डडेल्धुरा- एचआइभी संक्रमण दर बढ्दो क्रममा रहेको पाइएको छ। स्वास्थ्य कार्यालयका अनुसार पछिल्ला वर्षमा जिल्लामा नयाँ संक्रमित फेला पर्ने दर बढ्दै गइरहेको हो।
डडेल्धुरामा एक सय ३६ जना एचआइभी संक्रमित रहेको स्वास्थ्य कार्यालयको तथ्याङ्कले देखाएको छ। स्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७३/०७४ मा ३८ पुरुष, ५७ महिला र १२ बालबालिका गरी जम्मा एक सय सात जना एचआइभी संक्रमित थिए। आर्थिक वर्ष २०७४/०७५ मा ४६ पुरुष, ६३ महिला र १२ बालबालिका गरी जम्मा एक सय २१ जना र २०७५/०७६ मा ५५ पुरुष, ६७ महिला र १४ बालबालिका गरी एक सय ३६ जना संक्रमित रहेका छन्।
अहिलेसम्म दुई जना एचआइभी संक्रमितको मृत्यु भइुकेको छ। समयमै एआरटी सेवा लिन नमान्दा उनीहरूको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ। मृत्यु हुनेमा एक महिला, एक पुरुष रहेको स्वास्थ्य कार्यालय डडेल्धुराका भेक्टरकन्ट्रोलर सुपरभाइजर हरिप्रसाद भट्टले बताए।
असुरक्षित यौन सम्पर्क र रोजगारीको सिलसिलामा भारत जाने युवाका कारण एचआइभी संक्रमितको संख्या बृद्धि हुँदै गएको उनको भनाइ छ। युवाहरू एचआइभी संक्रमित भएर फर्कने र श्रीमतीलाई सार्ने गरेका कारण संक्रमितको संख्या बढेको उनले बताए।
जिल्ला स्वास्थय कार्यालयको तथ्यांक अनुसार डडेल्धुरामा रहेका एक सय ३६ जना एचआइभी संक्रमितमध्ये ९६ जनाले मात्र एआरटी सेवा लिने गरेको भेक्टरकन्ट्रोलर सुपरभाइजर भट्टले बताए। डडेल्धुरा सदरमुकामस्थित डडेल्धुरा अस्पताल र जिल्लाको भित्रीमधेसमा रहेको जोगबुडा अस्पतालबाट उनीहरू उक्त सेवा लिइरहेका छन्।
समाजमा खुल्दै एचआइभी संक्रमित
परम्परावादी समाजको घेराभित्र रोगसँग लडेर मनलाई कुण्ठित पार्दै जीवन जिउँदै आइरहेका यहाँका एचआइभी संक्रमितहरू पछिल्लो समय खुल्न थालेका छन्। सधैँ समाजको डर र लाजले रोगदेखि भित्रभित्रै लड्दै आइरहेका एचआइभी संक्रमित खुलेरै समाजमा जीवनयापन गर्न तर्फ आग्रसर हुन थालेका हुन् ।
‘विगतका दिनमा गाउँघरमा ‘एचआइभी संक्रमित हुँ’ भनेपछि धेरै नै हेप्थे। विभिन्न किसिमका लाल्छना लगाउँथे।’ विगतका दिन सम्झदै एक बच्चाकी आमा डडेल्धुराकी अनिता देवी सार्की भनिन्, ‘अहिले समाज परिर्वजन हुँदै गएको छ। सबैले बुझ्छन्। अहिले त्यति हेला गर्दैनन् हामीहरूलाई।’
आफू अहिले गाउँमै खुलेरै बसिरहेको उनको भनाइ छ। ‘अहिले म गाउँमै बसिरहेकी छु। समाजबाट नराम्रा कुराहरू सुन्नु परेका छैन।’ उनले भनिन्, ‘बाहिर कुरा गरे मलाई थाहा भएन। गर्लान् पनि। तर मेरो आँखाअघि कसैले केही भन्दैनन्। हेप्दैनन् पनि।’
एचआइभी संक्रमितहरूका लागि सीपमुलक कार्यक्रम ल्याउनु पर्ने सरकारसँग उनको माग छ। ‘हामी जति पनि एचआइभी संक्रमितहरू छौँ। हाम्रा लागि सरकारले सीपमुलक कार्यक्रम ल्याइदिनु पर्छ।’ उनले भनिन्, ‘सरकारले केही न केही काम दिनुपर्छ।’
गरिबीका कारण रोजगारीका लागि भारत पस्ने र त्यहीबाट संक्रमित भई घर फर्कि श्रीमतीलाई पनि संक्रमित बनाएका धेरै उदाहरण डडेल्धुरामा छन्।
पशुपतीदेवी साउँद एचआइभी संक्रमित हुन्। उनका श्रीमान लामो समय भारतमा बसें र त्यहीँ काम गरे। पछि उनी भारतबाट घर फर्किए। भारतमा रहँदा उनका श्रीमानलाई एचआइभी लागेको थाहा नै भएन। उनी घरमा आएपछि ‘एचआइभी’ पार्वतीमा पनि सर्यो। उनका श्रीमानको एचआइभीका कारण १० वर्षअघि ज्यान गयो। उनका छोराछोरी पनि छैनन्। १० वर्षदेखि एआरटी सेवा लिइरहेकी एचआइभी संक्रमित साउदले कामको सिलसिलामा भारत गएका श्रीमानबाट आफू संक्रमित भएको सुनाइन्।
‘अहिले धेरै नै समस्या छ। श्रीमान पनि हुनुहुन्न। छोरीछोरी पनि छैनन्।’ उनले भनिन्,‘म एउटा संस्थामा काम गरेर खाइरहेकी छु।’ सरकारले आफूजस्तै एचआइभी संक्रमितहरूलाई आयआर्जन गर्नमा प्रोत्साहन गर्नुपर्ने उनको भनाइ छ। एचआइभी संक्रमित लाई अहिले घरखर्च चलाउन पनि समस्या परिरहेको छ।
डडेल्धुराकै अनितादेवी सार्की पनि एचआइभी संक्रमित हुन्। उनको कथा पनि पशुपतीदेवीसँग मिल्दोजुल्दो नै छ। अनिताका श्रीमानलाई पनि कामको सिलसिलामा भारतमा एचआइभी लाग्यो। पछि चेकजाँच गर्दा अनितामा पनि एचआइभी देखियो। छोरा भने स्वस्थ्य रहेको उनले बताइन्।
एचआइभी संक्रमित अनितालाई समाजमा बाँच्नै गाह्रो भएको छ। झन् छोरालाई पढाउनै समस्या थपिएको छ। बेरोजगार लोग्ने र छोराका लागि काम गर्नुपर्ने बाध्यता रहेको उनले सुनाइन्। ‘अहिले घरखर्च चलाउन निकै मुस्किल भइरहेको छ। श्रीमान पनि केही गर्नुहुन्न।’ उनले भनिन्, कुनै राम्रो ठाउँमा काम गर्ने वातावरण भए छोरालाई राम्रोसँग पढाउने धोखो मात्र छ।
प्रकाशित: २६ पुस २०७६ ०८:११ शनिबार