२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

प्रहरीलाई जानकारी अनिवार्य

काठमाडौं – काठमाडौं उपत्यकालगायत देशका मुख्यमुख्य सहरमा घर भाडामा लिएर बस्ने विदेशी नागरिकबारेको विवरण नजिकको प्रहरी कार्यालयमा पेस गर्नुपर्ने भएको छ। चोरी, डकैती, लुटपाट, बैंकिङ कसुरजस्ता आर्थिक अपराध, साइबर अपराध, यौनजन्य क्रियाकलाप तथा विस्फोटक पदार्थ भण्डारण र प्रयोग गरी विध्वंसात्मक एवं अराजक गतिविधिका घटनामा विदेशी नागरिक संलग्न हुने गरेको ठहरसहित गृह मन्त्रालयले यस्तो व्यवस्था गर्न लागेको हो।

एक साताअघि मन्त्रालयमा आयोजित सुरक्षा निकायको बैठकमा राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारीले विदेशी नागरिकलाई घर भाडामा दिँदा घरधनी वा भाडावालमध्ये एकले प्रहरीलाई विवरण दिनुपर्ने प्रस्ताव राखेका थिए। सो प्रस्ताव गृहमन्त्रीसहित सबै सुरक्षा निकायका प्रमुखले स्वीकार गरेपछि मन्त्रालयले यस्तो निर्देशन दिएको हो।

‘अन्य मुलुकमा पनि विदेशी नागरिक भाडामा बस्दा सरकारले सबै विवरण लिने गर्छ। अपराध गरे घरधनी वा भाडावाल तुरुन्तै पक्राउ पर्छन्। भागे पनि उनीहरू कुन देशका र कुन स्थानका नागरिक हुन भन्ने तुरुन्तै पत्ता लाग्छ। त्यसकारण पनि नेपालमा यो नियम लागु गर्नु आवश्यक छ’, अधिकारीले बैठकमा भनेका थिए। पर्यटक भिसामा आएका विदेशी कहाँ बसिरहेका छन् भन्नेबारेमा पनि सुरक्षा निकायले अनुगमन गर्नुपर्ने उनको धारणा थियो। अपराधजन्य क्रियाकलापले समग्र शान्ति सुव्यवस्थामा गम्भीर असर पार्ने भएकाले विदेशी नागरिकको हकमा यस्तो व्यवस्था गरेको हो।

पछिल्लो समय नेपाल आएका थुप्रै विदेशी अपराध कर्ममा संलग्न भएको भेटेपछि गृह मन्त्रालयले भाडामा बस्ने विदेशी नागरिकबारेको पूर्ण विवरण प्रहरी कार्यालयमा बुझाउनुपर्ने व्यवस्था गरेको छ।

‘व्यक्ति, संस्था र कार्यालयको परिचय खुल्ने कागजातसहितको विस्तृत विवरण तथा जानकारी नजिकको प्रहरी एकाइमा अनिवार्य उपलब्ध गराउन र स्थानीय प्रहरी एकाइले पनि अनिवार्य रुपमा घरभाडामा बस्ने विदेशी नागरिक र छाड्नेहरूको विवरण नियमित एवं अद्यावधिक राख्ने निर्णय भएको छ’, गृह प्रवक्ता केदारनाथ शर्माले भने। विदेशी नापाल आएर अपराध कर्ममा संलग्न भएको पाइएकाले पनि यस्तो निर्णय गर्नुपरेको उनले बताए।

गृह मन्त्रालयले गतिविधि अनुगमन गर्न नसक्दा नेपालमा बसिरहेका विदेशी नागरिकले प्रवेशाज्ञा भिसाको दुरुपयोग गरेको पाइएको छ। एक सय चिनियाँ नागरिक पक्राउ परेपछि त्यसको पुष्टिसमेत भयो। घर भाडामा लिनेको विवरण संकलनपछि नेपालमा बसिरहेका विदेशीको अनुगमन गर्न समेत सजिलो हुने अनुसन्धान विभागको दाबी छ।

‘पर्यटक, विद्यार्थी, व्यापार, नाता, कामदारलगायत भिसामा नेपाल बसेका कयौं विदेशीले भिसाको दुरुपयोग गर्दै आएका छन्। पर्यटक भिसामा आएका कतिपय विदेशी नेपालमा धर्म प्रचारप्रसारमा संलग्न रहेको फेला परेको छ’, अनुसन्धान विभाग उच्च स्रोतले भन्यो। स्रोतका अनुसार कतिपय भिसाको म्याद सकिएपछि पनि यहीं बसिरहेका (ओभर स्टे) छन्।

करिब ३ वर्षअघि पर्यटक भिसामा नेपाल आएका ५४ जना उत्तर कोरियाली सुरुङ खनिरहेको अवस्थामा भेटिएपछि तत्कालीन गृहमन्त्री वामदेव गौतमले उनीहरूलाई निष्कासनको निर्णय गरेका थिए। पछिल्लो पटक पर्यटक र नातेदारको भिसामा नेपालमा बसेका विदेशीले गैरकानुनी रूपमा काम गरेको सूचना आएको भन्दै अध्यागमन विभागले त्यस्तो पाइए कडा कारबाही गर्ने चेतावनी दिएको छ।

चिनियाँलाई लैजान दुई विमान आउँदै
नेपालमा पक्राउ परेका एक सय २२ चिनियाँ नागरिकलाई लिन दुईवटा विमान आउने भएका छन्। अध्यागमन विभागले नेपालको कानुनअनुसार बुधबार बिहान डिपोर्टको प्रक्रिया पूरा गर्ने भएकाले सोही दिन विमान आउनेछन्। नेपालस्थित चिनियाँ दूतावासले उनीहरूलाई लैजान ट्राभल डकुमेन्ट जारी गरिसकेकाले भिसा भएकाहरूको राहदानी रद्द गर्ने प्रक्रिया अघि बढिसकेको अध्यागमन विभागले जनाएको छ। विभागका महानिर्देशक ईश्वरराज पौडेलले उनीहरूको कसुरअनुसार जरिवाना गरेर डिपोर्ट गरिने बताएका छन्।

दुईमध्ये एउटा विमानमा ८० र अर्को विमानमा ४२ जना राखेर लैजाने तयारी भएको स्रोतले जनाएको छ। पुस ७ गते पक्राउ परेका ती चिनियाँ नागरिकलाई प्रहरीले अभद्र व्यवहार गरेको तथा अध्यागमन कानुन उल्लंघन गरेको आरोप लगाएको थियो। अभद्र व्यवहार गरेको आरोपमा जिल्ला प्रशासन कार्यालयले एक हजार रुपैयाँ जरिवानातोकेको थियो। त्यसपछि अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा प्रहरीले उनीहरूलाई अध्यागमन विभागमा बुझाएको थियो।

प्रकाशित: २२ पुस २०७६ ०२:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App