५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

ओम समाज डेन्टलले २० प्रतिशत सामाजिक कार्यमा खर्चिने

काठमाडौं – आम्दानीको २० प्रतिशतबराबर रकम सामाजिक कार्यमा खर्च गर्ने योजना बनाएको ओम समाज डेन्टल अस्पताल चाबहिलले रक्तदानसहित विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाएको छ।

वार्षिकोत्सवमा प्रमुख अतिथि मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले निजी क्षेत्रले आफूलाई सेवामुखी बनाएर जनताको मन जित्न आवश्यक रहेको धारणा व्यक्त गरे। उनले ओम समाज डेन्टल अस्पतालले स्थापना कालदेखि नै सामाजिक उत्तरदायित्व बोध गरी विविध काम गर्दै आएको उल्लेख गर्दै यसलाई निरन्तरता दिन आग्रह गरे।

प्रतिनिधिसभा सदस्य हरिबोल गजुरेलले व्यवसाय गर्दा आफ्ना लागि मात्र नभएर नागरिक, समाज र राष्ट्रिय हितलाई ध्यानमा राख्न आवश्यक रहेको बताए। उनले भने, ‘ओम समाज डेन्टल अस्पतालले समाजको हितमा रचनात्मक र सहयोगी भूमिका निर्वाह गर्दै आएको छ।’

बागमती प्रदेशका सांसद नरोत्तम वैद्यले समाजमा सकारात्मक सोचको विकास गर्नुपर्नेमा जोड दिए। काठमाडौं महानगरपालिका–७ का अध्यक्ष शुद्धकुमार डंगोलले जनकल्याणकारी कार्यमा निरन्तर लाग्न र सेवा विस्तार गर्न अस्पताललाई सुझाव दिए।

कार्यक्रममा अस्पतालका अध्यक्ष डा. सुवास घिमिरेले विपन्न वर्गलाई पैसा नभएकै लकारण उपचारबाट वञ्चित गराउन नहुने बताए। उनले वडा तथा नगरको सिफारिस लिएर आउने विपन्न बिरामीलाई निःशुल्क उपचार दिने व्यवस्था मिलाइएको जानकारी गराए। डा. घिमिरेले अस्पतालले आगामी दिनमा आम्दानीको २० प्रतिशतबराबर रकम सामाजिक कार्यमा खर्च गर्ने योजना बनाएको बताए।

शनिबार आयोजित वार्षिकोत्सवमा विभिन क्षेत्रमा विशिष्ट योगदान पु-याएका संघसंस्था, व्यक्ति र अस्पतालका कर्मचारीलाई सम्मान गरियो। सम्मानित हुनेमा डा. पिके यादव, सरस्वती नगर सुधार संघ, सामुदायिक हित सेवा समिति, विराज समाज, गंगा हिटी टोल सुधार समिति, क्लिन्टन स्कुल, जिपी कोइराला मेमोरियल कलेज, तिर्थप्रसाद भट्टराई, रुकमणि आचार्य, शान्ता अर्याल, दिनेश अधिकारीलगायत थिए। कार्यक्रममा रक्तदातालाई पनि सम्मान गरियो।

प्रकाशित: ६ माघ २०७६ ०२:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App