८ वैशाख २०८१ शनिबार
समाज

मकवानपुर गढीमा मनाइयो विजय उत्सव

मकवानपुर- गोर्खाली सेनाले तत्कालीन मुगल बादशाह मिरकासिमको सेनालाई पराजित गरेको ऐतिहासिक सम्झनामा मकवानपुरगढीको २ सय ५७ औं विजय उत्सव कार्यक्रम भव्य रुपमा मनाएको छ। कार्यक्रमको बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले शुक्रबार उद्घाटन गर्दै नेपालको राष्ट्रिय झण्डोत्तोलन गरेका थिए।

मकवानपुरगढी मुल आयोजक समितिले आयोजना गरेको विजय उत्सवका अवसरमा मुख्यमन्त्री पौडेलले सेतो हात्तिको मूर्तिको अनावरण गरेका थिए। मकवानपुर क्षेत्र नम्बर १ का सांसद तथा प्रतिनिधि सभको अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालले मकवानपुर गढीको ऐतिहासिक महत्व रहेकाले विकास र प्रबद्र्धन गर्नुपर्ने बताए। बागमती प्रदेश सांसद प्रेमबहादुर पुलामी र मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईले गढीलाई धार्मिकसहित पर्यटकीय स्थलका रुपमा विकास गरिदै लगिएको बताउँदै केन्द्र, प्रदेश सरकारले पनि विकासमा हातेमालो गर्नुपर्नेमा जोड दिए।

पर्यटन प्रबद्र्धन गर्न ऐतिहासिक धरोहरको विकास गर्नुपर्छः मुख्यमन्त्री पौडेल
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले पर्यटन प्रबद्र्धनसँगै आर्थिक विकासका लागि ऐतिहासिक र पर्यटकीय क्षेत्रको विकास गर्नुपर्ने बताएका छन्। तत्कालिन गोर्खाली सेनाको वीरतालाई विश्वसामु परिचित गराउने काम गढीले गरेको भन्दै उनले गोर्खालीको अदम्य साहसका कारण विश्वमा नेपालीको शिर उच्च रहेको बताए।

गोर्खाली सेनाले तत्कालीन मुगल बादशाह मिरकासिमको सेनालाई पराजित गरेको ऐतिहासिक दिन गौरवपूर्ण र ऐतिहासिक दिन भन्दै उनले यसको गरीमालाई कसैले पनि भुल्न नहुनेमा जोड दिए। ‘अंग्रेजलाई पराजित गरेर गोर्खाली सेनाले नेपाललाई सार्वभौम र स्वतन्त्र कायम ठूलो योगदान दिएका थिए,’ मुख्यमन्त्री पौडेलले भने।

युद्धमा नेपालीले पराजय व्यहोर्नु परेको भए नेपाल स्वतन्त्र देश नरहने भन्दै नेपाली इतिहासमा महत्वपूर्ण रहेको गौरब गर्न सकिने बताए। ‘नेपालको पक्षमा लड्दा लड्दै ज्यान गुमाएका ३० जना तथा युद्धमा देशका लागि लडेर बहादुरी प्रदर्शन गरेका सम्पूर्ण वीर योद्धा प्रति हार्दिक सम्मान व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु,’ उनले भने।

यसकारण मनाईन्छ विजय उत्सव
तत्कालिन गोर्खाली सेनाले आधुनिक हतियारयुक्त मुगल बादशाह मिरकासिमको सेनालाई पराजित गरेका थिए। गोर्खाली सेनाले शत्रु सेनाको ५ सय भन्दा बढी आधुनिक हातहतियार र शक्तिशाली तोपहरु नियन्त्रणमा लिएका थिए।

इतिहासकारका अनुसार गोर्खाली सेनाले एकैदिन मुगलको एक हजार ७ सय सेनालाई पराजित गरेको थियो। गोर्खाली सेनाले ऐतिहासिक विजय प्राप्त गरेको शुक्रबार २ सय ५७ वर्ष पुगेको छ। उक्त युद्धलाई गोर्खाली सेनाले विदेशी सेनासँग लडेको पहिलो युद्धका रुपमा लिइन्छ।

पहिलो विजयोत्सव मनाउन तत्कालीन राजा पृथ्वीनारायण शाह स्वं गढीमा उपस्थित रहेको बताईन्छ। गढी र तिनको ऐतिहासिकताको अध्ययन गरेका केदार न्यौपानेका अनुसार देशभरीका २ सय गढीमध्ये मकवानपुर गढीको इतिहास लामो र महत्पूर्ण रहेको छ।

तत्कालीन प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाले सेनवंशको चिनारी नामक पुस्तकमा पाल्पाका सेनहरु मकवानपुरकै भएको उल्लेख गरेका छन्। मुकुन्द सेनले राज्य बाँडफाँड गर्दा मकवानपुर कान्छा छोरा लोहाङ सेनको भागमा पर्‍यो। लोहाङले वि.सं. १६१० पछि गढीको पुनर्निर्माण गरी मकवानपुर राज्यको पुनर्निर्माण र विस्तार गरेको बताइएको छ।

वि.सं. १८१९ माघ १० गते तत्कालीन अंग्रेज फौजलाई पराजित गरिएको सम्झनामा मकवानपुरगढी किल्लामा केही वर्षदेखि विजयोत्सव मनाउने गरिएको छ। सरकारले घोषणा गरेको १०० नयाँ पर्यटकीय स्थलमा समावेश भएको मकवानपुरगढी दरबार देशकै देशकै सबैभन्दा ठूलो र पुरानो गढी भएको मानिन्छ।

तीन हजार अंग्रेजको फौजलाई मकवानपुरगढीबाट केही तल शिखरकटेरीबाट अघि बढ्न नदिएर तत्कालीन गोर्खाली फौजले पराजित गरेको थियो। उक्त स्थानमा तत्कालीन मकवानपुरे राजा मुकुन्द सेनकी रानीले रानी चौतारा बनाउन लगाएकी थिइन्। उक्त स्थानमा अझै पनि पुराना बन्दुकका नाल, गोलाहरू भेटिने गरेको स्थानीय बताउँछन्।

चारैतिर अग्लो पर्खालले घेरिएको मकुन्दसेनको दरबार छ। त्यही दरबार पृथ्वीनारायण शाहको ससुराली पनि हो। हाल दरबारको भग्नावशेष देख्न सकिन्छ। मकवानपुरगढी किल्ला करिब १३५ रोपनी क्षेत्रमा फैलिएको छ। मकवानपुरगढी दरबार वि.सं. १६१० सालमा सेन वंशीय राजाको शासनकालमा निर्माण भएको बताइन्छ।

 

प्रकाशित: १० माघ २०७६ १२:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App