९ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

पन्तलाई रमाना दिइएन, पंगेनीलाई लैजाने तयारी

काठमाडौं - चितवन प्रहरी प्रमुखमा पुस ४ गते सरुवा भएकी एसपी गंगा पन्तको रमाना रोकेर अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रहरी महाशाखामा कार्यरत एसपी कृष्ण पंगेनीलाई लैजाने तयारी अघि बढेको छ। विवादमा तानिएपछि पन्तको रमाना प्रहरी प्रधान कार्यालयले रोकेको छ।

२४ जना एसपीको सरुवा गर्दा पन्त चितवन सरुवा भएकी थिइन। ‘नियमित प्रहरीको सरुवाका क्रममा पन्तलाई चितवन सरुवा गरिएको थियो, उनी विवादमा तानिएको र कार्यभार सम्हाल्न सक्ने अवस्था नदेखिएपछि रमाना नदिइएको हो,’ प्रहरी प्रधान कार्यालयको एक स्रोतले भन्यो, ‘चितवनमा पंगेनीलाई लगिँदै छ।’

पन्तले दुई वर्षअघि सामाजिक सञ्जालमा पुष्पकमल दाहाल प्रचण्डको नाम जोडेर ‘रिप’ लेखेकी थिइन। त्यसलगत्तै उनी विवादमा तानिएकी थिइन। यसबारे प्रहरी प्रधान कार्यालयले छानबिन गरे पनि पन्तले साथीको बुवाको निधन भएको र एकजना भाइले लेखेको कुरामा भुलबस पुष्पकमल दाहालको नाम जोडिएको बताउँदै आएकी छन्। उनले संगठनभित्र आफूले गरेको गल्ती स्वीकार गरेकी छन्। ‘एकैपटक धेरै सरुवा भएका थियौं, मैले पनि अरुसँगै रमाना बुझ्थेँ होला, तर बाहिर धेरैथरि कुरा आए, त्यसपछि मलाई रमाना लिन बोलाइए र म पनि माग्न गइनँ,’ एसपी पन्तले भनिन्।

प्रहरी प्रधान कार्यालयका प्रवक्ता शैलेश थापाले यसबारे संगठनमा छलफल भइरहेको जानकारी दिए। ‘प्रहरी प्रधान कार्यालयले उहाँलाई रमाना दिएर पठाएको अवस्था छैन, यसबारे यतिमात्रै भन्न सक्छु,’ प्रवक्ता थापाले भने। चितवनका प्रहरी प्रमुख दानबहादुर प्रमुख मल्ललाई १५ दिनअघि प्रहरी प्रधान कार्यालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा सरुवा गरेको थियो। चितवनमा सात महिना कार्यभार सम्हालेका दानबहादुर दाहालका पूर्वसुरक्षा गार्ड हुन्।

सरुवा भए पनि चितवन छाड्न नमानेपछि बुधबार ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौंडाले कार्यालयको सम्पूर्ण चार्ज बुझाएर सरुवा भएको ठाउँमा हाजिर हुन निर्देशन दिएको थियो। त्यसयता मल्ल सरुवा गरिएको कार्यालयमा हाजिर भएका छैनन्। उनी घरायसी कारण देखाएर १० दिन विदामा छन्। सरुवा भएका मल्लले आफूलाई महिला सेलमा कार्यरत प्रहरी कर्मचारीले अप्ठेरो पारेको बताएको बताउँदै आएका छन्। उनले महिला शाखामा कांगे्रसका केही व्यक्तिको हालिमुहाली हुने र मुद्धामामिला मिलाएवापत मासिक चन्दा असुल्ने गर्दै आएको कामलाई आफूले रोकेपछि आफूविरुद्ध अन्य कर्मचारी लागिपरेको बताए। उनले ती महिनाअघि महिलासेलमा कार्यरत एकजना सई दर्जाका प्रहरीलाई सरुवा गरेको थिए।

सरुवा भएर पनि रमाना नपाएकी पन्तलाई अन्यत्रै खटाउने तयारी भइरहेको छ। उनी २० बर्षअघि तत्कालीन गृहमन्त्री गोविन्दराज जोशीको पालामा प्रहरीमा प्रवेश गरेकी थिइन।

खनालको ध्यान सरुवा बढुवामा

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको कार्यकाल सकिनै लाग्दा प्रहरी संगठनभित्र सरुवा बढुवा प्रक्रियाको विषयमा रस्साकस्सी चल्न थालेको छ। आइजिपी खनालले आफ्नो कार्यकाल सकिनै लाग्दा आफ्नानिकट व्यक्तिको सरुवा बढुवाका सहज पारिदिएको आरोप केही प्रहरी कर्मचारीको छ। ‘अहिले प्रहरी संगठन तितरबितर छ, आइजिपी सा‘पले आफ्ना सर्कलका प्रहरीलाई मिलाउँदै हुनुहुन्छ, कार्यकाल सकिने बेलामा यस्तो हुनु स्वभाविक हो, तर प्रहरी संगठन विवादमा पर्न थालेको छ,’ कार्यालयका एक प्रहरी कर्मचारीले भने।

प्रकाशित: २९ पुस २०७६ ०३:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App