७ वैशाख २०८१ शुक्रबार
समाज

'नेपालमा कोरोना भाइरसको खतरा छैन'

काठमाडौं- नेपालमा देखिएको 'कोरोना भाइरस’ विश्वका अन्य मुलुकमा देखिएको जस्तो खतरनाक नभएको चिकित्सकहरुले बताएका छन्।

शुक्रराज ट्रपिकल एण्ड सरुवा रोग अस्पतालका चिकित्सक डा. शेरबहादुर पुनले प्रारम्भिक अध्ययनबाट विश्वका अन्य मुलुकमा देखिएजस्तो नेपालमा धेरे खतरा नभएको बताएका हुन्। अमेरिका लगायतका मुलुकमा देखिएको समस्या जस्तो नेपालमा धेरै कम खतरा रहेको उनले बताए। 'प्रारम्भिक नतिजामा चिन्ता गर्नुपर्ने विषय देखिएन्। हाम्रोमा यो रोगका विषयमा धेरैलाई जानकारी नभएकोले पनि चिन्ता बढेको होकी’, उनले भने, 'चीनमा अहिलेसम्म १७ जनाको मृत्यु भएको पुष्टि भएको छ। तर मृत्यु हुनेमा सबै ७० वर्षभन्दा माथिका र दिर्घरोगी छन्। बालबालिका र युवाहरुमा ज्यानै जानेगरी संक्रमण देखिएको छैन।’

अस्पतालका अर्का चिकित्सक डा. बाशुदेव पाण्डेले सुरुमा स्वाईनफ्लुको जस्तै रुघाखोकी लाग्ने, ज्वरु आउने र स्वासप्रस्वासमा समस्या देखिने जस्ता लक्षण देखिन सक्ने बताए। यी लक्षणहरु देखिए पनि चिन्ता लिनुपर्ने अवस्था नरहे पनि चेकअपका लागि अस्पताल जान उनले आग्रह गरे।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रदिप श्रेष्ठले चीनको वुहान प्रान्तबाट सुरुमा यो भाइरसको विस्तृत प्रकोप दर, यसका लक्षण र कति समयपछि असर गर्छ भन्ने कुराहरु अझै अध्ययनकै क्रममा रहेको बताए। विश्वभरी फैलिएको यो रोगका विषयमा धेरे प्रश्नहरु अनुत्तरित रहेको बताउदै उनले नेपालमा फैलन सक्ने संक्रमण तर्फ मन्त्रालय सतर्क रहेको बताए।

नेपालमा एकजनामा संक्रमण भेटिएको र उनको सम्पर्कका अन्य व्यक्तिहरुको सुची तयार गरी सबैको अवस्थाका विषयमा जानकारी लिने काम भइरहेको उनले बतए। चीनसँग जोडिएका नाकाहरु र त्रिभुवन विमानस्थलमा चीनबाट आउने सबैको स्वास्थ्य परीक्षण गर्ने काम भइरहेको उनले जनाकारी दिए। कुनै व्यक्तिमा लक्षण देखिएमा शुक्रराज ट्रपिकल सेन्टर, पाटन अस्पताल लगायत अन्य नीजि तथा सरकारी अस्पतालमा उपचारको व्यवस्था गर्नेगरी मन्त्रालय अगाडी बढेको उनले बताए।

प्रकाशित: ११ माघ २०७६ १०:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App