६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

लागुऔषध नेपाल भित्र्याउँदै गर्दा भारतीय महिला पक्राउ

सर्लाही- लागुऔषधको रुपमा प्रयोग हुने प्रतिबन्धित औषधिहरु नेपालतर्फ भित्र्याउँदै गरेको अवस्थामा सर्लाहीबाट एक भारतीय महिला पक्राउ परेकी छन्। मंगलबार दिउँसो सदरमुकाम मलंगवाबाट भारत बिहार राज्य सितामाढी जिल्ला भलुवहा ग्राम पञ्चायत–१३ निवासी ३५ वर्षीया सितादेवीलाई लागुऔषधको रुपमा प्रयोग हुने विभिन्न औषधिहरु बोकेर हिँडिरहेको अवस्थामा पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ। सशस्त्र प्रहरीका अनुसार मलंगवा नगरपालिका–८ विद्युत प्राधिकरण कार्यालय अगाडी टाउकोमा गहुँको बोरा बोकेर हिँडिरहेकी सितादेवीमाथि शंका लागेर चेकजाँच गर्दा उक्त बोराभित्र लागुऔषध फेला परेको हो।

सशस्त्र प्रहरी बल जिल्ला सुरक्षा बेस मलंगवाको गस्ती टोलीले सितादेवीले बोकेको बोराभित्रबाट नोर्फीन, डाईजेपाम लगायत विभिन्न २९५ थान २ एमएल साईजका लागुऔषध बरामद गरिएको जनाएको छ। आवश्यक कानूनी कारबाहीका लागि बरामद लागुऔषधसहित सितादेवीलाई नेपाल प्रहरी समक्ष बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

भारतबाट दैनिक उपभोग्यका रुपमा प्रयोग हुने खाद्यान्न लगायत विभिन्न सामाग्री ल्याउने क्रममा महिलाहरुले त्यस्ता सामाग्रीभित्रै लुकाएर लागुऔषध नेपाल भित्र्याउने गरेको रहस्य समेत खुलेको छ। भारतको सोनबर्षा लगायत बजारबाट महिलाहरुले घरायसी प्रयोगका लागि भन्दै सहज रुपमा दैनिक उपभोग्य सामाग्री ल्याउने गर्दछन्। तर सहजताको फाइदा उठाउँदै लागुऔषध समेत ओसारपसार हुने गरेको तथ्य फेला  परेको छ।

केही दिनअघि मात्र ठूलो मात्रामा भारतबाट लागुऔषध नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा कास्कीको लेखनाथ पोखरा महानगरपालिका–१ घरभई हाल तनहुको शुक्लागण्डकी नगरपालिका–३ बस्ने ३५ वर्षीय पूर्णबहादुर तामाङ तथा तनहुको शुक्लागण्डकी नगरपालिका–७ का ४३ वर्षीय यज्ञचन्द्र आलेलाई नेपाल प्रहरीको टोलीले पक्राउ गरेको थियो।

भारतको सोनबर्षाबाट सर्लाहीको पर्सा गाउँपालिकातर्फ उनीहरु चढेर आउँदै गरेको बा. १२ च ३५२७ नम्बरको कार भित्रबाट १०० मिलिलिटरको २१० बोतल फेन्सिडिल र ९०० थान नाईट्राभेट ट्याब्लेट, नगद ३ लाख ६७ हजार रुपैयाँ, हङकङ डलर २४ तथा ५० सेन्ट, ५ थान मोबाईल लगायत बरामद भएको थियो।

प्रकाशित: १४ माघ २०७६ १४:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App