काठमाडौं - ललितपुरको कुसुन्तीमा आशा विश्वासी मण्डली नामक चर्च सञ्चालन गर्दै आएका पाष्टर विश्वाश जोशी भन्ने ध्रुवबाबु जोशी महिलामाथि ‘यौन शोषण’ गरेको आरोपमा पक्राउ परेपछि पाँच जनाभन्दा बढीले उनीमाथि आर्थिक ठगी गरेकोभन्दै जाहेरी दर्ता गराएका छन्। पाष्टरलाई जावलाखेल प्रहरीले पक्राउ गरेलपछि पीडितहरूले आफूहरूमाथि आर्थिक ठगी भएको भन्दै पास्टरविरुद्ध उजुरी परेपछि ठगीसमेत गरेको खुलेको प्रहरीले बताएको छ।
उनलाई यसअघि एक महिलालाई ‘यौन शोषण’ गरेको आरोपमा पक्राउ गरिएको छ। पक्राउपछि अन्य पाँच जनाभन्दा बढी आर्थिक ठगी गरेको भन्दै उजुरी दर्ता गराएको महानगरीय प्रहरी परिसर जावलाखेलका डिएसपी सन्तोष तामाङले बताए। चर्च सञ्चालन गरेर यौन शोषण गरेका पास्टर जोशीमाथि ठगीका उजुरी परेको उनले बताए।
‘ठगीधन्दा धेरै गरेको देखियो, पीडितहरू निवेदन ल्याएर कार्यालय आइरहेका छन्,’ डिएसपी तामाङले भने, ‘यसबारे हामीले अनुसन्धान गरिरहेका छौं।’ प्रहरीले चर्च सञ्चालन गरेर धर्मको नाममा विभिन्न गैरकानुनी काम गरेको अनुसन्धानबाट खुल्दै आएको प्रहरीले बताएको छ। पास्टर जोशीलाई प्रहरी हिरासतमा राखेर उनीमाथि अनुसन्धान भइरहेको बताइएको छ। प्रारम्भिक अनुसन्धानबाट पास्टर जोशीले महिलालाई यौन शोषण गरेको खुलेको प्रहरीले जनाएको छ।
उनीमाथि ठगी गरेको भन्दै उजुरी दर्ता भएकाले त्यसमाथि पनि अनुसन्धान गर्ने डिएसपी तामाङले बताए। पास्टरले ललितपुर कुसुन्तीकी सीता (नाम परिवर्तन)लाई दम र खुट्टा काप्ने रोग निको बनाउनका लागि आफूसँग शारीरिक सम्पर्क राख्नुपर्ने भन्दै बाध्यतामा पारेर यौन शोषण गर्दै आइरहेको प्रहरीको दावी छ। पीडीत महिलाको उजुरीका आधारमा पाष्टर जोशीलाई गत सोमबार ललितपुर प्रहरीले कुसुन्तीबाट पक्राउ गरेको थियो।
प्रहरीकाअनुसार पास्टर जोशीले केही समय गोर्खामा रेष्टुरेन्ट चलाएका थिए। त्यो समयमा उनले धेरैलाई आर्थिक ठगी गरेको हुनसक्ने प्रहरीको अनुमान छ। प्रहरीले धार्मिक आस्था देखाएर फाइदा लिन देखिएकाले यसलाई गम्भीर रूपमा अनुसन्धान गरिरहेको जनाएको छ। उनले ललितपुरको कुसुन्तीमा आशा विश्वासी मण्डली नामक चर्च चलाउँदै आएको थिए। प्रहरीले पास्टरमाथि अनुसन्धान नसकिएसम्म उक्त चर्च बन्द गराएको छ।
प्रकाशित: ७ माघ २०७६ ०२:२५ मंगलबार