ९५ मास्क माग गर्ने निर्णय भएको छ।

अन्य ठाउँमा सामान्य बिरामीका लागि हेलिकोप्टर लिएर पुग्ने प्रदेश सरकारले दुई सातादेखि हुम्लामा फैलिएको फ्लु नियन्त्रणका लागि खासै चासो नदेखाएको स्थानीयको गुनासो छ। तीन सातादेखि फैलिएको मौसमी फ्लुका कारण हुम्लामा सात जनाको मृत्यु भइसकेको छ। हुम्लाका धेरै स्थानमा मौसमी फ्लुको प्रकोप रहे पनि मुख्यतया चंखेली गाउँपालिका–६ को मासीधारा र सर्केगाड गाउँपालिका–३ को कुनापानी क्षेत्र धेरै प्रभावित छन्।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले सामाजिक विकास मन्त्रालयसंग सहकार्य गरेर डा. सुवेस चौधरी र टंक आचार्यलाई खटाइएको जानकारी दिएको छ। उनीहरु प्रकोप नियन्त्रण नहुँदासम्म नफर्कने उनले जानकारी दिए।

 

प्रकाशित: १५ माघ २०७६ ०७:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App