१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

त्यो एसएलसीः प्रधानमन्त्रीको जन्म दिन परेपछि परीक्षा सारियो

नेपालमा १९९० सालबाट एसएलसी परीक्षा थालनी भएको हो। एसएलसीका पछिल्ला धेरै वर्षका परीक्षा माघ ७ गतेबाट सुरु हुन्थे। त्यसैले माघलाई स्वास्थानी व्रतकथाको मात्र नभएर एसएलसी महिनाका रूपमा पनि चिनिँदै आइयो लामो समयसम्म।

यो एसएलसी परीक्षाका धेरै रोचक पक्ष पढ्न पाइन्छन् इतिहासमा। २००५ सालको कुरा हो। एसएलसी परीक्षा चलिरहेको थियो। तर यत्तिकैमा अचानक इतिहास विषयको परीक्षा तोकिएको दिन नहुने र भोलिपल्ट गरिने सूचना जारी भयो। धेरैजना के के न भयो भनेर रनभुल्लमा परे। पछि परीक्षा रोकिनाको कारण थाहा भयो कि प्रधानमन्त्री मोहनशमशेर जवराको जन्मदिन परेकाले पो रहेछ।

उसै त राणा, त्यसमाथि शासक पनि। जन्म दिन तामझामसाथ मनाउनुपर्ने। सबै परीक्षामा व्यस्त भएपछि कसले मनाइदेओस्। त्यसैले आफ्नो जन्म दिन सबैले थाहा पाउन् र महसुस गरुन् भनेर पनि यसरी चल्दै गरेको महŒवपूर्ण परीक्षा रोक्न लगाएका थिए उनले।

एसएलसीसँग जोडिएका थुप्रै रोचक इतिहास पढ्न पाइन्छन् बेलाबेलामा। २००७ सालमा राणा शासन विरोधी आन्दोलन भएको थियो। त्यतिबेला धेरैले आफूहरू आन्दोलनमा लाग्नुपरेको र पढ्न नपाएको भन्दै पुनः परीक्षा दिन पाउनुपर्ने माग राखेका थिए। आन्दोलन सफल भएर प्रजातन्त्र आइसकेपछि सरकारले १०४ जनालाई संकटकालीन प्रमाणपत्रसमेत दिएको थियो।

यतिबेला परीक्षा दिएका सबैजना पास भएका भनेर एकथरीले हल्ला चलाए पनि त्यो सही थियो वा थिएन भन्ने एकीनचाहिँ हुन सकेको छैन। अहिले भने यस्ता विभिन्न इतिहास बोकेको एसएलसी जीवित छैन। यसको उत्तराधिकारका रूपमा एसइइ खडा भएको छ सर्वत्र।

प्रकाशित: ७ माघ २०७६ ०२:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App